
छोटो समयमा उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्ताका लागि दोहोरो चरित्र देखाउँदै आएको छ । संघमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नाउपा सुदूरपश्चिम प्रदेशमा भने कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । संघमा ४ सांसदसहित स्थापना भएको पहिलो वर्ष नै राष्ट्रिय पार्टी बनेको नाउपाका प्रदेशमा ५ जना प्रत्यक्ष र २ जना समानुपातिक गरी ७ सांसद छन् ।
कांग्रेस, माओवादीलगायतका दलको गठबन्धन फुट्दा त्यसको सबैभन्दा बढी फाइदा नागरिक उन्मुक्तिले नै उठाएको छ । प्रदेश सभाका ७ सांसदमध्ये ५ जना मन्त्रीको हैसियतले सरकारमा सामेल छन् । बाँकी दुई सांसदमा पनि कैलाश चौधरीले पनि सत्ताको स्वाद चाखिसकेका छन् । उनी यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री थिए ।
जानकारी नै नदिई एक्कासि पदबाट हटाएपछि उनी वर्तमान सरकारसँग रुष्ट छन् । अब नागरिक उन्मुक्तिबाट सत्ताको स्वाद चाख्न बाँकी टीका थापा मात्र हुन् ।
थापा यसअघि नेकपा एमालेबाट लम्कीचुहा नगरपालिका उप–प्रमुखको जिम्मेवारीमा थिइन् । हाल नाउपाका महासचिव समेत रहेका उनका श्रीमान् रतन थापासँगै एमाले छाडेर आएपछि उनलाई समानुपातिक सांसद बनाइएको थियो ।
‘अहिले मेरो हकमा कुनै पनि निर्णय भएको छैन, अब के हुन्छ थाहा छैन, पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्छु,’ उनले भनिन् ।
गठबन्धन टुट्नुअघि नाउपाले सुदूरपश्चिम प्रदेशमा भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रालय मात्रै पाएको थियो । त्यहाँ मन्त्रीका रूपमा रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरी थिए । अहिले रामेश्वर यथावत् छन् भने कैलाशको ठाउँमा इन्दिरा गिरीलाई पठाइएको छ ।
संघमा पनि मन्त्री हत्याउने दाउ
अघिल्लो गठबन्धनका बेला संघीय सरकारमा कृषि मन्त्रीको जिम्मेवारी पाएकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले अहिले पनि मन्त्री पाउने आशाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएकी छिन् । प्रदेश सरकारबाट समर्थन झिक्न संसदीय दललाई निर्देशन दिए पनि प्रदेशसभा सदस्यहरूले टेरपुच्छर लगाएका छैनन् । बरु संसदीय दलको बैठक नै बसेर कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई समर्थन यथावत् रहेको निर्णय नै गरेका छन् । आर्थिक मामिला मन्त्री समेत रहेका संसदीय दलका नेता घनश्याम चौधरी केन्द्रीय अध्यक्षसँग सल्लाह गरेरै प्रदेश सरकारमा गएको दाबी गर्छन् ।
‘हामी प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिन्छौं, प्रदेशमा तपाईंहरूलाई जहाँ सजिलो पर्छ, त्यहीँ गठबन्धनमा रहनुहोस् भन्नुभएको छ अध्यक्षज्यूले, त्यहीअनुसार हामी सरकारमा सामेल छौं,’ उनले भने ।
सत्ताका लागि बार्गेनिङ
सात प्रदेश सभा सदस्यमध्ये ५ जनालाई मन्त्री बनाएको नाउपाले सत्ताका लागि बार्गेनिङ गरिरहेको छ । संघमा मन्त्री पाउने अवस्था भएमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने स्रोतको दाबी छ ।
‘मन्त्री बन्न केन्द्रीय अध्यक्ष रञ्जिताले कुनै कसर बाँकी छाडेकी छैनन् । तर, वर्तमान सरकारमा त्यो सम्भावना निकै कम देखिन्छ । त्यो अवस्थामा अहिलेको गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकार गुमाउन सक्ने अवस्था छ ।’
उनका अनुसार संघमा मन्त्री पाएको अवस्थामा सुदूरपश्चिम प्रदेशमा पनि नयाँ गठबन्धनबाटै सरकार बन्ने छ । संघमा मन्त्री नपाएको अवस्थामा भने प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनेछन् ।
जसरी पनि सत्तामै रहनका लागि पार्टीको संरक्षक भनिएका रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले विवादको नाटक रचेको स्रोतको दाबी छ । उनीहरू श्रीमान्–श्रीमती हुन् ।
रेशमले प्रदेशमा कांग्रेससँग मिलेको देखाउने र रञ्जिताले केन्द्रमा बार्गेनिङ गर्ने रणनीतिअनुसार उनीहरू अगाडि बढेको नाउपाकै नेताहरू बताउँछन् ।
संघमा मन्त्री पाउन नाउपाले प्रदेशमा तर्साइरहेकाले सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिने बेलासम्म नाउपाको बाहिर देखिएको विवाद समाधान भइसक्ने नेताहरू बताउँछन् ।