०५ साउन २०८३, मंगलबार

काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन, छाती चिर्नुपर्ने बाध्यता हट्यो

असार १९, २०८१
काठमाडौं
काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन, छाती चिर्नुपर्ने बाध्यता हट्यो

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ ।

सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा पोखराकी एक ५३ वर्षीया महिलाको काखीमुनि सानो प्वाल पारेर (मिनिमल इनाभासिभ कार्डिया सर्जरी प्रविधि) माइट्रल भल्ब परिवर्तन गरिएको हो ।

डा. भट्टराईले एक साताअघि मुटुको भल्ब परिवर्तन गरिएको बिरामीको अवस्था सामान्य रहेको जानकारी दिए । यसअघि छाती चिरेर मुटुको भल्ब परिवर्तन गरिँदै आएको थियो ।

'अलि जटिल खालको शल्यक्रिया हो तर हामीसँग सबै उपकरण थियो र सजिलै शल्यक्रिया गरेर माइट्रल भल्ब परिवर्तन गर्‍यौं,' उनले भने, 'हामीले केही दिन बिरामीलाई राखेर ‘डिस्चार्ज’समेत गरिसकेका छौं ।' उक्त कृत्रिम भल्ब अमेरिकाबाट ल्याइएको थियो । 

डा. भट्टराईले इटालीबाट आफूले उक्त प्रविधिबाट मुटुको भल्ब परिवर्तन गर्नेबारे अध्ययन गरेर आएको बताए । मुटुमा चारवटा भल्ब हुन्छन् ।

तीमध्ये बिरामीको माइट्रल भल्ब बिग्रेपछि नयाँ भल्ब हालिएको हो । 'छाती चिर्नुभन्दा काखीमा सानो प्वाल बनाएर गरिने शल्यक्रियाले बिरामीलाई धेरै सहज हुन्छ,' उनले भने, 'ठूलो घाउ हुँदैन । रगत पनि धेरै बग्दैन । चाँडै सञ्चो हुन्छ र बिरामी घर पनि चाँडै जान्छन् ।'

उनका अनुसार उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न भारतमा रु २४ लाख लाग्छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न ७ लाख रुपैयाँ लाग्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्