११ साउन २०८३, सोमबार
अध्यक्ष बन्न रस्साकस्सी

नेकपा एसको महाधिवेशन : सुझावको चरणमा ४ दस्तावेज, साताभित्रै १८ सय प्रतिनिधि छानिने

जेठ ३१, २०८१
काठमाडौं
नेकपा एसको महाधिवेशन : सुझावको चरणमा ४ दस्तावेज, साताभित्रै १८ सय प्रतिनिधि छानिने

नेकपा एकीकृत समाजवादीले १० औं महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । 

एमालेबाट विभाजन भएको ३ वर्ष पुग्नै लाग्दा आगामी असार १६ देखि २० गतेसम्म हुन लागेको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन् ।

महाधिवेशनमा अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालको समाजवादी कार्यक्रम, उपाध्यक्ष डा. वेदुराम भुसालको विधान संशोधन प्रतिवेदन र महासचिव घनश्याम भुसालको सांगठनिक प्रतिवेदन पेस गर्ने तयारी छ ।

यी प्रतिवेदनमाथि केन्द्रमा छलफल भएपछि यतिखेर सुझावका लागि प्रदेश र पार्टीका विभिन्न संयन्त्रमा पठाइएको छ । यी सबै प्रतिवेदनमा आएका सुझावलाई समेटेर साझा दस्तावेज बनाउने र महाधिवेशनमा प्रस्तुत गर्ने तयारी समाजवादीको छ । 

पोलिटब्युरो सदस्य दिलकुमारी पन्तले पार्टी महाधिवेशनको अन्तिम तयारीमा लागेको जानकारी दिइन् । 

‘राजनीतिक, समसामयिक, सांगठनिक र विधानसम्बन्धी प्रतिवेदनहरूमा केन्द्रमा छलफल भएर प्रदेश, जिल्ला र स्थानीय तहसम्मै सुझावका लागि पुगिसकेका छन् । नेता/कार्यकर्ताले कमीकमजोरी रहेका ठाउँमा सुझाव दिने क्रम जारी छ,’ पन्तले लोकान्तरसँग भनिन्, ‘नेताको काम सकियो । अब तलबाट आएको सुझाव र महाधिवेशनमा समूहगत छलफलपछि प्रतिवेदनहरू पूर्ण बन्छन् ।’

कुन प्रतिवेदनमा के छ ?

अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा समसामयिक राजनीति, पार्टीको भावी कार्यक्रम, सत्तासमीकरण र गठबन्धनको बाध्यता, पार्टी विभाजनको औचित्य, विपक्षी पार्टीप्रतिको दृष्टिकोण, राष्ट्रियता, उत्पीडन, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति उल्लेख छ । अप्ठ्यारोको बीच पार्टीलाई हुर्काएर अहिलेको स्थितिसम्म ल्याएको व्याख्या नेपालले गरेका छन् । 

तर, महाधिवेशनमा अध्यक्ष नेपाललाई काउन्टर दिने तयारी गरेका सम्मानित नेता झलनाथ खनालले समाजवादी दस्तावेजमा पार्टीका नीति, सिद्धान्त, कार्यदिशाको विषयलाई उल्लेख गरेका छन् । पार्टीले प्रभावकारी कार्यदिशा नलिएका कारण सहज बाटो समाउन नसकेको खनालको मत छ । उनी अध्यक्ष नेपालसँग प्रतिस्पर्धा गर्नेसम्मको तयारी साथ अगाडि बढेका छन् । 

नेपालमा राजनीतिक लडाइँको चरण पूरा भएको भन्दै खनालले नागरिकलाई समृद्धिको दिशामा अगाडि बढाउन नेपाली मोडलको समाजवादी कार्यक्रम लागू गर्नुपर्ने विषयलाई जोड दिँदै आएका छन् । खनालको प्रतिवेदनमा पार्टीभित्र देखिएका अन्तरविरोध, यसका असर र  प्रभावसहितका विषय उल्लेख छन् । 

महासचिव भुसालको सांगठनिक प्रतिवेदनमा पार्टी संगठनको स्थिति, नेता कार्यकर्ता पलायन र चुस्त संगठन निर्माणको विषयलाई प्राथमिकता साथ उठाइएको जानकारी एक केन्द्रीय सदस्यले दिए । 

