
साहित्यकार राजाराम बर्तौलाको नयाँ कृति ‘भ्रमित सत्य’को लोकार्पण भएको छ । काठमाडौंको बागबजारमा शुक्रवार आयोजित कार्यक्रममा डा सुरेन्द्र केसी र डा तुलसी भट्टराईले बर्तौलाको नयाँ कृति ‘भ्रमित सत्य’को लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रममा डा केसीले भ्रमित सत्य कविता संग्रहमा रहेका कविताहरूले वर्तमान समयलाई चित्रित गरेको बताए । उनले देशको हितलाई बल पुर्याउने खालका सिर्जनामा साहित्यकारहरूले जोड दिनुपर्ने उल्लेख गरे ।
त्यस्तै कार्यक्रममा डा भट्टराईले साहित्यको बिकासमा राजाराम बर्तौलाको योगदानबारे चर्चा गरे । उनले ‘भ्रमित सत्य’ कविता संग्रहमा रहेका कविताहरूले कविता लेखनको स्तरीयतालाई मर्न नदिएको बताए ।
साहित्यकार बर्तौलाका निबन्ध संग्रह ‘मेरो पाइला संस्मरण’ र ‘अल्सी ढुङ्गो’ संग्रह प्रकाशित भइसकेका छन् । नेपाल सरकारको परराष्ट्र सेवाबाट सात वर्षअघि सेवा निबृत्त भएपछि साहित्यकार बर्तौला हाल साहित्य सिर्जनामै लागेका छन् ।