२९ जेठ २०८३, शुक्रबार
झण्डै तीन दशक पुरानो हल बन्द

किन बन्द भयो गोपीकृष्ण हल ?

फागुन ५, २०८०
काठमाडौं
किन बन्द भयो गोपीकृष्ण हल ?

हलको दुवैतर्फको गेट बन्द छ । साइडको भित्तामा हल बन्दको सूचना टाँसिएको छ । बाटो ओहोरदोहोर गर्ने व्यक्तिहरू रोकिन्छन्, हलतर्फ हेर्छन् र अगाडि बढ्छन् ।

काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज (गोपीकृष्ण हल) बाहिर हिजोआज यस्तै दृश्य देखिन्छ । भवनको माथिपट्टि हिन्दी फिल्म ‘फाइटर’ र नेपाली फिल्म ‘पर्खि बसे तिमीलाई’को खुइँलिँदै गरेका पोस्टर देखिन्छ । त्यसमा ‘गोपीकृष्णमा चलिरहेको छ’ लेखिएको छ । प्राङ्ग्रणमा कलेज बस र केही कार पार्किङ गरिएको छ । भवनको गेटमा चाबी लगाइएको छ । 

null

एउटा गर्विलो इतिहास बोकेको हल हो, गोपीकृष्ण । वि.स.२०५२ सालमा २ वटा पर्दाबाट सुरु भएको हल ४ हुँदै एकसमय ७ वटा पर्दामा सञ्चालनमा थियो । गोपी, कृष्ण, राधा, मिरा, ओम, नम र शिवाय गरी ७ पर्दा (हल)मा फिल्म लाग्थ्यो । फिल्म हेर्न दर्शकहरूको ठेलमठेल हुन्थ्यो । फिल्म चल्दा दर्शकको भीड देखाउन होस् वा अभिनेता–अभिनेत्रीको क्रेज देखाउन गोपीकृष्ण रोजाइमा पर्दथ्यो ।

निर्माताहरू पनि यो हलमा आफ्नो फिल्म चलाउन लालायित हुन्थे । ‘गोपीकृष्ण’ नाममा फिल्मसमेत बनेको थियो । भूकम्पपछि भने हलको पुरानो भवन भत्काइयो । त्यसपछि गोपी, कृष्ण, राधा र मिरा हल (चार पर्दा) बन्द भए । केही समय हल बन्द भएर अर्को भवनमा ओम, नम, शिवाय (तीन वटा पर्दा)मा हल पुनः संचालनमा ल्याइएको थियो । 

null

२ वर्षअघि स्तरोन्नती भएर रातो, हरियो र निलो (आरजीबी) रंगको थिममा तीन पर्दामा संचालनमा ल्याइएको हल फागुन १ गतेदेखि सधैंका लागि बन्द गरिएको छ । 

गोपीकृष्णको म्यानेजमेन्ट हेर्दै आएका मनिष कार्कीका अनुसार पछिल्लो समय हलमा हिन्दी फिल्म ‘हनुमान’ र नेपाली फिल्म ‘पर्खी बसेँ तिमीलाई’ प्रदर्शनमा आएका थिए । माघ २६ बाट प्रदर्शनमा आएका ‘हात्तीछाप’ र ‘दयारानी’लाई यो हलमा रिलिज भएनन् । 

null

उसो त गोपीकृष्ण मुभिजलाई कम्प्लेक्सका रूपमा विस्तारित गर्ने तयारी सुरु भएको केही वर्ष भइसकेको छ । सोही अनुसार नै पुरानो भवन भत्काइएको थियो । दर्शकहरू दैनिक हलमा फिल्म हेर्न आएर फर्किन थालेपछि २ वर्षअघि ३ वटा पर्दामा हल संचालनमा ल्याइएको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक निरक पौडेलले बताए ।

उनका अनुसार कोरोनाकालदेखि फिल्म क्षेत्रमा व्यावसायिक मन्दी छाएको थियो । हलले पनि पछिल्लो समय ठूलो आर्थिक घाटा व्यहोर्दै आएका कारण बन्द गर्ने निर्णयमा पुगेको उनले बताए । एकातर्फ आर्थिक घाटा भइरहेको र अर्कोतर्फ ‘गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स’ निर्माणको चरणमा रहेकाले हल बन्द गरिएको हो । 

null

गोपीकृष्ण मुभिज रहेको स्थानमा १८ तले भव्य गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स बन्दै छ । कम्प्लेक्सको संरचना निर्माणको काम चैतबाट सुरु गर्ने तयारी छ । फाइभस्टार होटलदेखि सपिङ मललगायत संरचना कम्प्लेक्समा बनाउने तयारी छ । कम्प्लेक्समा सुविधासम्पन्न फिल्म हलसमेत सञ्चालन गर्ने योजनामा गोपीकृष्ण मुभिज छ ।

कमेन्ट गर्नुहोस्