
मधेश प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् ।
मधेश प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार मधेश प्रदेशमा पछिल्लो केही समयदेखि क्रमिकरूपमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको छ ।
सरकारी अस्पतालमा उपचार गराउँदा १० प्रतिशत तथा निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत खर्च बिरामीले ब्यहोर्नुपर्ने तथा बाँकी रकम बीमा बोर्डले व्यहोर्ने प्रावधान लागू भएपछि स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढेको बोर्डका मधेश प्रदेश संयोजक मनोज पौडेलले बताए ।
उनका अनुसार सबैभन्दा बढी सिरहा जिल्लामा एक लाख २२ हजार दुई सय ७१, सर्लाही जिल्लामा ४० हजार छ सय ६८, सप्तरी जिल्लामा ९४ हजार २०, धनुषा जिल्लामा ५४ हजार नौ सय ६७, महोत्तरी जिल्लामा ४९ हजार दुईसय ५७, रौतहट जिल्लामा ८३ हजार ६ सय २२, बारा जिल्लामा ६८ हजार दुई सय ३८ तथा पर्सा जिल्लामा ९१ हजार ६ सय २४ परिवारले स्वास्थ्य बीमा गरेको जनाएको छ ।
स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक तीन हजार पाँच सय प्रिमियम रकम तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य बराबरको सात सयका दरले वार्षिक प्रिमियम बुझाए ।
बीमित परिवारमा सदस्य बिरामी हुँदा एक लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्दै आएको छ ।
कतिपय अस्पतालमा सरकारले बीमाबापतको रकम समयमा उपलब्ध नगराउँदा बीमा कार्यक्रम रोकिएको अस्पतालले जनाएका छन् ।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत रहेको सो बीमाका सम्बन्धमा स्वास्थ्य बीमा बोर्डको कार्यालयले बीमा दर्ता सहयोगीहरूका लागि पुनर्ताजगी कार्यक्रम गरिरहेको पौडेलले जानकारी दिए।