
काठमाडौंमा रहेको रोहिङ्ग्या शरणार्थी शिविर लागूऔषधको अखडा बन्दै गएको पाइएको छ ।
म्यानमारबाट भागेर बंगलादेश हुँदै नेपाल आएका कतिपय शरणार्थी लागूऔषध प्रयोग र कारोबारमा संलग्न रहेको पाइएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द थपलियाले लोकान्तरसँग बताए ।
‘रोहिङ्ग्या क्याम्प लागूऔषधको अखडा बनेको पाइएको छ । त्यहाँ विशेष खालको लागूऔषधका प्रयोगकर्ता र कारोबारीहरू भेटिएका छन्,’ एसएसपी थपलियाले भने ।
उनका अनुसार त्यहाँ लागूऔषध एम्फेटामाइन (याबा)को प्रयोग र कारोबार भइरहेको छ ।
प्रहरीले क्याम्पबाट २ जनालाई पक्राउ गरेको छ । ३५ वर्षीय बब्लु मियाँ र १९ वर्षीय अनवर सदिललाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट १/१ ट्याब्लेट याबा बरामद गरेको छ ।
यो लागूऔषध १०० मिलिग्रामको २ हजार रुपैयाँमा बिक्री हुने गरेको एसएसपी थपलियाले बताए ।
‘यो महंगो लागूऔषध हो । यसको १०० मिलिग्रामकै २ हजार रुपैयाँ पर्छ । यसलाई तस्करहरूले १ हजार रुपैयाँमा नेपाल ल्याएर २ हजारमा बिक्री गर्ने गरेको पाइएको छ,’ एसएसपी थपलियाले लोकान्तरसँग भने ।
उनका अनुसार रोहिङ्ग्या शरणार्थी क्याम्पमा गार्मेन्टमा कामदारहरूलाई उक्त लागूऔषध सप्लाइ हुने गरेको तथ्य खुलेको छ ।
‘रोहिङ्ग्याको क्याम्पमा गार्मेन्टमा काम गर्ने कामदारलाई बिक्री गर्ने भएकाले बाहिर आउन निकै अप्ठ्यारो विषय हो । त्यसले गर्दा प्रहरीलाई त्यहाँको सूचना ल्याउन निकै कठिन परेको थियो,’ एसएसपी थपलियाले भने ।
याबा म्यानमार र बंगलादेशमा पाइने लागूऔषध हो । उनीहरूले म्यानमारबाट बंगलादेश हुँदै भारतको बाटो भएर नेपालको काँकडभिट्टा नाकाबाट ल्याउने गरेको पाइएको छ ।
ब्यूरोले माघ २४ गते बूढानीलकण्ठबाट बंगलादेशी नागरिक ३५ वर्षीय मोहमद मामुन खानलाई लागूऔषध याबासहित पक्राउ गरेको थियो ।
उनको साथबाट प्रहरीले १०३ ट्याब्लेट ‘याबा’ बरामद गरेको थियो । उनी बसेको बूढानीलकण्ठको डेराबाट थप २ सय ट्याब्लेट ‘याबा’ बरामद भएको थियो ।
मनोद्वीपक लागूऔषध ‘याबा’ क्रिस्टल एम्फेटामाइन (आइस)मा क्याफिनको मात्रा थपेर बनाइने लागूऔषध भएको एसएसपी थपलियाले बताए ।
उनकाअनुसार यो लागूऔषध गुलाबी र बैजनी रंगको हुन्छ । यो विशेष गरेर म्यानमार र बंगलादेशमा उत्पादन हुने गरेको छ । यो लागूऔषध नेपालमा पहिलोपटक बरामद भएको एसएसपी थपलियाले बताए ।
उनका अनुसार पछिल्लो समय नेपालमा औषधिजन्य लागूऔषधको प्रयोग बढ्दै गएको छ ।
‘नेपालमा औषधिजन्य लागूऔषधको प्रयोग बढेको देखिन्छ । यो भारतमा सहजै पाइने र नेपालमा प्रतिबन्ध भएकाले पनि प्रयोग बढेको देखिन्छ,’ एसएसपी थपलियाले लोकान्तरसँग भने ।
ब्यूरोले पछिल्लो समयमा मात्रै काठमाडौंबाट ६ हजार ६ सय एम्पुल डाइजापाम, ब्रुफिनाफाइन र प्रोमेथाजाइन बरामद गरेको थियो ।
यसक्रममा लागूऔषधसहित काठमाडौं महानरपालिका– १४ खड्कागाउँ बस्दै आएका बेसीशहर नगरपालिका– ३ का ४३ वर्षीय विक्रमबहादुर थापा र धादिङको सिद्धलेक गाउँपालिकाका ३९ वर्षीय पितनारायण श्रेष्ठ पक्राउ परेका थिए ।
उनीहरूले बा ६ च ३८३ नम्बरको कारमा राखेर बिक्री गर्न लैजाँदै गर्दा लागूऔषध बरामद गरिएको थियो । ब्यूरोले यो आर्थिक वर्ष अर्थात् २०८०/०८१ मा २ हजार ५ सय ८९ जनालाई पक्राउ गरेको छ, त्यसमध्येमा ६ जना तेस्रो देशका नागरिक छन् ।
भारतका १० जना महिला र ११३ जना पुषरुसहित १२३ जना पक्राउ परेका छन् । नेपालीहरू २ हजार ४६० जना पक्राउ परेका छन्, जसमा २ हजार ३४२ जना पुरुष र ११८ जना महिला रहेको ब्यूरोका एसएसपी थपलियाले लोकान्तरलाई बताए ।
यो आर्थिक वर्षमा ५ हजार ७०७ केजी गाजा, १ सय ५३ चरेस, साढे ५ केजी हेरोइन, ३ केजी अफिम, १६ हजार २४७ एम्पुल ब्रुप्रेनोर्फिन, १८ हजार ५५२ एम्पुल डाइजापाम, २७ हजार ८४६ एम्पुल फेनेरागन, ४९ हजार ९०३ नाइट्राभेट, ४५ हजार ५०९ ट्रामाडोल र अन्य लागूऔषध १० हजार ४० एम्पुल बरामद गरेको ब्यूरोको तथ्यांकले देखाएको छ ।