२८ असार २०८३, आइतबार
समाजको भयावह चित्र

किशोरकिशोरीमा आगोसरी फैलिँदै दुर्व्यसन, अफ्रिकादेखि ब्राजिलसम्मबाट आउँछ लागुऔषध

असार १२, २०८१
काठमाडौं
किशोरकिशोरीमा आगोसरी फैलिँदै दुर्व्यसन, अफ्रिकादेखि ब्राजिलसम्मबाट आउँछ लागुऔषध

लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले गत साता मात्रै तिलगंगाबाट एक दुर्व्यसनीलाई नियन्त्रणमा लियो । स्थानीय २९ वर्षीय युवाबाट थोरै परिमाणमा खैरो हेरोइन पनि बरामद भयो । 

प्रहरीले हिरासतमै राखिरहेका बेला उनी मुखबाट फिँज निकालेर छटपटिन थाले । आर्थिक दृष्टिकोणले राम्रै परिवारका ती युवालाई परिवारकै सल्लाहमा अस्पताल लगियो । अहिले नाम चलेकै अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । 

एनसीबीले गतसाता नै बल्खुबाट १७ वर्षीया किशोरीसहित चारजनालाई नियन्त्रणमा लियो । उनीहरूले लागुऔषध डाइजेपाम, बुप्रेनर्फिन र फेनारगन मिसाएर सिरिञ्ज लगाइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।

१२ कक्षामा पढ्दै गरेका उनीहरूबाट प्रहरीले १४ एम्पुल बरामद गर्‍यो । खासमा किशोरीहरूले बिक्री गर्न नभएर आफैं प्रयोग गर्ने योजनाअनुरूप डाक्टरको प्रेस्क्रिप्सनविना मेडिकल पसलबाट यी औषधीहरू खरिद गरेको भेटियो । एनसीबीले ती किशोरीका परिवारलाई बोलाएर सुधार केन्द्रमा राख्ने शर्तमा छाड्यो । 

गत महिना झापामा एक युवती ३ ग्राम खैरो हेरोइनसहित पक्राउ परिन् । उनी इटहरिदेखि खैरो हेरोइन सेवन गर्न र आफ्नो डोज लिन साथीहरूसँग मोटरसाइकलमा झापाको काँकडभिट्टा पुगेकी थिइन् । प्रहरीले किशोरीविरुद्ध मुद्दा चलायो । युवतीका बाबुलाई पनि थाहा थियो, छोरी लागुऔषध सेवनकर्ता हुन् भनेर । राहदानी बनाएर विदेश पठाउने योजना बनाइरहेका बेला छोरी पक्राउ परेपछि उनी कसरी छुटाउन सकिन्छ भनेर वकिलसँग परामर्श गरिरहेका थिए ।  

यी तीनवटा घटना लागुऔषध दुर्व्यसनीसँग सम्बन्धित छन् । किशोरावस्थादेखि नै मानिसहरू लागुऔषध दुर्व्यसनीमा कसरी धकेलिएका छन् भन्ने चित्रण यी घटनाले गर्दछन् । यो आर्थिक वर्षको जेठसम्म मात्रै एनसीबीले दुर्व्यसनीमा संलग्न ५ हजार ३५० जनालाई नियन्त्रणमा लिएको अभिलेख छ । यो आँकडा भनेको काठमाडौं उपत्यकाको मात्रै हो । 

गृह मन्त्रालयका अनुसार नेपालभर २४० भन्दा बढी पुनःस्थापना केन्द्र सञ्चालनमा छन् । यी केन्द्रहरूमा लागुऔषध सेवनकर्ता मात्रै नभएर अन्य कुलतमा फसेका व्यक्तिहरूको उपचार हुन्छ । मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाअन्तर्गत लागुऔषध नियन्त्रण शाखा छ । यसको काम भनेको विशुद्ध ऐन/नियम बनाउने र एनसीबीलाई मार्गप्रशस्त गर्ने मात्रै हो । 

लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ यता भएको छैन । त्यो वर्ष गरेको सर्वेक्षणअनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता देखिएका थिए । त्यसअघि २०६९ मा गरिएको सर्वेक्षणअनुसार ९१ हजार ५३४ जना लागुऔषध प्रयोगकर्ता रहेको आँकडा थियो । यी दुई वर्षमा गरेको सर्वेक्षणले नेपालमा ५.०६ प्रतिशतले प्रयोगकर्ताहरू बढेको देखाउँछ । तर, २०७६ पछिका ५ वर्षमा लागुऔषध प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको आकलन एनसीबीको छ ।