वेदुराम भुसालको विधान प्रतिवेदनले व्यवस्थित पार्टी प्रणालीको व्याख्या गरेको छ । 

५ असारभित्र प्रतिनिधि छनोट 

महाधिवेशनका लागि समाजवादीले ५ असारसम्ममा देशैभरबाट प्रतिनिधि छनोट गरिसक्ने लक्ष्य लिएको छ । पोलिटब्युरो सदस्य पन्तले १ हजार ८ सय हाराहारीमा महाधिवेशन प्रतिनिधि एक साताभित्र छानिने बताइन् । ‘हाम्रा करिब १ हजार ८ सय महाधिवेशन प्रतिनिधि हुनेछन् । प्रतिनिधि छनोटका लागि हामीले ५ असारसम्मको समय तोकेका छौं,’ उनले भनिन् । 

समाजवादीमा १२५ जिल्ला सदस्य बराबर एकजना महाधिवेशन प्रतिनिधि छानिने छन् । यसरी प्रतिनिधि छान्दा महिला र दलितलाई प्राथमिकता राखिने पन्त बताउँछिन् । 

प्रतिवेदन र प्रतिनिधि छनोटको मुख्य कामपछि महाधिवेशनको तयारी र व्यवस्थापनमा लाग्ने उनी बताउँछिन् । प्रचार प्रसार, अतिथि सत्कार, अर्थ परिचालन, संस्कृति तथा कला साहित्य, स्वास्थ्य व्यवस्थापन, खाद्य व्यवस्थापनसहितका कमिटी बनेका छन् ।

स्वतः प्रतिनिधि हुने व्यवस्था थपियो

समाजवादीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी र केन्द्रीय तहका नेता पनि चुनिएर आउनुपर्ने प्रावधान फेरेको छ । बुधबार बसेको बैठकले अब केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोग र निकायका नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो ।

पार्टीको यो निर्णयलाई महाधिवेशनमा हलबाट पारित गराएर लागू गर्ने तयारी समाजवादीको रहेको अर्का एक केन्द्रीय सदस्य बताउँछन् । 

केन्द्रीय तहका नेता पनि चुनिएरै आउनुपर्ने बहस समाजवादीभित्र थियो । तर, बुधबार सिनियर नेता नै यो विषयमा नअडिएको अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए । 

‘विधान दस्तावेजमा समेत महाधिवेशन प्रतिनिधि तलबाटै निर्वाचित भएर आउनुपर्ने र त्यो केन्द्रका नेताको हकमा पनि लागू हुने भनिएको थियो । तर, अन्तिममा केन्द्रीय नेता नै यो विषयमा अडिनुभएन,’ ती केन्द्रीय सदस्य भन्छन्, ‘केन्द्रीय नेता नै पराजित हुने डर उत्पन्न भएपछि केन्द्रीय परिषद् बैठकको निर्णयलाई सचिवालयले उल्ट्याइदिएको छ ।’

नेतृत्वको लडाईंमा नेपाल र खनाल

एमालेबाट विभाजन भएर बनेको ३ वर्ष पुग्नै लाग्दा हुने पहिलो महाधिवेशनबाट अध्यक्ष माधवकुमार नेपालले फेरि दोहोरिने चाहना राखेका छन् । विभाजनपछिको पहिलो महाधिवेशनबाट अध्यक्षमा दोहोरिएर प्रभाव र विरासत कायम राख्ने उनको प्रयास छ ।

तर, तीन वर्षमा पनि पार्टी फुटको औचित्य पुष्टि हुने गरि नीति, कार्यक्रम, कार्यदिशा र सिद्धान्त अगाडि नसारेको भन्दै सम्मानित नेता झलनाथ खनालले यसपटक दबाब बढाउने देखिएको छ ।

पार्टीले तीन वर्षमा लय नै नसमाएको भन्दै खनालले आफू अध्यक्षमा अगाडि बढ्ने बताउँदै आएका छन् । केही दिनअगाडि लोकान्तरसँग कुराकानी गर्दै खनालले पार्टीमा थुप्रै नेता/कार्यकर्ता आफू अगाडि बढोस् भन्ने चाहनामा रहेको दाबी गरेका थिए ।

पछिल्लो समय समाजवादीमा खनालले केन्द्र र संसदीय दलमा आफ्नो उपस्थिति थप दरिलो बनाएको नेताहरू बताउँछन् । साथै, अध्यक्षमा महासचिव घनश्याम भुसालले पनि उम्मेदवारी दिन सक्ने नेताहरू बताउँछन् ।

पछिल्लो समय भुसाल पनि खनालनिकट रहेको दाबी नेताहरूको छ । दुईपटकसम्म महाधिवेशन सरिसकेको छ । तर, यसपालि भने कुनै हालतमा महाधिवेशन गर्ने नेताहरूको दाबी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्