
वाइल्डलाइफ (वन्यजीवन) फोटोग्राफर चुङवा शेर्पाले गत साता अर्घाखाँचीको मालारानीमा विश्वकै दुर्लभ मानिएको चिर चराको तस्वीर खिचे । तीन दिन भीरमा घण्टौं बिताएर कालिज प्रजातिको चिरका भाले–पोथी दुवैका तस्वीर आफ्नो क्यामेराको ‘फ्रेम’मा ‘क्यास’ गरेर आफ्नो ‘मिसन’ पूरा गरे । साथै अर्घाखाँचीमा रहेकै समयमा चुङवाले गिद्धका विभिन्न प्रजातिका तस्वीर र भिडियो पनि खिचे । त्यसपछि उनी सुदूरपश्चिमको डडेल्धुरातर्फ लागे ।
सोलुखुम्बुको खुम्बु–पासाङ गाउँपालिका वडा नम्बर–३ चौरीखर्कका ६२ वर्षीय चुङवा हत्तपत्त नभेटिने जंगली जनावर र चराहरूका तस्वीर कैद गर्ने वाइल्डलाइफ फोटोग्राफर हुन् । उनी आफ्नै खर्चमा महिनौंसम्म जंगलमा खटिन्छन् र तस्वीर लिने गर्छन् । यसो गर्दा उनलाई जंगली जनावरले आक्रमण गर्ने जोखिम पनि उत्तिकै हुन्छ । ‘आफ्नै लगानीमा महिनौंसम्म देशका विभिन्न ठाउँमा डुलेर फोटो खिच्ने गर्छु । यसोगर्दा सर्पलगायत जंगली जीव र जनावरको आक्रमणको जोखिम पनि उत्तिकै हुन्छ,’ उनी भन्छन्, ‘खोला, भीर आदि भएर जानुपर्छ । कुनै गन्तव्य लिएर हिँडिदैन । आफैँ बाटो पत्ता लगाउँदै र बनाउँदै हिड्नुपर्छ । धेरै सतर्क र निडर भएर काम गर्नुपर्छ ।’ चुनौतीका बीच शरीरले आराम खोज्ने उमेरमा चुङवा भने फोटोग्राफीका विभिन्न विधामध्ये चुनौतीपूर्ण विधा मानिने वाइल्डलाइफ फोटोग्राफीमा रमाएकै छन् । ‘मेरो काम देख्दा सबैले आहा !,’ प्रफुल्लित हुँदै उनले थपे ।
नेपालमा आफूजतिकै बाह्रै महिना निरन्तर खटिएर उत्कृष्ट तस्वीरहरू खिच्ने अरु नभएको दाबी गर्न चुङवा हिच्किचाउँदैनन् । हुन पनि विगत ७ वर्षअघिदेखि तस्वीर खिच्न थालेका उनको नेपाली वाइल्डलाइफ फोटोग्राफरमध्येको अग्रपंक्तिमा नै छ । उनी व्यावसायिक उद्देश्यले नभई सोखका लागि तस्वीर खिच्छन् । नेपालका जंगली जनावरलाई विश्वमाझ प्रचार–प्रसार गर्ने उद्देश्यसहित आफू उमेरले ६ दशक पार गर्दा पनि तस्वीर खिच्नमा लागेको उनी बताउँछन् । ‘वाइल्डलाइफ फोटोग्राफीमा वन–जंगल र खुला प्राकृतिक वातावरणमा रहने जीवजन्तुको जीवनका विविध पक्षलाई फोटोको माध्यमबाट देखाइन्छ,’ उनी भन्छन् ।
