
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले प्रदेशको राजनीतिमा फेरि तरंग ल्याएका छन् । यसअघि पृथ्वीसुब्बा गुरुङको तत्कालीन सरकार ढलाउन र बनाउन निर्णायक भूमिका खेलेका मनाङे फेरि सत्ताको ‘किंग मेकर’ बन्ने लाइनमा छन् ।
उनले प्रदेशसभामा आफूलाई स्वतन्त्र सांसद कायम गराउन माग गर्दै सचिवालयमा निवेदन दिएका छन् । मनाङेले नेकपा (एकीकृत समाजवादी) त्यागेर आइतबार स्वतन्त्र सांसदको हैसियत माग गरेका हुन् । सत्ता गठनको अकंगणित हेरेर समर्थन लिने र दिने गरेका मनाङेले मध्यावधि हुन नदिन दलको साथ छोडेको बताएका छन् । ‘आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन निवेदन पेश गर्दछु,’ गुरुङले आइतबार प्रदेश सभा सचिवालयमा दिएको निवेदनमा भनिएको छ ।
मनाङेले भनेजस्तै गण्डकी मध्यावधिको बाटोमा जाने सम्भावना छ त ? ६० सदस्यीय गण्डकीमा सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । प्रदेशमा कुनै पनि दलसँग स्पष्ट बहुमत छैन । गण्डकीमा नेकपा एमालेका २२ सांसद र माओवादी केन्द्रका ८ सांसद छन् । कांग्रेसका २७ र राप्रपाका दुई सांसद छन् । अर्थात् संघमा बनेका नयाँ गठबन्धन वा विपक्षमा रहेको दुवैसँग बहुमत छैन ।
केन्द्रको सरकार फेरबदलसँगै माओवादी केन्द्रले २३ फागुनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको थियो । अब एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने छ ।
राप्रपाले केन्द्रमा बनेको गठबन्धनमा सहभागी नहुने भनिसकेको छ । यद्यपि प्रदेशमा आवश्यक रहेको खण्डमा सामेल हुन सक्ने सम्भावना रहेको राप्रपाले प्रष्ट्याइसकेको छ । त्यसो हुँदा गण्डकीमा २२ एमाले, माओवादीबाट सभामुखबाहेक ७ र राप्रपाका २ गरी सरकार गठन हुन सक्छ । तर, माओवादीको चुनाव चिह्नबाट निर्वाचित फणिन्द्र देवकोटाले आफूलाई बेग्लै दलको हैसियत माग्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले निर्णय गरिसकेको छैन । फणिन्द्र र राप्रपाले एमाले–माओवादीको गठबन्धनलाई साथ मनाङे फेरि निर्णायक बन्न सक्छन् ।
सरकार गठनमा कांग्रेसलाई पनि कठिन छ । २७ सांसद रहेको कांग्रेससँग सरकार गठनका लागि चार सांसद अपुग छ । राप्रपाले साथ दिएर मनाङेलाई साथ लिए पनि कांग्रेसलाई सरकार बनाउन बहुमत पुग्दैन । विपक्षी गठबन्धनबाट कसैलाई फ्लोर क्रस गराएर मात्र कांग्रेसले गण्डकीमा सरकार गठन गर्न सक्छन् । नेसपा दलको हैसियत मागेका फणिन्द्रको साथ कांग्रेसलाई मिल्यो भने केही सहज हुन सक्छ ।
मनाङ (ख) बाट निर्विरोध निर्वाचित भएका मनाङे गत मंसिरमा सत्ता मोहका कारण एकीकृत प्रवेश गरेका थिए । पृथ्वीसुब्बाको सरकार बचाउन खेलकुद मन्त्री उपहार पाएका मनाङेलाई कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पनि आफ्नो क्याबिनेटमा राखे ।
मंसिरको निर्वाचनपछि गण्डकीमा सरकार गठन कांग्रेस र माओवादीलाई सहज थियो । तर, प्रतिपक्षीमा बस्न नचाहेका उनी एकीकृत प्रवेश गरेर गण्डकीको एकमात्र एकीकृत सांसद भए ।
यसले उनलाई मन्त्री पद पाउने अवसर नजिक पुर्याएको थियो । त्यस समय गठबन्धनको सरकार बने भागबण्डामा आफूले अवसर पाउने सम्भावना देखेका थिए । पछि गठबन्धन बदलियो । सरकार गठनमा उनको साथ आवश्यक नपर्ने भयो । प्रतिपक्षीमा बसेका उनी फेरि एकपटक सत्तापक्षमा बस्ने दाउमा छन् ।