
सुदूरपश्चिम प्रदेश सरकार गठनका बेला केन्द्रीय सत्ता गठबन्धनमा शुरू भएको अविश्वास मुख्यमन्त्रीले विश्वासको मत लिने बेला झन् गहिरिएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनको लागि आज (शुक्रवार) साँझ प्रदेश सभाको बैठक राखिएको छ ।
तर, मुख्यमन्त्रीलाई समर्थन गरेका दलले नै विश्वासको मत दिने/नदिनेबारे औपचारिक निर्णय गरेका छैनन् । यसकारण कारण प्रदेश सभाको बैठक बस्ने/नबस्ने समेत अन्योल छ । नेकपा (एकीकृत समाजवादी)का नेता सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री छन् ।
नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन भन्दै ह्वीप जारी गरेको छ । रेशम पक्षका ५ सांसदले मत नदिए पनि सोडारीको पक्षमा बहुमत पुग्छ । तर, अहिलेसम्म एमालेसमेत अनिर्णित छ ।
एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी गत वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नियुक्ति पनि सहज ढंगले भएको थिएन ।
गठनदेखि नै गडबढी
केन्द्रमा भएको सहमतिअनुसार पहिलो कार्यकालको मुख्यमन्त्री नपाएपछि एकीकृत समाजवादीले कांग्रेस समर्थित नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी) पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । हालका मुख्यमन्त्री सोडारीले नै संसदीय दलको निर्णय भन्दै चौधरीको पक्षमा हस्ताक्षर गरेका थिए ।
केन्द्रको गठबन्धनविपरीत सुदूरपश्चिममा कांग्रेससँग गठबन्धन गर्न खोजेको भन्दै नेकपा एसका अध्यक्ष माधव नेपालको आलोचना भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसको निर्णय दक्षिणपन्थी र अराजक भएको टिप्पणी संसदीय दलको बैठकमा गरेका थिए ।
सुदूरपश्चिम सरकारका कारण केन्द्रको गठबन्धन अप्ठ्यारोमा पर्नै भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्तिलाई दोस्रो कार्यकालको मुख्यमन्त्री लिन सहमत गराएर एसलाई मुख्यमन्त्री दिलाएका थिए । ‘नगद’मै मुख्यमन्त्री पाउने सहमतिपछि सोडारीले लक्ष्मणकिशोर चौधरीको पक्षमा गरेको हस्ताक्षर फिर्ता गरेका थिए ।
माओवादी र एमालेले पनि उन्मुक्तिको रञ्जिता पक्षका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन गरेको प्रस्ताव फिर्ता लिए । त्यसपछि प्रदेश प्रमुख नजीर मियाँले सोडारीलाई वैशाख ६ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
माधवको गतिविधिले झस्कियो एमाले
एमाले–माओवादी–रास्वपासहित आफूसमेत रहेको केन्द्रको सत्ता गठबन्धन भत्काउन नेपाल सक्रिय रहेको भन्दै एमालेले सुदूरमा एसका मुख्यमन्त्रीलाई विश्वासको मत दिन आनाकानी गरिरहेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बिहीवार भएको छलफलपछि सुदुरपश्चिम इन्चार्जले आज विश्वासको मत दिन निर्देशन दिएका थिए । तर, एमाले आश्वस्त हुन सकेको छैन ।
एमालेले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम केही दिन सार्न माग गरेको छ । एमाले सुदूरपश्चिम संसदीय दलका उपनेता सन्तोष कुमारी शर्मा ९थापा०ले आन्तरिक छलफल गर्नुपर्ने भएकोले एक/दुई दिन सार्न आफूहरूले माग गरेको बताइन् । यसअघि सरकारलाई समर्थन गर्दाबाहक अरु थप कुनै निर्णय एमालेले नगरेको उनले बताइन् । 'अलिकति तयारी पूरा नभएको हुनाले विश्वासको मत लिने कार्यक्रम आजलाई सारौं भन्ने हाम्रो कुरो हो,' लोकान्तरसँग उनले भनिन्, 'विश्वासको मत लिन समय छ । हतार नगरौं भनेका हौं । एमालेले सरकार बनाउँदा समर्थन गरेको हो । सरकारमा नजाने भनेर हामीले शुरूमै भनेका थियौं । त्यही निर्णय कायम छ । नयाँ केही भएको छैन ।’
यता माओवादी केन्द्रले भने एमालेकै कारण अलमल भएको जनाएको छ । माओवादी संसदीय दलका नेता मानबहादुर धामीले एमालेले अल्झाइरहेको बताए । 'हिजोसम्म सबै सहमतिमै विश्वासको मत लिने कुरा भएको हो,' धामीले भने, 'तर आज आएर उहाँहरूले सारौं भनिरहनुभएको छ ।' सरकार बनाउँदा समर्थन गरेकोले अहिले आएर अल्झाउन नहुने उनले बताए ।
मुख्यमन्त्री सोडारीले भने साँझसम्म सहमति हुने अपेक्षा गरेका छन् । नभए विश्वासको मत लिने कार्यक्रम सार्न सकिने विकल्पसमेत रहेको उनको सचिवालयका एक सदस्यले बताए । 'सत्ता साझेदार दलहरूबीचको सहमतिमै विश्वासको मत लिने कार्यक्रम राखिएको हो,' सचिवालयका ती सदस्यले भने,' अहिले केही अलमलजस्तो देखिएको छ । साँझसम्म सहमति हुने विश्वास छ । नभए विश्वासको मत आजै लिनुपर्ने बाध्यता छैन । समय छ । अर्को दिनलाई सार्न सकिन्छ ।'
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ , माओवादी केन्द्रका (सभामुखसमेत) ११ सदस्य छन् । बझाङमा भएको उपनिर्वाचनपछि एमालेको एक सदस्य थप भई ११ पुगेका छन् । नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।