२९ असार २०८३, सोमबार

उद्योगी राउतको अर्को कामः २ अर्ब ५० करोडको लगानीमा टंकीसिनुवारीमा अस्पताल बनाउने

पुस ४, २०८०
विराटनगर
उद्योगी राउतको अर्को कामः २ अर्ब ५० करोडको लगानीमा टंकीसिनुवारीमा अस्पताल बनाउने

उद्योगी राजेन्द्र राउतले २ अर्ब ५० करोडको लगानीमा मोरङको बूढीगंगा– १, टंकीसिनुवारीमा अस्पताल बनाउने भएका छन् ।  बुधवार आयोजित एक कार्यक्रममा उक्त अस्पतालको उद्घाटन गरियो । 

अस्पतालको नाम आरआर इन्टरनेसनल अस्पताल राखिएको छ । 

राजेन्द्रसँग अहिले पनि माइनिङ (खानी उद्योग)अन्तर्गत मारुती सिमेन्ट, अन्नपूर्ण सिमेन्ट तथा जुत्ताचप्पल उद्योग, तीनवटा पेट्रोल पम्म, टायरको व्यापारलगायतका उद्योगहरू छन् । ती उद्योगमा झण्डै ८०० करोडको लगानी रहेको राजेन्द्र बताउँछन् । ‘औद्योगिक क्षेत्रमा लगानी यकिन गरेर भन्न नसकिए पनि अनुमानित ७०० देखि ८०० रुपैयाँ करोड लगानी छ । उद्योगबाट ८०० भन्दा बढीले रोजगारी पाएका छन्,’ उनले भने ।  

उद्योग वाणिज्य र निर्माण क्षेत्रमा चिनिएको शिवम् अर्गनाइजेसन उनै राउतको हो । सोही अर्गनाइजेसनले अस्पताल निर्माण गर्न लागेको हो । मानवीय भावनाले अस्पताल क्षेत्रमा प्रवेश गरेको उनले बताए । 

‘२०० शैय्या क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ,’ राउतका जेठा छोरा तथा अस्पतालका निर्देशक प्रतीक राउतले भने, ‘हाल यसलाई १०० शैय्याको मल्टीस्पेसियालिटी हस्पिटल सञ्चालन गर्ने र क्रमशः ३०० शैय्यासम्म विस्तार गर्ने लक्ष्य लिएका छौं ।’ 

null

शुरू हुन लागेको अस्पतालले जटिल स्वास्थ्य सेवाका निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको राउत परिवारको भनाइ छ । १८ कठ्ठा जग्गामा निर्माण हुन लागेको अस्पताललाई सेन्टर अफ एक्सलेन्सका रुपमा विकास गरी सुपर स्पेसियालिटी स्वास्थ्य सेवा दिने केन्द्र बनाउने प्रतीकले बताए । 

अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकता दिएको छ । चौबीसै घण्टा आकस्मिक सेवा, कार्डियो र क्याथ ल्याबजस्ता सेवा सुविधा उपलब्ध गराउने राउत परिवारले जनाएका छन् । ‘अस्पतालबाट जनरल मेडिसिन, न्युरो सर्जरी, जनरल सर्जरी, मिर्गौलारोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुति सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने राजेन्द्रले बताए । ‘स्वास्थ्य सेवामा रोगको पहिचान महत्वपूर्ण पाटो भएकाले डाइग्नोस्टिक डिपार्टमेन्टलाई अन्तराष्ट्रिय स्तरको बनाइनेछ,’ उनले भने । 

राउत परिवारले विराटनगरमा हाउजिंग कम्पनी, पाँचतारे होटल र स्वास्थ्य सेवासँगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेडिकल, पारामेडिकल, नर्सिङ कलेजसम्बन्धी समेत सेवा स्थापना गर्दै लाने योजना बनाएका छन् । 

राजेन्द्रले उद्योग सञ्चालनका लागि व्यवस्थापन नै महत्वपूर्ण कुरा भएको बताए ।  उनले स्थापना गरेको अस्पताल विराटनगर–इटहरी राजमार्गसँगै जोडिएको छ । विराटनगरमा २ वटा मेडिकल कलेजसहित १ दर्जनभन्दा बढी अस्पताल छन् ।

ती अस्पताल र मेडिकल कलेजसँग गुणस्तरमा प्रतिस्पर्धा गर्ने राजेन्द्रको भनाइ छ । ‘हामीले जहाँ अस्पताल बनाउन लागेका छौं, त्यही लाइनमा मात्रै ५ वटा अरु अस्पताल छन्,’ उनले भने ‘हामी गुणस्तरमा ध्यान दिन्छौं, प्रतिस्पर्धामा होइन ।’ 

salt training

कमेन्ट गर्नुहोस्