२४ जेठ २०८३, आइतबार

गणेश लामा प्रकरण : अपहरण नभएको प्रहरी निष्कर्ष, ९ वर्ष पुरानो जग्गाको केस !

फागुन १०, २०८०
काठमाडौं
गणेश लामा प्रकरण : अपहरण नभएको प्रहरी निष्कर्ष, ९ वर्ष पुरानो जग्गाको केस !
लामा र खड्का होटलमा बसेको तस्वीर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले आफूलाई अपहरण गरेको भन्दै गैरआवासीय नेपाली ज्ञानेन्द्र खड्काले बुधवार विज्ञप्ति जारी गरेपछि यो विषयले तरंग उत्पन्न भयो । 

‘डन’ पृष्ठभूमि भएपनि पछिल्लो समय राजनीतिमा मात्रै सक्रिय देखिएका लामाले अपहरण गरेको भन्ने विषय निकै गम्भीर पनि थियो । आफूले यस विषयमा प्रहरीमा समेत उजुरी दिएको खड्काले उल्लेख गरेका थिए ।

बुधवार सार्वजनिक भए पनि घटना भने पुस २३ गतेको रहेछ । लामाले अपहरण गरेर २० करोड रुपैयाँ मागेको भन्दै खड्काले प्रहरीमा उजुरी दिएका रहेछन् ।

लामाविरुद्ध उजुरी परेपछि अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सकी प्रतिवेदन समेत बुझाइसकेको पाइएको छ ।

अपहरण नभएको निष्कर्षसहित वारदातस्थल रहेको ललितपुर प्रहरीलाई फाइल बुझाइएको एक अनुसन्धान अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

‘हामीले अनुसन्धान गर्दा कुनै पनि तथ्यले अपहरण नदेखिएकाले ललितपुरलाई मिलापत्रका लागि पठाएका हौं,’ अनुसन्धानमा खटिएका ती अधिकारीले लोकान्तरसँग भने ।

प्रहरी अनुसन्धानमा लामा र खड्का ललितपुरमा रहेको लण्डन हाउस होटलमा बसेको भेटियो ।

‘होटलमा उनीहरू करिब ७ घण्टा बसेको पाएका छौं । त्यहाँ दुवैजना हाँसीखुशी बसेको र २ पटक खाजा खाएको देखिन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले लोकान्तरसँग भने । 

प्रहरीले होटलका साहु र कामदारहरूसँग पनि बयान लिएको थियो । उनीहरूले दुवैजना हाँसीखुशी नै बसेर गएको बयान दिएका छन् । 

लामा र खड्का होटलबाट बाहिर निस्किँदा सौहार्दपूर्ण वातावरणमा निस्केको सीसीटीभी फूटेजमा देखिएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले अनुसन्धान कार्यालयले बुझाएको प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन भइरहेको बताए ।

‘फाइल हामीकोमा आएको छ । त्यो प्रतिवेदन अध्ययन गर्दैछौं,’ एसएसपी खनालले लोकान्तरसँग भने । 

यता गणेश लामाले भने २०७१ असोज ३० मा खड्काकी श्रीमतीलाई पास गरेर दिएको धुलिखेलको जग्गाको पैसा मागेको बताएका छन् ।

‘२०७१ सालमा नै मैले जग्गा पास गरिदिएको हुँ । त्यसपछि उहाँ फरार रहँदै आउनुभएको थियो । मैले उहाँसँग सम्पर्क भएपछि पैसा मागेको हुँ,’ लामाले लोकान्तरसँग भने । 

लामाका अनुसार छ महिनाभित्र पैसा चुक्ता गर्ने भनेर काठमाडौं महानरपालिका– १० को कार्यालयमा २ पक्षबीच सहमति समेत भएको थियो । तर, पनि पैसा चुक्ता गरेपछि कागज गराएको उनको भनाइ छ ।

यो विषयलाई भेरिफाइ गर्न सम्बन्धित वडाध्यक्षलाई बोलाएर सोधपुछ समेत गरिएको प्रहरीले जनाएको छ ।

उता, खड्काले भने लामा र उनका साथी सहदेव कक्षपतिले आफूलाई बन्धक बनाएर कागज गराएको भन्दै सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गरेका थिए ।

‘मेरो गाडी छेकी मास्क र टोपी लगाएर मलाई त्यहाँबाट अपहरण गरी सानेपास्थित लन्डन हाउस होटलको रूममा लगेर ८ घण्टाभन्दा धेरै बन्धक राखी तँसँग २००/३०० करोड पैसा उठाउनु छ, हामीसँग पुलिस, सीआईबी सबै मिलेको (छन्) सम्म भनेर धम्की दिएर तँसँग क्रिप्टो र बिटक्वाइन छ भनेर मेरो मोबाइल र ल्यापटपसमेत कब्जा गरेका हुन्,’ उनले विज्ञप्तिमा भनेका छन् । 

क्रिप्टो र बिटक्वाइन नभेटेपछि जबरजस्ती २० करोडको कागज गराइएको उनको आरोप थियो ।

स्रोतका अनुसार गणेश लामाकी श्रीमती र ज्ञानेन्द्र खड्काकी श्रीमतीले संयुक्तरूपमा व्यापार गर्दै आएका थिए ।

त्यही क्रममा उनीहरूले पैसाविनै जग्गा पास गरेको देखिएको छ । लामाले अहिले त्यही जग्गाको पैसाका लागि खड्कालाई दबाब दिँदै आएको स्रोतको दाबी छ ।

हेर्नुहोस्, सम्बन्धित जग्गाको पुर्जा:

null

salt training

कमेन्ट गर्नुहोस्