१७ असार २०८३, बुधबार

राष्ट्रनिर्माता पृथ्वी नारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना

माघ २५, २०८०
काठमाडौं
राष्ट्रनिर्माता पृथ्वी नारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।

सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले एक लाख एक हजार रूपिया हस्तान्तरण गरेर 'राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष' शुभारम्भ गरे ।

रूपनगर क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सघाउने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुने बैँक व्याजबाट छात्रवृत्ति उपलब्ध गराइने जानकारी क्याम्पसले दिएको छ ।

अक्षय कोषको आकार एक करोड रूपिया पुर्याउने तत्कालीन लक्ष्य राखिएको कुरा क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले बताए ।

'अक्षय कोषलाई १० करोड रूपिँयाको बनाएर यो क्याम्पसमा अध्ययन गर्ने सबै छात्र-छात्रालाई निशुल्क शिक्षा दिने हाम्रो सपना हो,' प्राध्यापक गजुरेलले भने ।

डा. अहिराजको योगदानबाट प्रभावित भएर क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले 'राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष' मा ५१ हजार रूपिया थप गर्ने घोषणा तत्काल गरेका थिए ।

अक्षय कोषमा रूपनगर निवासी राम प्रसाद खतिवडाले २१ हजार एक सय ११ रूपिया, प्रमीला खतिवडाले ११ हजार एक सय ११ रूपिया र दुवलक्ष्मी श्रेष्ठले १० हजार रुपैयाँ योगदान गरे ।

विशिष्ठ अतिथिको आसनबाट समारोहलाई सम्बोधन गर्दै डा. अहिराजले गाउँका विद्यार्थीका लागि केही गरौँ भनेर यो क्याम्पस रोजेको बताए ।

'मृत्युपछिको जीवन समेतलाई सार्थक बनाउन मानिसले आफ्नो आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउनु पर्छ,' उनले भने ।

उच्च अदालत धनकुटा इजलासका मुख्य न्यायाधीश डा. रत्न बहादुर बागचन्दले यो छात्रवृत्तिबाट विद्यार्थीहरू प्रोत्तसाहित हुने आशा व्यक्त गरे ।

'शिक्षा गुणस्तरीय नभएसम्म समाजले उन्नती गर्न सक्दैन,' डा. बागचन्दले भने, 'हामी सबैले शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने आवश्यकता छ ।'

कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना पोखरेलले विद्यार्थीहरूलाई आफूले र नगरपालिकाका तर्फबाट हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानाध्यापक शम्भुप्रसाद धिमिरेले शिक्षाप्रति सरकारको व्यवहारले हाम्रो शिक्षाको स्तर कमजोर भएकोमा खिन्नता व्यक्त गरे ।

राष्ट्र निर्माताका नाममा छात्रवृत्ति कोष स्थापना भएकोमा खुशी व्यक्त गर्दै क्याम्पसका अध्यक्ष गिरीराज संग्रौलाले शिक्षामा आफूले गरेको सानो योगदान सार्थक भएको बताए । अध्यक्ष संग्रौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन तुलसीमा जल अर्पण गरी गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्