२४ जेठ २०८३, आइतबार
भिजिट भिसामा विदेश पठाउने धन्दा

भिजिट भिसामा सेटिङको अनुसन्धानः ...जब प्रहरी र गृहका कर्मचारीबीच चर्काचर्की पर्‍यो

पुस २९, २०८०
काठमाडौं
भिजिट भिसामा सेटिङको अनुसन्धानः ...जब प्रहरी र गृहका कर्मचारीबीच चर्काचर्की पर्‍यो
तस्वीर– पक्राउ परेका अध्यागमनका अधिकृत खड्का

नेपाली नागरिकलाई अवैध ढंगले भिजिट भिसामा विदेश पठाउने धन्दाको अनुसन्धानका क्रममा गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारी र अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूबीच चर्काचर्की परेको पाइएको छ ।

पक्राउ परेका अध्यागमनका अधिकृत नरवीर खड्काले गृह मन्त्रालयका केही उच्चपदस्थ कर्मचारीको नाम लिएपछि बोलाएर सोधपुछ गरिएको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो । त्यसैक्रममा चर्काचर्की परेको हो ।

खड्काले नाम लिए पनि प्रमाणको अभावमा ती कर्मचारीलाई पक्राउ भने गरिएन ।

‘उनले (नरवीर)ले नाम लिएलगत्तै पक्राउ गरेको भए केही आउने थियो, तर बलियो प्रमाण खोज्दा उनीहरू उम्कने अवस्था आयो,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने ।

अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी परिसर र प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृतहरूको उपस्थितिमा गृहका कर्मचारीहरूसँग सोधपुछ गर्दा चर्चाचर्की नै परेको थियो ।

‘हामीले भिजिट भिसाको विषयमा अनुसन्धान हुँदैछ, गृहका कर्मचारीसम्म पनि आइपुग्न सक्छ भन्दा उहाँहरू कड्किनुभएको थियो,’ एक प्रहरी अधिकृतले लोकान्तरसँग भने । 

त्यसपछि प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले आफूहरूले अध्यागमन विभागका कर्मचारी र नेपाल वायु सेवा निगमका कर्मचारीका डिजिटल डिभाइस तथा अन्य विषयको अनुसन्धान गरिरहेको र त्यसबाट खुले सबैलाई अनुसन्धानको दायरामा तान्ने बताएका थिए ।

‘काठमाडौंका एसएसपी सा’बले डिभाइसहरू फरेन्सिक ल्याबमा गएको र त्यसको अनुसन्धानपछि सबै कुरा खुल्छ भन्नुभएपछि बल्ल उहाँहरू (कर्मचारी) शान्त हुनुभएको थियो,’ ती अधिकारीले लोकान्तरसँग भने ।

सेटिङमा संलग्न रहेको भन्दै प्रहरीले मंसिर २७ गते अध्यागमन विभागका एक र नेपाल वायु सेवा निगमका २ जना कर्मचारीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल वायु सेवा निगमका अरबिन यादव र होम पोखरेल तथा ६ जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरी सार्वजनिक गरिएको थियो । 

कन्सल्टेन्सीहरूसँगको सेटिङमा भिजिट भिसामा पठाउँदै आर्थिक लाभ लिने गरेको आरोप उनीहरूमाथि लागेको छ । उनीहरू पक्राउ परेसँगै भिजिट भिसाको विषयमा खैलाबैला नै भएको थियो ।

नेपाल वायु सेवा निगमका एक कर्मचारीका अनुसार केही अधिकृतहरू बिदा मिलाएर फोन अफ गरी बसेका थिए भने एकजना शंकास्पद् कर्मचारी सिंगापुर पुगेका थिए ।

‘२ जना पक्राउ परेपछि त विमानस्थलमा लामो समय बसेका कर्मचारीहरूले एकाएक बिदा लिएर फोन अफ गर्नुभयो । एकजना सिंगापुर जानुभएको छ बिदा लिएर,’ नेवानिका ती अधिकृतले लोकान्तरसँग भने ।

ती अधिकृतका अनुसार १५/२० दिन बिदा लिएर गएका कर्मचारीहरू केही दिनअगाडि मात्रै कार्यालय फर्किएका छन् । 

निगमका कर्मचारी छुटे र अध्यागमनका कर्मचारीमाथि अनुसन्धान हुँदै

मंसिर २७ गते अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेकामध्ये नेपाल वायु सेवा निगमका कर्मचारीद्वय अरबिन यादव र होम पोखरेल जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंले केही दिनअगाडि १/१ लाख धरौटीमा छाडेको अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थीले बताए । ‘२ जनालाई अदालतले १/१ लाख धरौटीमा छाडेको छ,’ डीएसपी पन्थीले लोकान्तरसँग भने । 

उनीहरू संगठित अपराधमा संलग्न नदेखिएकाले अदालतमा मुद्दा बुझाएपछि धरौटीमा छुटेका हुन् । अध्यागमनका अधिकृत नरवीर खड्कासहित कन्सल्टेन्सी सञ्चालकहरूमाथि भने संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।

‘हामीले नरवीरसहित अन्यलाई संगठित अपराधमा अनुसन्धान गरिरहेका छौं,’ एसएसपी खत्रीले लोकान्तरसँग भने । प्रहरीले उनीहरूलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्नेछ । 

एसएसपी खत्रीका अनुसार उनीहरूले प्रयोग गर्ने डिभाइसहरू ल्याब टेस्ट (डीएफएल) परीक्षणका लागि पठाइएको छ ।

डीएफएल परीक्षणपछि अध्यागमन विभागका कर्मचारीहरूको अरू कुन–कुन व्यक्तिसँग कनेक्सन छ भन्ने विषय खुल्ने प्रहरीले जनाएको छ । 

वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे प्रहरी हिरासतमा छन् ।

अध्यागमनका कर्मचारीले सेटिङ गरेबापत प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म लिने गरेको दाबी प्रहरीले गरेको थियो ।

निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीले प्रतिव्यक्ति १० हजार रूपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्