
पश्चिम नवलपरासीका एक सुनचाँदी व्यवसायीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । सुस्ता गाउँपालिका–१ बरुवामा न्यू धौलागिरि सुनचाँदी पसल सञ्चालन गर्दै आएका ६५ वर्षीय गजेन्द्र विश्कर्मामाथि गोली प्रहार भएको हो ।
गोली प्रहारबाट विश्वकर्मा घाइते भएका छन् ।
उनीमाथि बर्दघाट नगरपालिका–१६ को चोरगोला पुलनजिक शनिवार राति गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रमेश बोहराले जानकारी दिए ।
गोली लागेर डलेपछि विश्वकर्मा चढेको लु४८ प ७४३५ नम्बरको स्कूटरसमेत घटनास्थलमा नदेखिएको प्रहरीले जनाएको छ । सुनचाँदी राखेर ल्याएको आशंकामा गोली प्रहार गर्ने व्यक्तिले नै स्कूटर लगेको हुन सक्ने प्रहरीले आशंका छ ।
पाखुरामा गोली लागेका उनलाई तत्काल उपचारका लागि चिसापानी अस्पतालमा लगिएको थियो । अहिले उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डीएसपी बोहराले जानकारी दिए । गोली प्रहार गर्ने व्यक्ति हालसम्म पक्राउ नपरेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।