
ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ ।
बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आईएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्रान्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरूमा निक्षेप बढेको हो ।
ग्लोबल आईएमई बैंक निक्षेपका साथसाथै धेरै सूचकहरूमा अन्य बैंक तथा वित्तीय संस्थाहरूभन्दा अगाडि रहेको छ । वाणिज्य बैंकहरूको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आईएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी रहेको छ ।
निक्षेप ५ खर्ब नाघेको अवसरमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्राहकहरू र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
ग्लोबल आईएमई बैंकको ५०० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिबिम्ब नभई, नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत रहेको उनको भनाइ थियो ।
'निक्षेप रकम ५०० अर्ब रुपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो । यो उपलब्धि हामीले उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो । यसले हामीलाई भविष्यमा बैंकिङ्ग क्षेत्रमा थप नयाँ-नयाँ प्रविधिहरू भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वसनीय बैंकिङ्ग सेवाहरू प्रदान गर्न थप प्रेरणा दिनेछ,' उनले भने, 'हामीले यो उपलब्धिलाई हाम्रो बैंकको मात्र नभई समग्र नेपाली बैंकिङ्ग क्षेत्रको उपलब्धिको रुपमा लिएका छौं ।'
ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो ।
बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।
आधा करोड हाराहारी ग्राहकलाई सेवा प्रदान गर्दै आएको ग्लोबल आईएमई बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।