
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकासमात्र नभएर चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार पनि भएको बताएका छन् ।
पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा, सिरहाको हीरक जयन्ती समारोहको शनिवार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
‘त्यसैले सरकारको नीति, बजेट र योजना समय अनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ,’ उनले भने ।।
उनले रोजगारी र शिक्षाका लागि शहर पस्ने र शहर हुँदै विदेशीने प्रवृत्ति बढिरहेका बेला स्थानीयस्तरमै विद्यालय तहमा सहज, सरल र सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान जानु आवश्यक देखिएको बताए ।
खासगरी वर्तमान विश्वपरिवेशको माग अनुरुपको शीक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी, गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तरअनुरुपको शिक्षा प्रदान गर्नेतर्फ उपलब्ध शक्ति र सामथ्र्यको प्रयोग गर्न पनि राष्ट्रपति पौडेलले आग्रह गरे ।
‘यहाँका विद्यालयले यसतर्फ स्थानीय निकाय र सरोकारवालालाई आकर्षित गरी युग सुहाउँदो शिक्षा बालबालिकालाई प्रदान गर्न अझै मेहनत र क्रियाशीलता देखाउनुहुने मैले विश्वास लिएको छु,’ उनले भने ।
उनले ‘शिक्षा सुधारमा लागि तीनै तहको सरकार र सरोकारवालाको सहयोग लिएर आवश्यक उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको विकास गर्न आवश्यक मात्र होइन अपरिहार्य पनि छ’ भने ।
सात दशकभन्दा बढी लामो समयसम्म स्थानीयस्तरमा सहज र सरलरुपले गुणस्तरीय शिक्षा दिएर विद्यालयले यस क्षेत्रको शैक्षिक, आर्थिक, सांस्कृतिक र सामाजिकलगायतका क्षेत्रमा पुर्याएको योगदानको राष्ट्रपति पौडेलले सराहना गरे । साथै भविष्यमा पनि सो विद्यालयले दक्ष जनशक्ति, आवश्यक प्राविधिक एवम् भौतिक पूर्वाधार तथा विद्यार्थी र अभिभावकको चाहनाअनुसारको पठनपाठनमा अझै प्रगति गरी देशको शान र गौरव उँंचो बनाउन योगदान दिने विश्वास व्यक्त गरे ।