श्रममन्त्री डोलप्रसाद अर्याल (डीपी)ले एक खर्ब तीन अर्ब रुपैयाँ बैंकिङ च्यानलमा नआइ बजारमा कारोबार भइरहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्यालले यस्तो दाबी गरेका हुन् ।
‘फ्री भिसा फ्री टिकटको विषय विकराल रूपमा रहेको छ । एक खर्ब तीन अर्ब रुपैयाँ बैंकिङ च्यानलमा नआइ हरेक वर्ष बजारमा चलेको छ । जुन त्यही नागरिकबाट ठगिएको देखिएको छ,’ उनले भने, ‘विदेश जाँदा ९६ प्रतिशत नागरिक ठगिएको विषय टुलुटुलु हेरेर बस्दिनँ । बैंकिङ च्यानलबाट कारोबार बनाउन छलफल गरेका छौं । योजना ल्याएर एक जना पनि नागरिक नठगिनको लागि काम गर्ने प्रयास निरन्तर गर्छु ।’
श्रममन्त्री भएदेखि म्यानपावर माथि जाइनलागेको भन्ने प्रश्न उठेको भन्दै उनले नागरिक नठगिने गरी आफू अगाडि बढ्ने बताए ।
दूर-दराजका वस्तुभाउ र जायजेथा बेचेर विदेश जाँदा नागरिक ठग्ने व्यक्ति र संस्थालाई कानूनी दायरामा ल्याउने उनले बताए ।