३१ जेठ २०८३, आइतबार

शिक्षकको क्षमता बढाउँदै शैक्षिक गुणस्तरमा सुधार गरिने

चैत २५, २०८०
काठमाडौं
शिक्षकको क्षमता बढाउँदै शैक्षिक गुणस्तरमा सुधार गरिने

काठमाडौँ महानगरपालिकाले ‘टिचर कलेज कार्यक्रम’ सुरु गरेको जनाएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराउने, यसबाट शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराएर वृत्ति विकाससँग जोड्न काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा कार्यक्रम सुरु गरेको हो । 

शिक्षकहरुको क्षमता र वृत्ति विकास हुने भएपछि शैक्षिक क्रियाकलापहरु सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित हुनेछन् । यसको नतिजा विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र र व्यवहारिक सिपमा प्राप्त हुनेछ । 

महानगरपालिकाको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ मार्फत यो कार्यक्रम सञ्चालनमा आएको हो । कार्यक्रम शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘यसबर्ष शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रुपैयाँ बिनियोजन गरेका छौँ । यसमध्ये पुस्तकरहित शुक्रबार, शिक्षामा सिप, प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति, शिक्षण र सिकाइ पद्धतिसहितका कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई करिब २८ करोड रुपैयाँ छ । यी कार्यक्रमको साझेदार विश्वविद्यालयलाई २ करोड ९५ लाख रुपैयाँ प्रदान गर्दैछौँ ।’

शिक्षकहरुमा गरिएको लगानी सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र, सीप र आचरणबाट फिर्ता हुने अपेक्षा गरिएको उनले बताइन् । 

स्नातक तह उत्तीर्ण शिक्षकले तालिमबाट २७ क्रेडिट पाएपछि पोष्ट ग्राजुएट डिप्लोमा र कुनै विषयमा स्नातकोत्तर उत्तीर्णलाई मास्टर इन एजुकेसन (एमएड) को प्रमाण प्राप्त दिइनेछ । कार्यक्रममा विश्वविद्यालयको स्कूल अफ एजुकेसनका डीन प्रा. बालचन्द्र लुइटेलले भने, ‘शिक्षकहरुबाट पीएचडी सम्म पुग्ने अवसर खोज्नु भएको छ । हामी पनि चाहन्छौँ, महानगरपालिकासँगको सहकार्यमा यसप्रकारको कार्यक्रम सञ्चालन गर्न सकियोस् ।’ 

तालिमको पहिलो चरणमा भाग लिनुभएका ३४ जनालाई कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको थियो । उनीहरूले १ क्रेडिट प्राप्त गरेका छन् । हानगरपालिकाभित्र वैकल्पिक र धार्मिकसहित ९० वटा सामुदायिक विद्यालय छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्