०४ साउन २०८३, सोमबार

सरकारी कर्मचारीलाई पोशाक र परिचयपत्र अनिवार्य, मन्त्रालयद्वारा सबै निकायलाई परिपत्र

असार ३२, २०८३
काठमाडौं
सरकारी कर्मचारीलाई पोशाक र परिचयपत्र अनिवार्य, मन्त्रालयद्वारा सबै निकायलाई परिपत्र

 संघीय सरकारले निजामती कर्मचारीहरूका लागि निर्धारित पोशाक र परिचयपत्र अनिवार्य गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा तोकिएको पोशाक र परिचयपत्र लगाउन निर्देशन दिएको हो।

राष्ट्रिय सतर्कता केन्द्रको ताकेतापछि मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र देशभरका सबै स्थानीय तहलाई यस्तो पत्राचार गरेको हो।

मन्त्रालयका अनुसार निजामती कर्मचारीहरूले कार्यालय समयमा नेपाल सरकारद्वारा तोकिएको निश्चित किसिम र रङको पोशाकका साथै सम्बन्धित कार्यालयबाट जारी भएको परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्नेछ।

कर्मचारी अनुशासन र सार्वजनिक सेवाको पहिचानलाई व्यवस्थित बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको हो। यो व्यवस्थाको पूर्ण पालना गर्न र गराउन मन्त्रालयले सबै निकायलाई निर्देश गरेको छ। नियम पालना भए-नभएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्ने र यसको विवरण मन्त्रालयको वेबसाइटमा समेत राखिने जनाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्