
हास्य टेलिसिरियल ‘सक्किगोनि’को पछिल्ला एपिसोड हेर्नुभएको छ ? सिरियलमा पछिल्लो समय एकजना नयाँ पात्रको प्रवेश भएको छ ‘गल्फने’ । ६०/६५ वर्षको देखिने यी पात्र छोटो समयमै दर्शकको नजरमा परेका छन् । पछिल्ला चार एपिसोडमा उनी निरन्तर देखिएका छन् ।
विशेष गरी उनले बोल्ने ‘बिजोग रमाइलो छ त...’जस्ता संवादलाई पनि दर्शकले निकै रुचाउँदै आएका छन् । ‘गल्फने’को भूमिकामा देखिँदै आएका यी पात्र हुन् सोलुखुम्बुका ४२ वर्षीय बबिन राई ।
सिरियलमा जोडिएको छोटो समयमै दर्शकको माया देखेर उनी दंग छन् । उनी सिरियलमा किराँतभित्रको राई समुदायको पात्रको भूमिकामा छन् । ‘राम्रो क्यारेक्टर बनाइदिनुभयो । मेरो समुदायले पनि राम्रो रेस्पोन्स गरिरहनुभएको छ’ सुटिङ सेटमा ‘गल्फने’को गेटअपमा भेटिएका बबिनले खुशी व्यक्त गरे । बबिन यसअघि दर्शकको नोटिसमा थिएनन् ।
‘वैदेशिक रोजगारका लागि कतारमा थिएँ । १० वर्ष बसेर फर्किएको हुँ’ उनले लोकान्तरसँग भने, ‘अभिनय मेरो पहिल्यैदेखिको रुचि हो । फर्किएपछि सीताराम कट्टेलसँग जोडिए । उहाँहरूको वेब सिरिज ‘मै राम्री’को केही एपिसोडमा काम गर्ने अवसर पाएँ । धुर्मुसकै माध्यमबाट ‘सक्किगोनि’मा जोडिएर काम गरेको हुँ ।’
उनी वैदेशिक रोजगारीमा जानुअघि गाउँमा नाटक गर्नुको साथै त्यस आसपासमा हुने सांस्कृतिक कार्यक्रमहरूमा नछुटाइ प्रस्तुति दिने गरेका थिए । उनी पहिल्यैदेखि नृत्य र हास्यव्यंग्यमा विशेष रुचि राख्दै आएका थिए । ‘सक्किगोनि’का कलाकारहरू कुमार कट्टेल ‘जिग्री’ र हरि निरौला ‘कक्रोज’कै गाउँका हुन् बबिन ।

कतारमा हुँदा पनि आफूले ‘सक्किगोनि’ हेर्ने गरेको र अहिले त्यसमा अभिनय गर्न पाउँदा छुट्टै खुशी लागिरहेको उनले बताए ।
२०७२ सालमा कतारबाट विदामा नेपाल आउँदा उनले कल्चरल फिल्म ‘मतान’मा अभिनय गरेका थिए । यसले राम्रो रेस्पोन्स पाएको थियो । अहिले ‘सक्किगोनि’मा आफू नयाँ पात्र भएपनि सिरियलभित्र रुचाइएका हरेकजसो पात्रसँग जोडिएर देखिँदा पनि दर्शकले रुचाएको उनको अनुभव छ ।

सिरियलमा निकै रमाइलोका साथ काम गरिरहेको उनले बताए । ‘सुटिङको धेरै ज्ञान थिएन । मलाई सिकाइरहनुभएको छ । मैले सिक्दै काम गरिरहेको छु । मेरो लागि यो क्लास नै हो’ उनले लोकान्तरसँग भने ।
अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को संयुक्त लेखन एवं निर्देशन रहँदै आएको ‘सक्किगोनि’मा उनीहरूसँगै सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, दीपक आचार्य ‘काकु’, सिपी पुडासैनी ‘धतुरे’, कमलमणि नेपाल ‘खुपीका बाउ’, गोविन्द कोइराला ‘जयन्ते’, मधुसुदन पाठक ‘सिते बा’, प्रियना आचार्य ‘मुन्नी’, रक्षा श्रेष्ठ, रश्मी पाण्डेलगायतको अभिनय रहँदै आएको छ ।
यसमा अभिनय गर्ने सबैजसो पात्रहरू दर्शकमाझ लोकप्रिय छन् ।