३० असार २०८३, मंगलबार
जीवनदर्शन

को होला त्यो ?

असार ८, २०८१
काठमाडौं
को होला त्यो ?

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्थात् एउटै सत्यलाई पनि मानिसहरू आ–आफ्नो दृष्टिकोणअनुसार भिन्नरूपमा अथ्र्याउने गर्छन् । जब द्रष्टाको दृष्टिमा भिन्नता आउँछ तब सत्य पनि बाधित हुन पुग्छ र एउटाले देखेको अर्कोले नदेख्न सक्छ । एउटालाई सत्य लागेको अर्कोलाई नलाग्न सक्छ  । कसैलाई गुलियो मीठो लाग्न सक्छ त्यो सत्य हो तर, कसैलाई त्यही चीज नमीठो लाग्न सक्छ । यस्तो अवस्थामा पहिलेको सत्य स्वतः बाधित हुन पुग्छ । त्यसैले प्रश्न त्यहीँ पुगेर टुङ्गिन्छ, जहाँबाट उठेको थियो । जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? 

तपाईँ भन्न सक्नुहुन्छ यो कुन ठूलो कुरा भयो र ? जीवन बन्यो आफैँ, जगत् बस्यो आफैँ । चले आफैँ, बोले आफैँ तर, यो रूपमा मात्र हो सारमा होइन । हो, रूपमा त यही हो यिनीहरू भए आफैँ, चले आफैँ । उनीहरू स्वयम्भू हुन् । भए पनि आफैँ, चले पनि आफैँ । अनि आफूलाई चाहिने पनि खोजे आफैँले, बनाए आफैँले । शुरूमा जेजे भेटे, भेटिए तिनैबाट काम चलाए । ढुङ्गाले चलाए, माटोले चलाए, काठले चलाए । काँचै खाए काँचै पचाए । विस्तारै आवश्यकता बढ्दै गए । आवश्यकताले आविष्कार गरायो । फलाम भेटिए त हतियार बने, खाने, पकाउने, चलाउने भाँडाबर्तन बने, बनाइए । आगो भेटियो पकाएर खान थाले । 

कपडा थिएन नाङ्गै हिँडे । विस्तारै पातपतिङ्गर र बोक्रा आदिले काम चलाए । त्यतिले मात्र चित्त बुझेन । आवश्यकताले बाटो देखाउँदै गयो । विस्तारै कपास भेटियो । धागो देखिए, तान चले,  बुनेको कपडा लगाउन थालियो । खोजको यात्रा रोकिएन । सियो भेटियो । कलकारखाना मेसिन बने । सिलाएर लगाउन थालियो । सिलाईको डिजाइन बढ्दै गए । 

खेती किसानी थिएन । जनावर र जङ्गली चीजबीजले काम चलाए । विस्तारै यात्रा कृषि युगतिर मोडियो । पशुपालन, अन्न बाली तथा फलफूल प्रयोगमा आउन थाले । इसाराले काम चलाउँदै आइएको थियो, चित्त बुझेन । भाषाहरू विकास गरी भावना आदान प्रदान गर्न थाले । वर्णमाला बने, कथ्यको स्थान लेख्यले लिन थाल्यो । हावा पानीअनुसार खानपान तथा रहनसहन मिलाउन थाले । राज्य बने, राजा बनाइयो । घर बने, परिवार बने । शस्त्र बने, शास्त्र बने । कानून बने, । कानूनी निकाय बने । अड्डा बने, अदालत बने । ठीक छ यतिसम्म यसैगरी भए तर, प्रश्न त्यति मात्र होइन । प्रश्न हो तिनै हावा बनायो कसले, पानी बनायो कसले । जीवन बनायो कसले, प्राण भर्‍यो कसले, चेतना थप्यो कसले ? 

यहाँ पनि तपाईँ भन्न सक्नुहुन्छ । यी पनि आफैँ भए । आफूले आफैँलाई बनाए, आफूलाई चाहिने आफैँले खोजे, आफैँले ताने, आफैँले लिए तर, यो पनि रूपमा मात्र हो सारमा होइन । एउटा सामान्य कारखानालाई चल्न, चलाउन त मेसिन चाहिन्छ, चलाउने मानिस चाहिन्छ भने यति ठूलो सांसारिक कारखाना आफैँ बने कसरी, चले कसरी ? हावा कसरी बने होलान्, कसरी चले होलान् । पानी कसरी बने होलान्, कसरी चले होलान् । 

मानिस बने कसरी, उसभित्रको अङ्गप्रत्यङ्ग बने कसरी, चले कसरी ? खाए कसरी, पचाए कसरी, लिए कसरी छाडे कसरी ? यति ठूलो नियम, यति ठूलो अनुशासन कायम भयो कसरी, गर्‍यो कसले ? आखिर को हो त्यो, को थियो त्यो यति ठूलो तारतम्यको नियन्ता ? आजसम्म मैले त देखेको छैन । तपाईँले देख्नुभएको छ भने सुटुक्क जानकारी पाऊँ है ।

salt training

कमेन्ट गर्नुहोस्