एनसीबी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशकुमार आचार्यका अनुसार प्रहरीले पक्राउ गरेको संख्या र आधारलाई हेर्ने हो भने नेपालमा ५ लाखको हाराहारीमा लागुऔषध प्रयोगकर्ता रहेको देखिन्छ । उनले भने, ‘हामीले ठ्याक्कै सर्वेक्षण नै त गरेका छैनौं, तर पक्राउ परेका लागुऔषध प्रयोगकर्ताको बयान र उनीहरूले दिएको विवरणअनुसार नेपालमा ५ लाखको हाराहारीमा प्रयोगकर्ता छन् भन्न सकिने आधार छन् ।’ 

आचार्यले दुई तबरबाट विश्लेषण गर्नुपर्ने अवस्था आएको बताए । पहिलो, लागुऔषध सेवन गरेपछि उसको जीवनयापन र दोस्रो, सेवनसँग जोडिएर भएका अपराध । ‘लागुऔषधको कारोबार नियन्त्रण गर्न यसका प्रयोगकर्तालाई निरुत्साहित गरेर घटाउनुपर्छ,’ उनले भने, ‘नेपालमा अहिले किशोरावस्थादेखि नै लागुऔषध सेवन गर्ने स्थिति विकराल बनेको छ । यसलाई नियन्त्रण गर्न चुनौती छ ।’ 

एसएसपी आचार्य

सरकारले बर्सेनि लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँछ । तर, नियन्त्रण तथा रोकथाममा देखिने गरी पहल गरेको छैन । बुधबार काठमाडौंमा प्रभातभेरी निकालियो ।

उपप्रधानमन्त्रीसहित चारजना मन्त्रीहरूले लागुऔषध दुर्व्यसनी तथा ओसारपसार नियन्त्रण गर्नेबारे चर्को भाषण गरे, जसमा राष्ट्रिय स्वतन्त्र पार्टीकै तीनजना मन्त्रीहरू थिए । गृहमन्त्री रवि लामिछाने, शिक्षा मन्त्री सुमना श्रेष्ठ, खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले लागुऔषधको ओसारपसार र नियन्त्रणसँगै दुर्व्यसनी रोक्न सरकारले प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

दुर्व्यसनीको संख्या किन बढ्यो ?

लागुऔषध दुर्व्यसनीको आंकडा र यसको नियन्त्रणकारी भूमिकामा राज्य उपेक्षित हुनुको कारणबारे एनसीबी प्रमुख आचार्य भन्छन्, ‘परिवारभित्र आत्मीयतामा ठूलो ह्रास आयो ।

अहिले मोबाइलसँगै आएका अन्य विद्युतीय उपकरणले परिवारमा बेमेलको अवस्था सिर्जजा गराइदियो । छोराछोरीको गतिविधिलाई बाबुआमाले नजिकबाट नियाल्न छाडे । साथीसंगतका कारण पनि बच्चाहरू लागूऔषधको कुलतमा लागेको पत्तै पाउँदैनन् ।’ विगतमा संयुक्त परिवार हुँदा परिवारमा हुने भावनात्मक सम्बन्ध र आत्मीयता अहिले नभइरहेको बुझाइ आचार्यको छ । 

‘पहिला गाउँमा नयाँ मान्छे देखियो भने सबैले थाहा पाउँथे, अहिले वल्ला घरमा पाहुना आयो भने पल्लो घरकाले थाहा नपाउने अवस्था छ,’ आचार्यले भने, ‘यस्तो अवस्थामा कुलतमा फसेर बिग्रिसकेपछि मात्रै समाजले थाहा पाउने भयो, यसको पछाडि सामाजिक उत्तरदायित्व र जवाफदेहिताको संस्कृति हराएको भन्न सकिन्छ ।’ 

एनसीबीले पक्राउ परेका ५ हजार बढी दुर्व्यसनीहरूमा केही आफू पनि सेवन गर्ने र अरूलाई पनि बेचबिखन गर्ने प्रकृतिका छन् । केही भने विशुद्ध सेवनकर्ता मात्रै छन् । विशेष गरी गरिबीसँगै समाजको वातावरणका कारण युवामा वितृष्णा पैदा हुने र तनावबाट मुक्त हुन लागुऔषध सेवन गर्नुपर्छ भन्ने गलत भावले दुर्व्यसनीको संख्या बढेको एनसीबीको अध्ययनले देखाउँछ । 

एनसीबीका अनुसार सुधार केन्द्र तथा पुनःस्थापना केन्द्रमा पठाइएका लागुऔषध सेवनकर्ताको उमेर हेर्दा पुरुषको हकमा २५ देखि २९ वर्ष र महिलाहरूको हकमा २० देखि २४ वर्ष उमेर समूहका धेरै छन् । यी उमेर समूहका सेवनकर्तामध्ये ७० प्रतिशतले साथीसंगतीबाटै लागुऔषध सेवन गर्न सिकेको बताएका छन् । त्यस्तै, १५ प्रतिशतले डुलन्ते बिक्रेता, ८ प्रतिशतले औषधि पसलबाट लागुऔषध खरिद गरेर सेवन गर्ने गरेको जवाफ दिएका छन् । 

null

कहाँबाट भित्रिन्छन् लागुऔषध ?

