०७ साउन २०८३, बिहीबार
नयाँ सत्ता समीकरण

प्रचण्डले असार २८ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र

असार २१, २०८१
काठमाडौं
प्रचण्डले असार २८ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

समर्थन फिर्ता लिएर नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रचण्डले पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएपछि एमालेले असार १९ गते समर्थन फिर्ताको निर्णय गरेको थियो ।

असार २८ गते शुक्रबार विश्वासको मत लिने गरी तयारी भएको प्रचण्डको सचिवालयले लोकान्तरलाई जानकारी दियो ।

‘विश्वासको मतको तयारीस्वरूप प्रधानमन्त्रीज्यूले आज साँझ सत्तारुढ दलका नेतालाई बोलाउनुभएको छ,' सचिवालयका ती अधिकारीले भने ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने जानकारीसहितको पत्र संसद् सचिवालयलाई पठाइसकेका छन् ।

प्रचण्डले संसद् सचिवालयलाई पठाएको पत्र

२०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् ।

सोही वर्षको पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका प्रचण्डले पछिल्लोपटक गत जेठ ७ गते विश्वासको मत लिएका थिए ।

सरकारलाई दिएको समर्थन फिर्तासँगै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न एमाले र कांग्रेसले प्रचण्डसँग आग्रह गर्दै आएका थिए । तर, प्रचण्डले भने संसद् फेस गर्ने बताउँदै आएका छन् । 

अल्पमतमा परेका प्रचण्डलाई रास्वपा र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।

३२ सीटको माओवादी, २१ सीटको रास्वपा र १० सीटको एसबाहेक अन्य दलले प्रचण्डको साथ छाड्ने स्पष्ट संकेत गरेका छन् ।​​

यसैबीच, प्रधानमन्त्री प्रचण्डले असार २८ गतेको बैठकमा विश्वासको मतको लागि समय मिलाइदिन मागगर्दै शुक्रबार संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।

प्रधानमन्त्रीको आग्रहअनुसार असार २८ गतेका लागि विश्वासको मतको कार्यसूची तयार गरिने संसद् सचिवालय स्रोतले जानकारी दियो ।

कमेन्ट गर्नुहोस्