२८ असार २०८३, आइतबार

एमाले रुपन्देही अधिवेशनको सरगर्मी : नेतृत्वको ‘रेस’मा तीन नेताको दौडधूप

जेठ १८, २०८१
बुटवल
एमाले रुपन्देही अधिवेशनको सरगर्मी : नेतृत्वको ‘रेस’मा तीन नेताको दौडधूप

​नेकपा एमाले रुपन्देहीको अधिवेशन नजिकिँदै जाँदा यतिबेला जिल्लामा राजनीतिक सरगर्मी बढेको छ ।

यहीँ जेठ २३ र २४ गते भैरहवामा हुने पार्टीको १० औं अधिवेशनबाट नेतृत्वमा को आउँछ भन्ने विषय एमालेको तल्लो तहसम्म बहसमा छ ।

रुपन्देही एमाले केन्द्रीय उपाध्यक्ष तथा भावी अध्यक्षको रूपमा हेरिएका विष्णु पौडेलको गृहजिल्ला भएकाले पनि राजनीतिक सरगर्मी ​बढेको हो ।

सर्वसम्मत नेतृत्व चयन हुने नेताहरूले दाबी गरे पनि जिल्लाको नेतृत्वमा आकांक्षा देखाउनेहरू उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेल कित्तामा विभाजित छन् ।​​​

लुम्बिनी गृहप्रदेश रहेका पौडेल र पोखरेलले जिल्ला अधिवेशनलाई आफ्नो सामर्थ्य मापनको रूपमा हेरेका छन् ।

गत भदौमा बुटवलमा भएको एमाले प्रदेश अधिवेशनबाट आन्तरिक शक्तिमा पुगेका पौडेल अहिलेसम्म भएका जिल्ला अधिवेशनबाट पनि बलियो अवस्थामा देखिन्छन् ।

रुपन्देहीमा एमालेको नेतृत्व चयनका लागि अहिलेसम्मको चुनाव भएको छैन । एमालेको मिसन- ०८४ को केन्द्रित अधिवेशन भएकाले पनि यसलाई महत्त्वपूर्ण रूपमा लिइएको नेताहरूले बताएका छन् ।

को–को छन् आकांक्षी

अधिवेशनबाट नेतृत्वमा अध्यक्ष तेजेन्द्र केसी दोहरिन खोजेका छन् । सचिव यज्ञ गैरे र उपसचिव चित्रबहादुर कार्की पनि नेतृत्वको बलियो ‘रेस’ मा छन् ।

अहिले तीनै जना नेताहरूले केन्द्रको ‘ग्रीन सिग्नल’को पखाईमा छन् ।

कार्की सैनामैना नगरपालिकाको पूर्वमेयर पनि हुन् ।

त्यस्तै अर्का उपसचिव हितराज पन्थीले पनि आफू नेतृत्वको दाबेदार रहेको बताएका छन् ।

नेताहरू दुई कित्तामा देखिएकाले मिल्ने सम्भावना कम देखिन्छ ।

तर यसले पार्टी कमजोर हुने र आगामी चुनावमा क्षति ब्यहोर्नुपर्ने अवस्था पैदा हुने भएकाले मिलेर जानुपर्ने आवाज बलियो छ ।

अध्यक्षमा केसीलाई दोहर्‍याए सर्वसम्मतको सम्भावना पनि  कायम रहेको एक पक्षको दाबी छ ।

केसीले पूरा कार्यकाल काम गर्न नपाएकाले उनलाई दोहर्‍याउने, उपाध्यक्ष जागेश्वरदेवी चौधरी प्रदेश कमिटीमा गएकोले वर्तमान सचिव गैरेलाई उपाध्यक्ष बनाउने र सचिव कार्कीलाई ल्याएर सर्वसम्मत हुन सक्ने तर्क उनीहरूको तर्क छ ।

तर त्यो सम्भावना न्यून रहेको अर्को पक्षको दाबी छ ।​​

पछि हट्ने सम्भावना कम

प्रतिनिधि सभातर्फ  ५, प्रदेश सभातर्फ १० र १६ वटा स्थानीय तह निर्वाचन रहेको रुपन्देहीमा एमालेको नेतृत्वको चयन गर्न सबै क्षेत्रबाट ८०० भन्दा बढी प्रतिनिधि छनोट हुनेछन् । ३० जना संगठित सदस्य बराबर १ जना प्रतिनिधि छनोट हुनेछन् ।

दलितको हकमा भने १५ बराबर १ जना चयन हुनेछन् ।

अध्यक्ष केसीले आफू एक पटक दोहोरिएर पार्टीलाई गतिशील बनाउने बताए ।

सचिव तथा अध्यक्षका अर्का दाबेदार गैरेले आफू अध्यक्षभन्दा अरू सोच्नसक्ने अवस्थामा नरहेको बताए ।

आफू नेतृत्वमा आएमा कार्यकर्ताको दुरी सुमधुर बनाउँदै पार्टीलाई सुस्त रहेको पार्टीलाई चलाएमान बनाउने गैरेले दाबी गरे ।

प्रतिनिधि छनोट भएपछि अधिवेशनको अवस्था बुझ्न सहज हुने पार्टीका युवा नेता तथा क्षेत्रीय इन्चार्ज बाबुराम पन्थी बताउँछन् । ‘अहिलेसम्मको अवस्था हेर्दा सहमतिको प्रयास गरेर जाने भनिए पनि छलफल भएको छैन,’ पन्थीले भने, ‘चुनावै होला भन्ने पनि देखिँदैन । अबको पार्टी नेतृत्व आम कार्यकर्ताको भावना र समयको बेगलाई बुझेर त्यहीँअनुसार चल्न सक्ने आउनुपर्छ भन्ने कार्यकर्ताको माग छ । त्यहीँअनुसार नेतृत्व चयन हुन्छ भन्ने मलाई पनि लाग्छ ।’​

पदाधिकारीमा जान रूचि

अहिलेसम्म उपाध्यक्षमा ऋषि पाण्डे, सचिवमा बाबुराम पन्थी, युवराज घिमिरे, नरबहादुर घर्तीले दाबेदारी प्रस्तुत गरिरहेका छन् । त्यस्तै उपसचिवमा मधुकला कुँवर र देवी वाग्ले इच्छा देखाएका छन् । पार्टीमा गुटबन्दी भए  आगामी निर्वाचनमा यसको परिणाम देखिन सक्ने कार्यकर्ता सशंकित देखिन्छन् ।

जनतासँग जोडिने र निर्वाचनमा जाने बेलामा नेतालाई नाम जोडेर फाइदा लिने परिस्थिति बन्न नहुने एमाले आम कार्यकर्ताको भनाइ छ ।

पार्टीभित्र बाहिर हल्ला गरिएजस्तो गुटबन्दी नभएको एमाले प्रदेश कमिटी सदस्य डीआर घिमिरे बताउँछन् ।

शुक्रबार पार्टीको प्रतिनिधि चयनको काम भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्