
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मेलम्ची खानेपानी परियोजनाको बारम्बार उद्घाटन गरेर नेताहरूले विश्व कीर्तिमान कायम गरेको भन्दै व्यंग्य गरेका छन् ।
राज्यको अरबौं रुपैयाँको लगानीमा वर्षौंपछि पनि मेलम्ची पूर्ण र सुरक्षितरुपमा तयार नभए पनि पाँचौंपटक प्रधानमन्त्री प्रचण्डले फेरि उद्घाटन गरेपछि बालेनले यस्तो व्यंग्य गरेका हुन् ।
‘हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार’, बालेनले सामाजिक सञ्जलामा लेखेका छन्, ‘एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर ।’
मेलम्ची खानेपानीको २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, २०७७ चैत्रमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, २०७९ वैशाखमा तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी, २०७९ मंसिरमा फेरि चौधरीले उद्घाटन गरेपछि आज माघ १ गते प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेको भन्दै बालेनले व्यंग्य गरेका हुन् ।
‘विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उद्घाटन ५ पटक भइसक्यो । मेलम्चीको पानी काठमाडौं ल्याउने भनेर वि.स. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसको दुई वर्षपछि २०५७ सालमा आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो’, बालेनले भनेका छन्, ‘तर सुरुङ खन्न शुरू गर्न पनि ११ वर्ष लगाएर २०६८ सालबाट मात्रै सुरुङ खन्न थालियो । त्यो ११ वर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरू नै फेरिएका थिए । मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तिको सूची त झन् निकै लामो बन्ला । मेलम्चीका नाममा अरबौंका गाडी किनिएका थिए । एउटा दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना । तर काठमाडौंमा पहिलो पटक पानी झर्न त्यसको ९ वर्षपछि मात्रै सम्भव भयो ।’
बाढीले संरचना ध्वस्त पारे पनि प्राविधिक जोखिमतिर ख्याल नै नगरी कीर्तिमानको पछि लाग्नु नागरिकको अवमूल्यन भएको उनको भनाइ छ ।
‘कीर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीमा त्यहाँसँगै आउने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो । त्यो नगरेर मेलम्चीमा राज्यको अरबौं लगानीमात्र जोखिमपुर्ण बनाइएन, काठमाडौंबासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरियो’ उनले भनेका छन्, ‘देशव्यापीरूपमा नेपालमा केही हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढावा दिन मलजल गर्यो । अनि सँगसँगै, व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उद्घाटन गर्ने कुप्रथाको शुरूवात भयो । त्यसकै सिलसिलाको नयाँ संस्करणको उद्घाटन आज प्रम पुष्पकमल दाहालबाट पनि भयो ।’
अझै पनि खानेपानीको मुहानमा पहिरोको जोखिम रहेको भन्दै उनले लेदो र बालुवाले मुहान भरिने र अरबौं रुपैयाँ लाग्न सक्नेतर्फ ख्याल नगरिएको बताएका छन् ।
‘अहिले पनि प्राबिधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइदैछ । बालुवा थेग्रिने संरचनाहरूको अभावमा लेदो सिधै सुरूङमा पसेर सुरूङ नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौं समय र अरबौंको लागत लाग्न सक्छ’ बालेनले भनेका छन्, ‘वर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरु निर्माण भइसकेका नै छैनन् । यसैले वर्षायाम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु पर्ने अवस्था छ । हिउँदमै पनि लेदो नथिग्राइ पानी सुरुङमा लैजाँदा त्यसमा भएका बालुवा सुरुङमा बिस्तारै थिग्रिएर केही समय पछि सुरूङ पुरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन सक्छ ।’
हेर्नुहोस्, स्टाटस :