३० असार २०८३, मंगलबार
विकासका नाममा विनाश

नदीको बहाब छेकेर बस्ती विकास : फेरि अर्को विपत् पर्खिरहेको बुटवल

असार २४, २०८१
बुटवल
नदीको बहाब छेकेर बस्ती विकास : फेरि अर्को विपत् पर्खिरहेको बुटवल

पाल्पाका दर्जनौं खोला मिसिएर बनेको तिनाउ नदी बुटवलको बीच भाग भएर बग्छ । यसले बुटवलको सुन्दरता त बढाएको छ । तर, विभिन्न समयमा आफ्नो लय परिवर्तन गर्ने नदीले बुटवललाई सास्ती पनि उत्तिकै दिएको छ । तिनाउको अनियन्त्रित बाढीले बेलाबेलामा बुटवल र आसपासमा ठूलो धनजनको क्षति पुर्‍याउँदै आएको छ ।

चुरे पहाडको फेदमा रहेको बुटवललाई बाढीसँगै पहिरोको जोखिमले पनि सताउन थालेको छ । मनसुन शुरू नहुँदै गत वैशाखमा दुई घण्टा परेको पानीले बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथ चुर्लुम्म डुब्दा करोडौंको धनमाल नोक्सान भएको थियो ।

null

तीन वर्षअघि वि.स. २०७८ भदौँमा ज्योतिनगर पहिरोले बुटवलका दर्जनौं घर पुरिएका थिए । पाँच दर्जन परिवार विस्थापित भएका थिए । पहिरोले घरमात्र होइन पश्चिम नेपालको प्रमुख शैक्षिक केन्द्र बुटवल बहुमुखी क्याम्पससमेत पहिरोको चपेटामा पर्ने अवस्था आएको छ ।

बुटवल विपत्को ठूलो जोखिममा रहेको भूगर्वविद्हरूको अध्ययनले देखाएको छ । चुरेको काख खोस्रेर जथाभावी निर्माण गरिएका अनावश्यक सडक र पानीको सही निकास नहुँदा बुटवल विपत्‌को जोखिममा रहेको उनीहरूको अध्ययनले देखाएको हो ।

२५ वर्षअघि २०५५ मा पनि बुटवल–३ ज्योतिनगरमै पहिरोले १०० घर पुरेको थियो । त्योभन्दा अघि २०३५ सालमा पनि त्यहीँ ठाउँमा ठूलो पहिरो आउँदा भागाभाग चलेको विभिन्न अभिलेखहरूमा उल्लेख छ ।

केही दिनदेखि परेको ठूलो झरीका कारण ज्योतिनगरबासी निदाएका छैनन् । पहिरोको जोखिम न्यूनीकरणका लागि अहिलेसम्म दीर्घकालीन योजना नबनाइएको भन्दै  लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रका बासिन्दा आक्रोशित छन् ।

भूगर्वविद् प्रेम पौडेल बुटवलमा विपत्को जोखिम घट्नुपर्नेमा बढ्दै गएको बताउँछन् । ‘अनावश्यक सडक निर्माण र पानीको निकास नहुँदा चुरेबाट पहिरो खसिरहेको छ,’ पौडेलले लोकान्तरसँग भने, ‘पानी आफैंले निकास खोज्दा विपत्ति निम्तिने हो । त्यहीँ भएर बस्तीमा पहिरो खसेको हो ।’

ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरोको उच्च जोखिम छ भने देवीनगर क्षेत्रमा तिनाउको कटान र बाढीले समस्या निम्ताउँदो छ । बुटवल–११ मा पर्ने देवीनगर देशकै धेरै जनसंख्या भएको वडामा पर्छ । जुन वडामा ३० हजार मानिस बसोबास गर्छन् ।

तिनाउ नदीको मार्ग भिरालो जमिन रहेकोले जोखिम बढेको हो । विपत्अघिको प्रतिकार्य योजना पनि सशक्त बनेको छैन । अव्यवस्थित सुकुम्बासी बस्ती रहेको नदी आसपासका क्षेत्रमा बनेका संरचना बाढीले बगाउने जोखिम छ । तैपनि जोखिमपूर्ण क्षेत्रमा संरचना बनाउन रोकिएका छैनन् ।

तिनाउको डिलमा रहेका बस्ती हटाउन वा स्थानान्तरणका लागि बुटवल उपमहानगरपालिकाले कुनै ठोस योजना ल्याउन सकेको छैन । भोट बैंकका रूपमा प्रयोग हुने सुकुम्बासी बस्तीलाई राजनीतिक दलहरूले हटाउने समेत आँट गर्दैनन् ।

null

जोखिमयुक्त स्थानमै संरचना निर्माण भइरहेका छन् । बाढीले क्षति गरेका स्थानमा घरहरू बनिरहेका छन् । वि.स.२०७५ मा तिनाउ नदीले धार परिवर्तन गरेर देवीनगरको झोलुङगे पुलसहित दर्जन घर बगाएको थियो । वि.स. २०३८ देखि हरेक दशकमा तिनाउमा आउने विपत्तिले सयौं मानिस बाढीसँगै बिलाएका छन् ।

