३१ असार २०८३, बुधबार
सत्तमोह

दीपक मनाङेले चौथो प्रयासमा पाए रोजेको मन्त्रालय

चैत ५, २०८०
पाेखरा
दीपक मनाङेले चौथो प्रयासमा पाए रोजेको मन्त्रालय

सरकार गठनमा ‘मेकर’का रुपमा उभिएका राजीव गुरुङ उर्फ दीपक मनाङेले फेरि एकपटक बाजी मारेका छन् ।

गण्डकीमा सरकार ढलाउन र बनाउन भूमिका खेलेका मनाङे यसपटक अल्पमतमा रहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका  हुन् । चौथो पटक मन्त्री बनेका उनले आजै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

गण्डकीलाई मध्यावधिमा जान नदिन सरकारलाई साथ दिएको उनको तर्क छ । सरकार जोगाउन साथ दिएको तर्क दिएका मनाङेले मन्त्री उपहार पाउँदै आएका छन् ।

सत्ताको जोड घटाउमा प्रमुख खेलाडी बनेका मनाङे आफ्नो सत्तामोह छोप्न तर्क दिँदै आउँछन् ‘मध्यवधि’बाट प्रदेशलाई जोगाउने । सोमवार मन्त्री पदको शपथ लिएपछि पनि उनको भनाइ सोही थियो । 

‘मध्यावधिमा जानै दिन्न । गए पनि म चुनावमा भागै लिन्न', पत्रकारसँग कुराकानी गर्दै उनले भने ।

सत्तापक्षमा रहिरहन मनाङेले कुनै कसरत बाँकी राख्दैनन् भन्ने यसअघिका उनको कदमबाट प्रष्ट भइसकेको छ ।

मनाङ (ख)बाट पुनः निर्विरोध स्वतन्त्र निर्वाचित बनेका उनले मन्त्री बन्नका लागि कसरत गरिरहेकै थिए । सत्ता गठनमा उनको आवश्यकता नभएपछि थन्किएका मनाङे गण्डकीमा सुरेन्द्रराज नेतृत्वको गठबन्धन सरकार आइसकेपछि मन्त्री बन्न कसरत शुरू गरे । यतिसम्मकि सत्ता गठनको भागबन्डामा गण्डकीमा एकीकृत समाजवादीबाट मन्त्री पद पाउने आशामा समाजवादी प्रवेश गरे । उनले सोचे जस्तो भएन ।

तर समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई गण्डकी सरकारमा सामेल नगराउँदा आपत्ति जनाएका थिए । केही महिना अघि पोखरामा भएको एक पत्रकार सम्मेलनमा नेपालले मुख्यमन्त्रीलाई आफ्नो पार्टीका सांसदलाई सरकारमा सामेल गराउन आग्रह गरिरहेको बताएका थिए । 

हिजो आइतबार उनै सांसद प्रदेश सचिवालयमा आफू स्वतन्त्र रहेको जानकारी गराउँदै निवेदन पेश गरे । त्यसको २४ घण्टा बित्न नपाउँदै गण्डकीको मन्त्रिपरिषद्‌मा सहभागी भएका छन् ।

अल्पमतमा रहेका मुख्यमन्त्रीले सरकार जोगाउन मनाङेलाई साथमा लिए पनि सहज भने छैन । मुख्यमन्त्रीलाई सरकार जोगाउन राप्रपाका दुई सांसद सहित अर्का एक सांसदको साथ आवश्यक पर्छ । गण्डकीमा बाबुराम भट्टराई निकट सांसद फडिन्द्र देवकोटा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर सांसद निर्वाचित छन् । हालको परिवेशमा सम्भवतः सुरेन्द्र सरकारले उनको साथ पाउने सम्भावना छ । 

null

राप्रपालाई कसलाई साथ दिन्छ निर्णय भइसकेको छैन । मन्त्री पद उपहार लिएर मध्यावधि जोगाउन लागेको बताउने मनाङेले सत्ता टिकाउन मुख्यमन्त्री काम गर्नुपर्ने बताए । 

‘मेरो त कामपनि होइन मुख्यमन्त्रीको हो । उहाँको सत्ता टिकाउन उहाँले गर्ने हो । मैले उहाँलाई मध्यावधि नजाऊ भनेर एउटा चान्स दिएकै हो,’उनले भने,‘यो भन्दा राप्रपालाई मध्यावधि चाहिन्छ भने म फेस गर्छु । तर, म चुनाव लड्दिनँ ।’ 

सत्ता टिकाउन खेलाडी बनेका मनाङे यसअघि दुईपटक तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपालीको सरकारमा एकपटक मन्त्री बनेका थिए । उनी यसअघि तीनै पटक मन्त्री बन्दा सरकार बनाउने र ढलाउने भूमिकामा रहे । गण्डकीको मन्त्रीमा पहिलोपटक २०७८ वैशाख १६ गते मनाङे मन्त्री नियुक्त भएका थिए । 

त्यससमय अल्पमतमा रहेका पृथ्वीसुब्बाले सरकार टिकाउन मनाङेलाई खेलकुद मन्त्री थमाएका थिए । त्यसपछि २०७८ जेठ ९ मा उनी पृथ्वीसुब्बाको सरकारमा पुनः मन्त्री नियुक्त भएका थिए ।

ठूलो दलको हैसियतमा वैशाख २९ गते गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बाले सरकार जोगाउन सफल बनेपछि उनको क्याबिनेटमा मनाङेले स्थान पाएका थिए ।

त्यसको ४५ दिनभित्र नै मनाङेले पृथ्वीसुब्बाको साथ छोडेर गण्डकीमा नेपाली कांग्रेसको सरकार बनाउन सहयोग गरे । २९ जेठमा तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा उनी तेस्रोपटक खेलकुद मन्त्री बनेका थिए ।

खेलकुद मन्त्री बनेका मनाङेले त्यससमय भौतिक पूर्वाधार मन्त्रालय खोजेका थिए । तर भौतिक मन्त्रालय तीनपटकसम्म उनको हातमा परेन । चौथोपटकमा भने उनले आफूले खोजेको मन्त्रालय पाएका छन् । 

‘देशको ७० प्रतिशत बजेट भौतिकमा हुन्छ । सबैभन्दा ठुलो भ्रष्टाचार पनि भौतिकमा हुन्छ । मलाई चार/पाँच दिनको समय दिनुहोस् । म कसरी पेल्छु', उनले भने, ‘७० प्रतिशत बजेट भएको मन्त्रालय मैले ताकेको कारण नै त्यही हो । मैले कमाउनलाई होइन । चेताउनलाई हो काम त गर्नपर्‍यो नि ।’

६० सदस्यीय गण्डकीमा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ ।

प्रदेशमा केन्द्रको गठबन्धनअनुसार कसैसँग स्पष्ट बहुमत छैन । सदनमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्