
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कैलालीको जिल्ला अधिवेशन आजबाट शुरू हुँदैछ । जिल्लाको मध्य क्षेत्र सुखडमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले आजै बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटनपछि अधिवेशनको पनि उद्घाटन गर्ने बताइएको छ ।
आज र सोमवार हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि तीन जनाको दाबी परेपछि सहमतिको सम्भावना लगभग सकिएको छ । यद्यपि, कैलाली जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा जोशीले अन्तिम समयमा दाबी छोड्न सक्ने स्रोतले बताएको छ ।‘
‘तीनजना उम्मेदवारमध्ये सहमतिका लागि हुने छलफलमा जोशीले दुई उम्मेदवारमध्ये एक जनालाई समर्थन गर्ने गरी आफ्नो दाबी छोड्न सक्नुहुन्छ । उहाँको पक्षमा प्रतिनिधिबीच माहोल पनि धेरै छैन,’ एकजना प्रतिनिधिले भने ।
जोशीले दाबी छोडेमा अध्यक्ष पदका लागि पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गाना र कैलाली जिल्ला सचिव डेजी पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।
‘ढुङ्गाना र पाण्डेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । एकले अर्कालाई समर्थन गर्न सक्ने अवस्थामा उहाँहरू हुनुहुन्न । यस्तो अवस्थामा सहमतिको प्रयासले पुग्दैन, निर्वाचन नै हुन्छ होला,’ एक नेताले भने ।
ढुङ्गाना र पाण्डे दुवैको पर्खेली घर अछाम हो । कैलालीमा पनि उनीहरू एउटै लम्कीचुहा नगरपालिका- ९ प्रतापुरका बासिन्दा हुन् । यद्यपि अहिले भने ढुङ्गाना धनगढी बस्छन् भने पाण्डे प्रतापुरकै निवासी हुन् । ढुङ्गाना र पाण्डेका बीचमा मुख्य प्रतिस्पर्धा हुँदा जोशी निर्णायक बन्नेछन् । जोशीले दुईमध्ये जसलाई समर्थन गर्छन् उही कैलाली जिल्ला अध्यक्षमा निर्वाचित हुने नेताहरूबीच चर्चा भइरहेको सुनिन्छ । अधिवेशन सोमवार सकिनेछ ।