
केही दिनअघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अर्काे सफलता हासिल गरेको छ । कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा बीबाट बी प्लस रेटिङमा छलाङ मार्दै पुनः अर्काे इतिहास रचेको हो ।
नेपालजस्तो दक्षिण एसिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले एएम बेस्टबाट रेटिङ गराएको दोस्रो वर्षमै आफ्नो रेटिङ बीबाट बी प्लसमा स्तरोन्नति गराउन सक्नुलाई ठूलो उपलब्धिका रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।
‘स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवि बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्सले एएम बेस्टबाट बी प्लस रेटिङ प्राप्त गरेसँगै दक्षिणपूर्व एसिया, मध्यपूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरूबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस रेटिङले अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसायमा पनि उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ । यसबाट कम्पनीले राष्ट्रका लागि बहुमूल्य विदशी विनियम आर्जन गर्न उदाहरणीय योगदान गर्नुका साथै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा स्थापना गर्नकसमेत टेवा पुग्ने आशा कम्पनीले लिएको छ ।