२० असार २०८३, शनिबार

अब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बसको रुट हेर्न सक्ने

चैत ६, २०८०
काठमाडौं
अब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बसको रुट हेर्न सक्ने
फाइल तस्वीर

अब मोबाइल एप हाम्रो पात्रोबाटै स्कुलका बस रुट हेर्न मिल्ने भएको छ । एपमा सवारी साधन ट्रयाक गर्न भेहिकल ट्रयाकिङ सफ्टवेयर थप गरी कम्पनीले बस रूट हेर्न मिल्ने सेवा उपलब्ध गराएको हो । केही दिन अघिदेखि यो सेवा सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ ।

योसँगै एपमा जोडिएका विद्यालय तथा अभिभावकले बसको अवस्थाबारे जानकारी लिन सक्ने कम्पनीले जनाएको छ । डियरवाक स्कुल तथा क्याम्पसबाट यसको सुरुवात भएको छ । ‘हामीले पहिलो चरणमा डियरवाक स्कुल तथा क्याम्पसका बसबाट यो सेवाको सुरुवात गरेका छौं,’ हाम्रो पात्रो इंककी निर्देशक सुदिना गौतमले भनिन्, 'अबको केही दिनभित्रै थप १० स्कुल तथा कलेजलाई यो सिस्टममा जोडिने तयारी हुँदैछ ।’

यो सिस्टममार्फत् स्कुल कलेजका अभिभावकले बस कहाँ आइपुग्यो भन्ने कुरा हाम्रो पात्रोको एपमै हेर्न सक्नेछन् । यसका लागि सुरुवातमा विद्यालय तथा कलेजहरू यो सिस्टममा जोडिनुपर्ने हुन्छ । त्यससँगै विद्यालयले अभिभावकलाई विद्यार्थी चढ्ने बसअनुसार बस ट्रयाक गर्न सकिने सुविधा उपलब्ध गराउने छ ।  

यो सिस्टमको सहयोगमा विद्यालय तथा कलेजहरूले आफू मातहतका सम्पूर्ण बसहरू एकै पटक ट्रयाक गर्न सक्ने कम्पनीले जनाएको छ । 

यसले अभिभावकलाई आफ्ना बालबालिका चढेको बस स्कुल पुग्यो कि पुगेन, कति बेला पुग्यो, घर फर्किने बेला बस कहाँ आइपुग्यो अथवा आफ्नो अफिसमै बसेर बालबालिका घर पुगे वा पुगेनन् भन्ने जानकारी लिने सुविधा दिनेछ । यसले विद्यालय तथा अभिभावक दुवै पक्षलाई सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार हाम्रो पात्रो एपबाट नै प्रयोगकर्ताले जीपीएस ट्रयाकिङ सुविधा प्रयोग गर्न सक्छन् । कम्पनीले जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्न लाग्ने शुल्कको विषयमा भने कुनै जानकारी दिएको छैन । यद्यपि इच्छुक स्कुल तथा कलेज, सङ्घ संस्थाले यसका लागि हाम्रो पात्रोको कार्यालयमा सम्पर्क राख्न सक्ने गौतमको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्