तिनाउ पुलनितरको दाउरे टोलका १५० घर बाढीले बगाएको थियो । पुलचोकको राधाकृष्ण मन्दिर नजिक रहेको पूर्वपश्चिम गाडी आवातजावत गर्ने पक्की पुल पनि बगाएको थियो ।

तिनाउको बाढीले आफ्नो सम्पूर्ण घर जग्गासहित परिवार गुमाएका दलबहादुर गुरुङले अझै त्यो घटना बिर्सन सकेका छैनन् । चार दशकअघि राति परेको भीषण वर्षले गोठसहित सबै बगेको दलबहादुरको दिमागमा अझै ताजा छ । ‘म सानै थिएँ । बाढीको त्यो विपत्ति कसैले भोग्न नपरोस् । म धन्न धन्न बाँचेको थिएँ । बाढीले केही बाँकी नराखेर लग्यो,’ गुरुङ भन्छन् ।

त्योबेला तिनाउको विपत्तिमा २०० भन्दा बढीको मृत्यु भएको थियो भने सयौं घर बगाएको थियो । रूपन्देहीको सयौं विघा धानखेत बगरमा परिणत भएको थियो ।

तिनाउको अनियन्त्रित दोहन र मानवीय अतिक्रमणले नदीको बहाब क्षेत्र खुम्चाउँदै लगेकोले ठूलो जोखिम निम्तिएको तिनाउका अध्यता तथा वातावरण इन्जिनियर डा. खेटराज दाहाल बताउँछन् । उनी माथिल्लो भागमा जथाभावी भइरहेको नदीजन्य पदार्थ उत्खनन्लाई पुल बग्नुको प्रमुख कारण मान्छन् । डोजर प्रयोगगरी पुलको जगसम्मै खोतलेर ढुंगागिटी निकालिएको थियो । तिनाउमा राज्यलाई राजश्व दिने नदीजन्य पदार्थभन्दा बढी नदी नियन्त्रणमा खर्च भइरहेको छ ।

१५ किलोमिटर पक्की पर्खाल, आरसीसी वाल लगाइएको छ भने १५ हेक्टर क्षेत्रफलमा बायो इन्जिनियरिङ गरिएको छ । सेमलार, नरेनापुर, खड्वा वनगाई गाविसमा छिटो हुर्कने बिरुवा लगाइएको छ । र पनि, तिनाउले बेलाबेला ताण्डव देखाउन छाडेको छैन ।

चुरेबाट भेल लिएर आउने नदीले भारतीय भूमिमा सहज निकास नपाउँदा बढी कटान गर्छ । त्यसमाथि बहाव क्षेत्र नै छेकेर वस्ती बनेपछि नदीको बर्खे उपद्रो बढेको हो । विज्ञहरूका अनुसार नदीको बहाव क्षेत्र ३३७ मिटर हो, तर अतिक्रमणले अधिकांश ठाउँ १५० देखि ५० मिटरमा खुम्चिएको छ । किनारको अतिक्रमण हटाएर नदीलाई खुला नछोडे योभन्दा ठूलो अनिष्ट हुनसक्ने दाहाल बताउँछन् ।  

हरेक वर्ष नदीले क्षति पुर्‍याउनुको मूल कारण प्राकृतिकभन्दा मानवीय हस्तक्षेप बढी भएको दाहाल मान्छन् । विकासका नाममा सरकारी रकमबाटै नदीको प्राकृतिक स्वरूप परिवर्तन गर्ने र किनारमा अव्यवस्थित बसोबासका कारण तिनाउले ताण्डव देखाउने गरेको उनी बताउँछन् । ‘बग्ने बाटो नै रोकेपछि नदीले जे पनि बगाउँछ,’ उनी भन्छन् । चुरेका खोला बढी चञ्चले रहेको र निरन्तर बेगले बग्ने ग्रेगान र बालुवाले गर्दा तटीय क्षेत्रमा विनाश निम्तिएको उनको भनाइ छ ।

उनका अनुसार नदी उकासमा मानवबस्ती बसाल्नु समस्याको प्रमुख जड हो । बाढीको विषयमा पूर्व जानकारी दिन सकिने भए पनि पहिरो अपझर्ट आउने हुँदा मानवीय क्षति धेरै हुने गरेको उनी बताउँछन् । तिनाउमा बाढीको पूर्वसूचना दिने साइरन जडान गरिएको छ । तिनाउमा बाढी मापन यन्त्र जडान भएपछि नदीले सतर्कता वा खतराको तह पार गर्ने वित्तिकै त्यसको सूचना तटीय क्षेत्रमा रहेको बासिन्दाको मोबाइलमा आउन थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्