काठमाडौं वरपरका जंगलदेखि तस्वीर खिच्न शुरू गरेका उनी अहिलेसम्म देशका ५५ जिल्लामा पुगिसकेका छन् । तराईको समथर भू–भागदेखि पहाड हुँदै हिमालको काख अर्थात ६ हजार मिटरको उचाइसम्म अड्डा जमाएर उनी तस्वीर खिच्ने गर्छन् । ‘नेपालका सबै राष्ट्रिय निकुञ्जमा दर्जन पटकसम्म गएर हप्ता र महिनौंसम्म बिताएको छु । त्यहाँ गएर आफैँले ठड्याएको क्यामेरामा कैद गरेको छु ।’
आफ्नै खल्तीको पैसा खर्चिएर देश–विदेश घुम्दै जंगली जनावरका तस्वीर खिच्नुपर्दा चुङवालाई कुनै गुनासो हुँदैन । ‘वाइल्डलाइफ फोटोग्राफीमा काम गर्दा खर्च र दुःख दुवै हुन्छ ।’ उनी थप्छन्, ‘म जे चाहन्छु त्यसका लागि जतिसुकै खर्च र परिश्रम पनि गर्न पछि पर्दिनँ । त्यो मेरो चाहना अहिलेसम्म पुगेको छ । मैले हिमचितुवाको फोटो खिचेँ, मैले चाहेकोमध्ये त्यो पनि एउटा हो ।’
उत्कृष्ट तस्वीरका लागि हप्तौं र महिनौंसम्म पनि कुर्नुपर्ने चुङवा बताउँछन् । ‘हिमालमा ड्राई फूड खाएर महिना दिनसम्म पाल टाँगेर वाइल्डलाइफ फोटो खिचेको छु,’ उनी भन्छन्, ‘५ हजार ७०० मिटर उचाइसम्म गएर जनावर र चराका तस्वीर लिन सफल भएको छु ।’
आफूले खिचेकामध्ये उनलाई जंगली चौंरी (याक)को तस्वीर सबैभन्दा उत्कृष्ट लाग्छ । यो तस्वीर उनले विसं २०७८ मा हुम्लाको ६ हजार मिटरको हिमी भ्यालीमा पुगेर खिचेका हुन् । जंगली याकको तस्वीर खिच्नु फोटोग्राफीका लागि दुर्लभ काम भएको उनी बताउँछन् ।
त्यो तस्वीर खिच्न उनले सिमिकोटबाट हेलिकप्टर प्रयोग गरेर हिमी भ्यालीसम्म पुग्नुपरेको थियो । त्यस्तै उनले विस २०७६ मा मनाङको अन्नपूर्ण आधार शिविरमा पुगेर हिमचितुवाको तस्वीर खिचे । चुङवाले खिचेको हिमचितुवाको तस्वीरको चर्चा सर्वत्र भएको थियो । त्यो बेला उनी सुन्दर तस्वीर खिच्ने नेपाली फोटोग्राफरको सूचीमा दर्ज भए । त्यस्तै सुदूरपूर्वको इलाम गएर खिचेको रेडपाण्डाकोे तस्वीर पनि उनको उत्कृष्टमा परेको छ । उनले विभिन्न राष्ट्रिय निकुञ्जमा पुगेर कस्तुरी, मृग, बाघ, डाँफे, थार हात्ती, गँैडाका सुन्दर तस्वीरहरू आफ्नो क्यामेरामा कैद गर्न सफल भएका छन् । ‘तस्वीर खिच्नु पनि एउटा कला हो । यसको महत्व समयसँगै बढ्दै जान्छ । तपाईं बच्चा हुँदाको तस्वीर अहिले खिच्छु भनेर पाइँदैन । बच्चा हुँदाको तस्वीर अहिले हेर्दा कति रमाइलो र आनन्द लाग्छ । वाइल्डलाइफ फोटोहरू पनि त्यस्तै हो ।’
