०५ साउन २०८३, मंगलबार

तालिवानको कडा शासन रहेको अफगानिस्तानमा कसरी फस्टाउँदैछ क्रिकेट ?

असार ९, २०८१
काठमाडौं
तालिवानको कडा शासन रहेको अफगानिस्तानमा कसरी फस्टाउँदैछ क्रिकेट ?
Photo : AP Via RSS

आईसीसी टी-२० विश्वकपको सुपर ८ मा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गर्‍यो ।​

तालिवानको कब्जामा परेपछि विश्व राजनीतिक परिदृश्यबाट लगभग गुमनाम रहेको अफगानिस्तानका लागि अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्न आइतबार बिहानको क्रिकेट म्याच पर्याप्त बनेको छ ।

अफगानिस्तानको जीतमा रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रान ब्याटिङमा तथा गुलबदीन नईब र नविन उल हक बलिङमा नायक सावित भए ।

अर्नोस भेल मैदान किंग्सटाउन, सेन्ट भिन्सेन्टमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको थियो । २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४८ रन रन बनाएको अफगानिस्तानसामु अस्ट्रेलिया ४ बल बाँकी रहँदै १ सय २७ मा अलआउट भयो ।

धेरै क्रिकेट प्रेमीले अफगानिस्तानको प्रदर्शनलाई लिएर सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । विश्व राजनीतिक मञ्चबाट लगभग गुमनाम रहेको अफगानिस्तानमा क्रिकेटको विकास भने राम्रोसँग भइरहेको पछिल्लो उदाहरणले देखाएको छ ।

अफगानिस्तानले सन् २००१ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) को सदस्यता प्राप्त गरेपछि विश्व क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको हो ।

कुनै बेला नेपालको चीर परिचित प्रतिद्वन्द्वीको रूपमा रहेको अफगानिस्तान अहिले आईसीसीको स्थायी सदस्य राष्ट्र बनिसकेको छ, जसलाई टेस्ट क्रिकेटको मान्यता समेत प्राप्त छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेयता अफगानिस्तानले पछाडि फर्केर हेर्नुपरेको छैन ।

अन्य सूचकहरू निकै तल गइरहेका बेला अफगान क्रिकेटले सफलताको उचाइ हासिल कसरी गरिरहेको छ त ? तालिवानको क्रिकेटप्रतिको धारणा के हो ? यसमा धेरैको चासो पाइन्छ ।

अफगानिस्तानमा क्रिकेटको आधिकारिक नियामक निकाय अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) हो ।

सन् १९९५ मा स्थापना भएको एसीबीले अफगानिस्तानमा क्रिकेटका सबै पक्षहरू हेर्छ, जसमध्ये घरेलु प्रतियोगिताहरूको आयोजना, राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापन र खेलको प्रवर्द्धन आदि पर्छन् ।

सन् २०२१ को अगस्टमा तालिवानले अमेरिकी नियन्त्रणबाट अफगानिस्तानलाई कब्जामा लिएपछि त्यहाँ लोकतन्त्रलाई लिएर विश्वव्यापी चिन्ता व्यक्त गरिँदै आएको छ ।

चीन, रुस, पाकिस्तान र कतारजस्ता देशहरू तालिवानसँग वार्तामै रहेको भएपनि अन्य कुनै पनि देशले तालिवान सरकारलाई मान्यता दिएका छैनन् ।​

तालिवान सत्तामा आउनेबित्तिकै पुरानो संविधानलाई हटाएर नयाँ इस्लामिक शरिया कानून लागू गरेको छ । यसले अपराध, नागरिक अधिकार र न्यायिक प्रक्रियामा परिवर्तन ल्याएको छ ।

महिलाको अधिकारमा व्यापक कटौती गरिएको छ । तालिवानले क्रिकेटलाई मान्यता कायमै राखेको भएपनि अफगानिस्तानमा यतिबेला महिलाले क्रिकेट खेल्न नपाउने कानून छ ।

महिलालाई शिक्षा, काम र सार्वजनिक जीवनमा भाग लिन प्रतिबन्ध लगाइएको छ ।

राष्ट्रिय क्रिकेटप्रति तालिवान सरकारको धारणा केही हदसम्म सकारात्मक रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तालिवानले देशभित्र क्रिकेटको महत्त्व रहेको र यसले अन्तर्राष्ट्रिय रूपमा सकारात्मक छवि निर्माण गर्ने अपेक्षा लिएको छ । एसीबीलाई सरकारले सीमित बजेट उपलब्ध गराए पनि मुख्य फन्डिङ भने आईसीसीबाट हुँदै आएको छ ।

तालिवानी नेताहरू अफगानिस्तानका विभिन्न टीमहरूले खेल्ने क्रिकेट खेलमा सहभागी हुने गरेका छन् ।

अन्तर्राष्ट्रिय खेलमा पनि उनीहरूले आफ्नो राष्ट्रिय टोलीको समर्थन गर्दै हौसला प्रदान गर्ने गर्छन् । यसलाई तालिवानले राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय खेल कूटनीतिलाई अघि बढाउने साधनका रूपमा लिएको छ ।

तालिवानले घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिहरूको निरन्तरतालाई अनुमति दिएको छ । एसीबीलाई घरेलु प्रतियोगिताहरूको आयोजना गर्न र राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन अनुमति दिने गरी तालिवानले निर्देशिका र मापदण्ड पनि जारी गरेको छ ।

तालिवानले सत्ता हातमा लिएपछि महिलाहरूको खेलकुद सहभागितामा भने कडा प्रतिबन्ध लागेको छ । यसले महिला क्रिकेटको गतिविधिलाई पूर्णरूपमा बन्द गरेको छ ।

अफगानिस्तानका महिला क्रिकेट खेलाडीहरूमध्ये कतिपय यतिबेला घरभित्रै बस्न बाध्य भएका छन् भने कतिपयले क्यानडा र अस्ट्रेलियामा शरण लिएका छन् ।

तर, आईसीसी र अन्य अन्तर्राष्ट्रिय निकायहरूले तालिवानलाई महिला क्रिकेटको निरन्तरता सुनिश्चित गर्न दबाब दिइरहेका छन् ।

आईसीसीले महिला क्रिकेटलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएको छ, जसले अफगानिस्तानको आईसीसी सदस्यतालाई पनि प्रभावित गर्न सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्