०७ साउन २०८३, बिहीबार

कास्कीमा बढे बैंकिङ कसुरका घटना, अनलाइन ठगी पनि उस्तै

बैशाख १०, २०८१
पाेखरा
कास्कीमा बढे बैंकिङ कसुरका घटना, अनलाइन ठगी पनि उस्तै

कास्कीमा पछिल्लो समयमा बैंकिङ कसुरका घटना बढेका छन् । तीन महिना यतामात्र कास्की प्रहरीमा दर्ता भएका घटनामध्ये बैंकिङ कसुरसम्बन्धी घटना ४०.७३ प्रतिशत रहेको पाइएको छ । पछिल्लो तीन महिनामा दर्ता भएका ४८१ घटनामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका घटना दर्ता भएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा महानगरपालिका १३ का ४५ वर्षीय पुरुषले सीजी सिमेन्ट खरिद गरि विक्रेतालाई २८ लाख ५८ हजार ७ सय ११ रुपैयाँको नबिल बैंकको चेक काटिदिए । उक्त चेक बाउन्स भएपछि पीडित केही दिन अघिमात्र कास्की प्रहरीमा निवेदन दिन आएका थिए । 

यस्तै अघिल्लो हप्तामात्र कास्की प्रहरीमा ४५ लाखको चेक बाउन्स भएको उजुरी दिन पोखरा ४ की एक महिला पुगिन् । जग्गा खरिद गर्न रकम आवश्यक परेपछि पीडितले पीडकलाई ४५ लाख रुपैयाँ उपलब्ध गराएकी थिइन् । पीडितले प्रभु बैंकको चेक गत वर्षको असोजमा दिएका थिए । ६ महिनापछि पनि आफ्नो रकम फिर्ता नपाएपछि मात्र पीडित अघिल्लो हप्ता कास्की प्रहरीमा उजुरी दिन आएकी हुन् । 

बैंकिङ कसुरबाट पीडित अर्का ५२ वर्षीय पुरुष २ लाख रुपैयाँ चेक बाउन्स भएको निवेदन लिएर कास्की प्रहरी पुगेका थिए । ७० वर्षका पुरुष पनि ३ लाख २० हजार रुपैयाँको चेक बाउन्स भएपछि उजुरी लिएर प्रहरीसमक्ष पुगेका थिए । 

यी सबै घटना कास्की प्रहरीमा एकैदिन दर्ता भएका हुन् । प्रहरीले उपलब्ध गराएको तथ्यांक र घटना विवरण हेर्दापनि पछिल्लो समय बैंकिङ कसुरका घटना बढ्दो छ । बैंकमा रकम नभएपनि चेक दिने र कारोबार गर्ने व्यक्तिगत नियतका कारण पनि बैंकिङ कसुरका घटना बढेको कास्की प्रहरी प्रवक्ता वसन्त शर्मा बताउँछन् । 

‘पछिल्लो चरणमा अधिकांश मानिसले चेक दिने, पैसा नहुने अवस्था बढी छ । पैसा नभएपछि बाउन्सको मुद्दामा उजुरी गने घटना बढिरहेका छन्,’ उनी भन्छन्, ‘चेक टाट्नु, पैसा नहुनु नियतको कुरा हो । कसैले अन्जानमा दिनुभएको रहेछ । पहिलो चरणमा छलफल गराउँछौँ । छलफलबाट निष्कर्ष निस्किएन भने कानूनी प्रक्रियामा जान्छौँ ।’  

यस्तै योबाहेक कास्कीमा अनलाइन ठगीका घटना पनि बढेका छन् प्रहरीको तथ्यांक हेर्ने हो भने २०७९ साउनदेखि २०८० पुष १२ सम्मको तथ्यांकमा २९४ वटा अनलाइन ठगीका घटना दर्ता भएका छन् । अनलाइनबाट २ करोड ५९ लाख ५६ हजार ६७२ रुपैयाँ बराबरका ठगीका उजुरी कास्की प्रहरीमा दर्ता भएका छन् । 

यसैगरी वैदेशिक रोजगारी र अनलाइन सामान खरिद उपहार पाउने लोभ देखाएर ठगी भएका छन् । त्यस्तै कुकुर खरिद गर्न १० हजार ३०० रुपैयाँ पठाएर ठगीमा परेको घटना पनि प्रहरीमा दर्ता छन् । 

अनलाइनमार्फत सामान पठाइदिन्छु भनी डेढ लाखसम्म ठगिएको प्रहरीको विवरणले देखाउँछ । त्यस्तै बैंक खाता ह्याक गरेर पनि अनलाइन ठगी भएका छन् । 

पछिल्लो तीन महिनामा जिल्लामा १८८ वटा अनलाइन ठगीका घटना दर्ता भएका हुन् । जसमध्ये १७३ वटा घटना अनुसन्धानमा छन् । यो अवधिमा मात्र २ करोड ५३ लाख २१ हजार १३७ रुपैयाँ ठगी भएको प्रहरीमा निवेदन आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्