२१ असार २०८३, आइतबार
पशुपतिनाथको भेटी चोरी प्रकरण

बाजा बजाउनेलाई नोट गिन्तीको जिम्मेवारी, ढोडारीकै निर्देशनमा कुमार र अनिलले लुकाउँथे पैसा

जेठ ९, २०८१
काठमाडौं
बाजा बजाउनेलाई नोट गिन्तीको जिम्मेवारी, ढोडारीकै निर्देशनमा कुमार र अनिलले लुकाउँथे पैसा

पशुपतिनाथ मन्दिरको भेटी चोरी संगठितरूपमै हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाल पक्राउ परेका पाँचजनाले कति दिनदेखि चोरी गर्दै आएका थिए भन्ने रहस्य खुल्न बाँकी छ । 

मन्दिरमा भक्तजनहरूले चढाएको भेटी गणना गर्ने कार्यमा संलग्न कोषकै कर्मचारी नवराज ढोडारी, नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाई परियार र अनिल परियार संलग्न रहेको आरोपमा अहिले प्रहरी हिरासतमा छन् । 

प्रहरीले उनीहरूसँग छुट्टाछुट्टै बयान लिइरहेको छ । बयानमा क्रममा कुमार, अनिल, सञ्जय र नवराजले ढोडारी मुख्य नाइके भएको बताएका छन् ।

ढोडारी पशुपति विकास कोषका छैठौं अधिकृत हुन् । उनकै नेतृत्वमा यी चारजना खटिँदै आएका थिए । 

दैनिक करिब चारलाख रुपैयाँ भेटी जम्मा हुँदै आएको थियो । कुमार र अनिल पशुपतिनाथको नित्य पूजाका बेला बाजा बजाउने कर्मचारी हुन् । उनीहरूले सनई फुक्ने गर्थे । सञ्जयले पनि बाजा नै बजाउने गर्थे ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार ढोडारीले भेटीको बाक्सा खोलेर रकम मिलाएर चाङ लगाउन यी चार जनालाई जिम्मेवारी दिएका थिए ।

‘ढोडारीले ठूला नोट हजार र पाँच सयको बिटा तयार पार्थे, अन्यले साना नोटका बिटा बनाउँथे,’ एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘त्यही बेला ढोडारीले कुमार र अनिलको पैसाको थुप्रोमा हजारको नोट फालिदिन्थे । उनीहरूले ज्याकेटको बाउलाभित्र छिराएर राख्थे ।’ 

भेटी गणनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जुनियर अधिकृतको ड्युटी रहे पनि उनीहरूले खल्ती मात्रै चेक गर्ने हुँदा पैसा बाहिर पुगेको थाहा हुँदैनथ्यो । प्रहरीका अनुसार भेटीको रकम यो समूहले दैनिक १५ देखि २० हजार रुपैयाँ चोरी गर्दै आएको अनुसन्धानबाट खुलेको छ । तर, ढोडारीले अरूलाई हजार/हजार दिएर बाँकी रकम आफैं राख्दै आएका थिए । 

ढोडारी र घिमिरेबाहेक अन्य तीनजनाले भने आफूहरूलाई कोषका कोषाध्यक्ष नारायण सुवेदीले भेटी गणनाको ड्युटीमा राखिदिएको बयान दिएका छन् । 

तर, रकम सुवेदीको हातमा जान्थ्यो वा जाँदैनथ्यो त्यो खुल्न नसकेको प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी केशव थेवे बताउँछन् । 

यसको माथिल्लो तह पहिचान गर्न गाह्रो भइरहेको स्रोतले बतायो । ‘दैनिक १५ हजार रुपैयाँ झिक्दा मासिक ४ लाख ५० हजार अवैध आम्दानी हुने भएपछि यो घटनामा कोषभित्रैको संगठित गिरोह संलग्न रहेको देखिएको छ । तर, कसैले एक अर्कालाई दोषारोपण नगर्ने हुँदा माथिल्लो व्यक्ति पहिचान गर्न गाह्रो भइरहेको छ ।’ 

शुरूमा यी पाँचजनाको गतिविधिका बारेमा कोषले नै प्रहरीलाई सूचना दिएको थियो । कोषकै कुनै कर्मचारीले सुराकी दिएपछि पदाधिकारीले सीसीटीभी हेरेर ढोडारीसहित पाँचजनाको संलग्नता देखिएको भन्दै उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाउन भनिएको थियो । कोषका सदस्य सचिव मिलनकुमार थापाले डीएसपी थेवेलाई समेत बोलाएर अनुसन्धान गम्भीर ढंगले हुनुपर्ने बताएका थिए । 

‘हामी कोषमा पुग्दा ढोडारीसहित पाँचैजनालाई कोषका पदाधिकारीले नियन्त्रणमा लिइसकेका थिए ।’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पक्राउ गर्दा ढोडारीको लकरबाट ५ हजार २६५, कुमारको साथबाट २७ हजार ५ सय, अनिलको साथबाट ३४ हजार ७ सय ५५ र भारतीय रुपैयाँ १९ हजार १२० रुपैयाँ बरामद गरेको थियो । 

दैनिक जम्मा भएको भेटी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारीले बुझेर लगी बैंक खातामा जम्मा गर्थे । ढोडारीले बैंकका कर्मचारीलाई समेत थाहै नदिई हजारको नोट थुप्रोबाट निकाली कुमार र अनिललाई लुकाउन दिँदै आएको प्रहरीले जनाएको छ । 

कोषका कोषाध्यक्ष सुवेदीले आफूलाई विनापुष्टिको आरोप लगाइएको बताए । उनले बाजा बजाउने जिम्मेवारी दिएकालाई पैसा संकलन गर्ने जिम्मेवारी कोषले नै टिप्पणी उठाएर दिएको बताए ।

उनले लोकान्तरसँग भने, ‘मैले कसैलाई जिम्मेवारी दिएको होइन, कार्यालयले नै टिप्पणी उठाएर दिएको हो । ममाथि लागेका आरोप निराधार हुन् ।’

salt training

कमेन्ट गर्नुहोस्