
दार्चुलाको शैल्यशिखर नगरपालिकामा श्री गलैनाथ माध्यामिक विद्यालय भवनको शिलान्यास भएको छ । छिमेकी मुलुक भारतको सहयोगार्थ दुई करोड ७३ लाख रुपैयाँकाे लागतमा उक्त विद्यालय भवन बन्न लागेको हो । शैल्यशिखर नगरपालिकाका मेयर (प्रमुख) विजयसिंह धामी र नेपालस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले बिहीवार संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गरेका हुन् ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग बन्न लागेको यस विद्यालयमा आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचरमा उपयोग गरिने जनाइएको छ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’को रुपमा अघि बढाइने भएको हो । परियोजनाको कार्यान्वयन भने शैल्यशिखर नगरपालिकामार्फत हुनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा शैल्यशिखर नगरपालिकाका मेयर धामीले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । ‘यस विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने र क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउने छ,’ विज्ञप्तिमा उल्लेख छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । हालसम्म ४८९ वटा परियोजना सम्पन्न भइसकेको दूतावासले जनाएको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् । जसमा १० वटा परियोजना दार्चुलामा रहेका छन् ।
भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार ९०० एम्बुलेन्स र ३०० स्कूल बस उपहारस्वरुप प्रदान गरिसकेको विज्ञप्तिमा उल्लेख छ । जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कूल बस उपहारस्वरुप प्रदान गरिएको छ । दूतावासका अनुसार दार्चुलामा मात्रै आठवटा एम्बुलेन्स र दुईवटा स्कूल बस उपलब्ध गराइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेषगरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।’