
बाँकेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको भे १० प १४१३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा राप्तीसोनारी–८ का ३६ वर्षीय लोकेन्द्रबहादुर विष्टको मृत्यु भएको थियो ।
राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनापछि स्थानीयले टिपरमा आगजनी गरेका छन् ।
आगजनीबाट भे १ ख ३०१९ नम्बरको टिपरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
पीडितले अहिलेसम्म घटनास्थलबाट शव उठाएका छैनन् । साथै उनीहरूले पूर्वपश्चिम राजमार्गको कोहलपुर सडक खण्ड अवरुद्ध गरेका छन् ।
प्रहरीले राजमार्ग सञ्चालन नभए पनि हुलाकी राजमार्गबाट सवारी आवागमन भइरहेको जनाएको छ ।
पीडितसँग इलाका प्रहरी कार्यालय कोहलपुरमा छलफल भइरहेको छ ।
टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।