
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुनेछ । अन्तिम सुनुवाइ शुरू भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो ।
यसअघि दुई दिन लगातार सार्वजनिक बिदा भएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ शुरू भएको छ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दा आइतवार हेर्दाहेर्दैमा राखिएको थियो ।
काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको मुद्दामा आइतवार दुईजना सरकारी वकिल र एक जना पीडितको तर्फबाट बहस गरे पनि समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो ।
अब मुद्दाको सुनुवाइ यही इजलासमा आज हुनेछ ।
सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेविरुद्ध गत वर्ष एक किशोरी (नाबालिग)ले बलात्कारको मुद्दा हालेकी थिइन् ।