प्रहरीका अनुसार नेपालमा लागुपदार्थ भित्रिने प्रमुख चारवटा नाका रहेका छन् । छिमेकी मुलुक भारतबाट नेपालगञ्जको रुपेडिया, भैरहवा, झापाको काँकरभिट्टा नाका हुँदै लागुऔषध भित्रिने गरेका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय रुट भनेको दक्षिण अमेरिकाकाको ब्राजिल, पेरु, बोलिभिया, कोलम्बिया तथा अफ्रिकन मुलुक इथियोपियाबाट यूएई हुँदै कोकिन नेपाल भित्रिने गरेका छन् । तर, कोकिन धेरै महंगो हुने भएकाले कारोबारीले नेपाललाई ट्रान्जिट मात्रै बनाएको प्रहरी अनुसन्धानले देखाएको छ । बरामद गरेको कोकिन भारत लैजाने उद्देश्य देखिन्छ । 

एनसीबीका प्रमुख आचार्यका अनुसार नेपाली प्रयोगकर्ताले खैरो हेरोइन, गाँजासँगै फर्मास्युटिकल ड्रग (डाइजेपा, बुप्रनर्फिन, फेनारगनलगायत) प्रयोग गर्दै आएका छन् । 

खैरो हेरोइन भारतबाट भित्रिन्छ । फर्मास्युटिकल ड्रग भारतबाट कानूनी तथा गैरकानूनी हिसाबले नेपाल भित्रिँदै आएका छन् । औषधि पसलले चिकित्सकको प्रेस्क्रिप्सनविनै सेवनकर्तालाई बिक्री गर्ने प्रवृत्ति बढ्दो छ । 

अब सरकारले गर्नु पर्ने के ? 

खासगरी सरकारले नै सञ्चालन गरेको एउटा पनि रिह्याबिटेसन सेन्टर छैन । निजीरूपमा सञ्चालित सेन्टरहरूले चर्को मूल्यमा लागुऔषध प्रयोगकर्तालाई उपचार गरिरहेका छन् । 

निजी सेक्टरमा पुनःस्थापना सञ्चालन गर्दै आएका नेपाल प्रहरीकै पूर्व एसएसपी वसन्त कुँवरका अनुसार सरकारले लागुऔषध सेवनकर्ता न्यूनीकरण गर्न पाँचवटा काम गर्नुपर्छ । पहिलो सेवन गर्नै नदिने, दोस्रो सेवनकर्ताको पहिचान गर्ने, तेस्रो सेवनकर्ताको उपचार गरिदिने, चौथो उपचारबाट घर फर्किएपछि उनीहरूलाई पुनःस्थापना गर्ने वा रोजगारी सिर्जना गर्ने र पाँचौं भनेको लागुऔषधको उत्पादन, बिक्रीवितरणसँगै कारोबारमा कडाइ गर्ने । 

यी पाँच काममा सरकार चुकेको कुँवरको भनाइ छ । उनले सञ्चालन गरेको नार्कोननले अहिले वार्षिक ६० जनालाई मात्रै उपचार सेवा दिइरहेको छ ।

‘लागुऔषध सेवनकर्ताबारे सरकारी डाटा जम्मा १ लाख २४ हजारको हाराहारीमा छ, तर हाम्रो रिसर्चले ५ देखि सात लाखको संख्यामा देखाउँछ,’ कुँवरले भने, ‘सरकारले लागुऔषध सेवनकर्तामा कमी ल्याउन कुनै पहल गरेको देखिँदैन, विदेशमा सुधार गृहमा एकमुष्ट रकम दिएर सेवनकर्ताको उपचार गर्छ । हाम्रोमा उल्टै पुन:स्थापना केन्द्रलाई हतोत्साही बनाएर भाँजो हाल्ने काम गर्छ ।’ 

उनले सरकारसँग ठोस नीति नहुँदा लागुऔषधको तस्करी नियन्त्रण र प्रयोगकर्ता पुनःस्थापनामा सकारात्मक काम हुन नसकेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्