२६ जेठ २०८३, मंगलबार
अनुसन्धानको दायरामा रवि

सहकारी ठगी प्रकरण : रवि लामिछानेविरुद्ध पनि प्रहरीले थाल्यो अनुसन्धान

माघ २३, २०८०
काठमाडौं
सहकारी ठगी प्रकरण : रवि लामिछानेविरुद्ध पनि प्रहरीले थाल्यो अनुसन्धान

नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि अनुसन्धान शुरू गरेको छ ।

लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले गैरकानूनीरूपमा ऋण लिएर बचत हिनामिना गरेको भन्दै पूरक जाहेरी दिएका छन् ।

ऋण लिएर सहकारीको रकम हिनामिना गरेको भनेर नेपालमै पहिलोपटक जाहेरी परेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले बताए ।

‘यसरी परेको यो नेपालमै सम्भवतः पहिलो जाहेरी हो । नेपाल अहिलेसम्म कुनै पनि ऋणीविरुद्ध यसरी उजुरी परेको जानकारी छैन,’ एसपी थापाले लोकान्तरसँग भने, ‘यसलाई हामीले नितान्त नयाँ ढंगले अनुसन्धान गर्दैछौं ।’

उनका अनुसार प्रहरीले अहिले उनीहरूले कसरी पैसा हिनामिना गरे भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीले रविले सहकारीबाट कसरी पैसा लिएका थिए ? पैसा लिँदा धितो कति राखेका थिए ? भन्ने विषयमा अनुसन्धान थालेको छ ।

सहकारी ऐन– २०७४ को दफा १२२ (ग) बमोजिमको कसूर देखिएपछि जाहेरी लिइएको प्रहरीले जनाएको छ । यस दफाको खण्ड (छ)मा ‘झुट्टा वा गलत विवरण पेस गरी कर्जा लिएमा, राखेको धितो कच्चा भएमा वा ऋण हिनामिना गरेमा’ कसूर मानिने व्यवस्था भएको एसपी थापाले लोकान्तरलाई बताए । 

‘तोकिएभन्दा बढी रकम ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रदान गरेमा,’ भन्ने कानूनी व्यवस्थामा टेकेर अनुसन्धान हुने उनले बताए ।

दफाको खण्ड (च) मा कुनै पनि सदस्यले एक्लै वा अन्य सदस्यको मिलेमतोमा सहकारी संस्थाको शेयर वा बचत रकम आफूखुशी परिचालन गरी सहकारी संस्थालाई हानी नोक्सानी पुर्‍याएमा कसूर मानिने भनिएको छ । 

सहकारी ऐन दफा १२२ (ट)मा झुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई बढी ऋण लिएमा वा दिएमा पनि कसूर मानिने भएकाले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी थापाले लोकान्तरलाई बताए ।

रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बम्जन, नेत्रपाणि बास्तोलासहित १८ जनाविरुद्ध पूरक जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।

यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा १९ जना सञ्चालकविरुद्ध मुद्दा परिसकेको छ । जीबी राई समूहले पोखराका पौने १९ हजार बचतकर्ताबाट १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको निष्कर्षसहित पोखरा महानगरपालिकाले जाहेरी दिएको थियो ।

प्रहरीले अहिलेसम्म सूर्यदर्शन बचत सहकारीका उपाध्यक्ष कैलाश कुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समितिका समदस्य भवीश्वर अर्याल, पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरूङलाई पक्राउ गरेको छ । 

ग्यालेक्सी टीभीका अध्यक्ष समेत रहेका जीबी राईविरुद्ध इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी गरेर खोजी भइरहेको छ ।

जीबी राईको समूहले देशका पोखरा, बुटवल, वीरगञ्ज, चितवन, नेपालगञ्ज र काठमाडौंबाट ७ अर्बभन्दा धेरै पैसा हिनामिना गरेर ठगी गरेको आरोप छ । 

salt training

कमेन्ट गर्नुहोस्