
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्ताव प्राप्त गरेको छ ।
आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदायस्तरमा लागू हुने गरी यो कार्यक्रम सञ्चालन गरेको कम्पनीले जनाएको छ ।
हाल प्राप्त प्रस्ताव तथा आवेदनको मूल्याङ्कन गरिरहेको एनसेलले जनाएको छ । एनसेलले माघ १७ गतेसम्मको समय दिएर ७ वटै प्रदेशका इच्छुक गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो ।
‘देशैभरिबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा विकास कार्य गर्न उत्साहजनकरुपमा प्रस्तावहरू प्राप्त भएका छन्,’ एनसेलले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लागू हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना लगायतका आधारमा कार्यक्रमहरू छानिने छ ।’

तोकिएको मापदण्ड र प्रक्रिया पुर्याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रतिकार्यक्रम १० लाख रुपैयाँ प्रदान गर्नेछ । एनसेलका अनुसार यस सामाजिक पहलअन्तर्गत कुल १८ आयोजना छानिने छन् र प्रत्येक एक प्रदेशमा दुई आयोजना लागू गरिनेछन् । बाँकी चार आयोजना प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यन्वयन गरिने छन् ।
‘दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकताअनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनाहरूमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।’
एनसेलले सबैभन्दा ठूलो करदातामध्ये एकका रुपमा अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्याउँदै आएको छ । आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७९–८० सम्ममा आफूले कर तथा गैरकर गरी ३ खर्ब भन्दा बढी राजश्व सरकारलाई तिरिसकेको कम्पनीले जनाएको छ ।