चुङवाले उत्कृष्ट तस्वीरहरू खिचे पनि अहिलेसम्म फोटो प्रतियोगितामा भाग लिएका भने छैनन् । तस्वीर खिच्नकै लागि उनी थाइल्यान्डदेखि अफ्रिका महादेशको तान्जानियासम्म गएका छन् । ती ठाउँमा गएर उनले भयंकर डरलाग्दा र अनौठा जंगली जनावरका वाइल्डलाइफ खिच्न सफल भएका छन् । तान्जिनियामा उनले दुर्लभ ‘सर्भट क्याट’को तस्वीर खिचेका थिए ।
उनले खिचेका केही तस्वीर पर्यटन बोर्ड र केही बैंकले भित्तेपात्रोमा राख्न किनेका छन् । आफूले पैसा कमाउन वाइल्डलाइफ फोटोग्राफी नगरको स्पष्ट पार्ने उनले तस्वीर बिक्रीबाट आएको रकम विपन्न विद्यार्थी र अनाथ बालबालिकाको क्षेत्रमा खर्चिएको बताए । तर, पैसा कमाउन खोज्नेका लागि पनि यो काम राम्रो रहेको उनको भनाइ छ ।
पारिवारिक जिम्मेवारी पूरा गरेर आफू सोखका लागि जोखिमपूर्ण वाइल्डलाइफ फोटोग्राफीमा लागेको उनको भनाइ छ । ‘म एउटा पर्यटन व्यवसायी पनि हुँ,’ उनी भन्छन्, ‘मेरो लुक्ला एयरपोर्टमा खुम्बु रिर्सोट पनि छ । मेरो छोरा छेवाङ शेर्पा चिकित्सक हो । छोरी बृन्दा शेर्पा यति एयरलाइन्सको पाइलट हो । आफूले निभाउनुपर्ने कर्तव्य निभाएर फोटो खिच्नमा रमाएको हुँ ।’
तस्वीर खिच्नकै लागि आफू सगरमाथा आधार क्षेत्र, कञ्चनजंघा बेसक्याम्प, नेपाल चाइना बोर्डर, लामटाङ, मनाङ, मुस्ताङ, कोशीटापु लगायतका क्षेत्रमा दर्जनौंपटक गएको चुङवाले सुनाए । तस्वीर खिच्न जाँदा उनी ‘आर्मी कलर’को आफ्नै गाडीमा जान्छन् । आफ्नो गाडी जान नसक्ने ठाउँमा स्थानीय सवारीसाधनको प्रयोग गर्छन् भने केही ठाउँमा हिँडेरै पुग्छन् । उनीसँग अहिले वानडीएक्स मार्क थ्री र आर थ्री गरी दुई वटा क्यामेरा छन् । जसको मूल्य १०–१० लाख रुपैयाँ पर्छ । त्यस्तै उनले १ हजार ३०० डलर पर्ने लेन्स पनि किनेका छन् ।
चुङवाका अनुसार जनावरका लागि तस्वीर खिच्ने समय बिहान घाम झुल्कने बेला उपयुक्त हो । त्यो बेलामा जंगली जनावर र चरा बढी देखिने गरेको उनको भनाइ छ । उनले खिचेका तस्वीरहरू सामाजिक सञ्जाल ‘रिल’ र ‘इन्टाग्राम’मा लाखौं भ्यू, लाइक, कमेन्ट्स पाइन्छन् । जसलाई विदेशबाट हेरेर धेरैले उनलाई ‘ग्याजेट सहयोग गरौं’ भनेर सोध्ने गर्छन् । तर उनले ‘पर्दैन, म आफँै किन्न सक्छु’ भनेर जवाफ दिने गरेका छन् । राज्यलाई आवश्यक परेर मागेमा आफूले खिचेका तस्वीरहरू आफू तयार रहेको उनी बताउँछन् । फोटोग्राफीलाई निरन्तरता दिँदै मानिसलाई प्रकृति र वन्यजन्तुको जानकारी एवं संरक्षण गर्न प्रोत्साहित गर्ने उनको लक्ष्य छ । उनी यो लक्ष्य पूरा गरिरहेका छन् ।