
लोक सेवा आयोगले लिने परीक्षा निष्पक्ष हुन्छ भन्ने आमविश्वास छ ।
तर, आयोगमै कार्यरत कर्मचारीका छोराछोरीले परीक्षा दिए भने त्यो निष्पक्ष नहुन पनि सक्ने रहेछ भन्ने एउटा तथ्यले देखाएको छ ।
आयोगका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीले आफ्नो छोरी विमला शाहीलाई लोक सेवाको परीक्षा उत्तीर्ण गराउन उत्तरपुस्तिकामा केरेमेट गरी अंक थपेको पाइएको हो ।
नेपाल वायु सेवा निगममा सेवा प्रवेश गर्न २०७६ सालमा विमलाले दिएको परीक्षाको उत्तरपुस्तिकामा बुवा मिमबहादुरले केरमेट गर्नुका साथै अंक थपिदिएको पाइएको हो ।
अरूले थाहा नपाऊन् र आफूमाथि कुनै किसिमको शंका नहोस् भनेर उनले विभिन्न किसिमका 'ट्रिक' लगाएको पाइएको छ ।
वस्तुगत प्रश्नको सबै उत्तर 'सी' लेख्न लगाउने र पछि 'सी'लाई 'ए, बी र डी' बनाउने
शाहीले छोरी विमलालाई वस्तुगत प्रश्नको जवाफमा सबै ठाउँमा अंग्रेजीको अक्षर 'सी' लेख्न लगाएका थिए ।
उत्तरपुस्तिका आइसकेपछि उनी आफैंले सीलाई आवश्यकताअनुसार ए, बी वा डी बनाएका थिए । सीको पछाडि सानो धर्को थपेर ए, अगाडि धर्को थपेर पछाडिको रेखा जोडी बी र पछाडि धर्को थपेर डी बनाएको पाइएको हो ।

त्यति मात्र होइन, उनले विषयगत परीक्षामा परीक्षकले दिएको अंक सच्याएर बढाएका थिए ।
शाही परीक्षा शाखामै अधिकृतको रूपमा कार्यरत रहेकाले उनलाई उत्तरपुस्तिका केरमेट गरेर सच्याउन सहज भएको थियो ।
त्यसो त उनले आफ्नी छोरी नेपाल वायु सेवा निगमको परीक्षामा सामेल भएको भनेर २०७६ साउन ३ गते निवेदन दिएर परीक्षाबाट अलग बसेका थिए ।
तर, त्यो बाहिर देखाउनका लागि मात्र थियो । छोरी संलग्न रहेको परीक्षाको वस्तुगत उत्तरपुस्तिका परीक्षणका लागि उनी आफैंले टिप्पणी पेश गरेका थिए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा त्यस विषयमा उजुरी परेपछि लोक सेवा आयोगलाई राय प्रतिक्रियासहितको प्रतिवेदन पेश गर्न पत्राचार गरिएको थियो ।
आयोगले २०७६ मंसिर १५ मा धर्मराज कुइँकेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
छानबिन समितिले फेला पारेको तथ्य
विमलाले दिएको परीक्षाको उत्तरपुस्तिकाको प्रथम कोड र दोस्रो कोड कायम गर्नका लागि परीक्षा सञ्चालन शाखा (सुरक्षा निकाय तथा संगठित संस्था)ले सुपरिवेक्षकका रूपमा उपसचिव देवीप्रसाद सुवेदीलाई तोकेको थियो ।
सुवेदीले आफू मातहतका कर्मचारीहरू खटाई उत्तरपुस्तिकामा दोस्रो कोड कायम गरी लिखित परीक्षाको नतिजा तयारी शाखामा पठाएका थिए ।
लिखित परीक्षा नतिजा तयारी शाखाले विषयगत उत्तरपुस्तिका परीक्षणका लागि आयोगको सदस्यबाट विज्ञ मनोनयन गराई परीक्षण गर्न पठाएको थियो ।
आफू परीक्षाबाट अलग रहेको भन्ने निवेदन दिएका शाहीले स्वयं टिप्पणी पेश गरी आयोगका सचिवबाट मिति २०७६ साउन २६ मा स्वीकृत गरेको पाइएको थियो । उनले उक्त पदको लिखित परीक्षाका वस्तुगत उत्तरपुस्तिका परीक्षणका लागि सोही शाखालाई तोकेका थिए ।
वस्तुगत उत्तरपुस्तिकाको तीनवटै तह (परीक्षण, पुनः परीक्षण र अन्तिम परीक्षण) सोही शाखाबाट पूरा गरिएको थियो । शाखामा खटिएका सहायक स्तरका कर्मचारीहरूबाट वस्तुगत उत्तरपुस्तिका परीक्षण भएको पाइएको थियो ।
दोस्रो कोड भएर आएका उत्तरपुस्तिकाहरू आयोगको तेस्रो तल्लाको हलमा राखी वितरण गर्ने र परीक्षण भएर आएका उत्तरपुस्तिकालाई सोही हलमा राखी रुजु गर्ने गरिएको थियो ।
उक्त हलको एउटा साँचो नायव सुब्बा महेन्द्र रावतसँग र अर्को साँचो तेस्रो तल्लामा रहेको किचनमा राख्ने गरिएको थियो । जो कर्मचारी पहिले आउँछ उसैले साँचो लिएर हलको ढोका खोल्ने गरेका थिए । त्यही मौकाको फाइदा उठाएर शाहीले हलको साँचो लिई आफ्नी छोरीको उत्तरपुस्तिका खोजेर सच्च्याएका थिए ।
'शाहीले आफ्नी छोरीलाई लिखित परीक्षामा उत्तीर्ण गराउने मनसाय राखी उत्तरपुस्तिका सच्याउने काम गरेको देखियो' भन्ने व्यहोरासहितको प्रतिवेदन आयोगबाट गठित छानबिन समितिले २०७६ फागुन १३ मा अख्तियारलाई बुझाएको थियो ।
परीक्षण भई आएका उत्तरपुस्तिकाको भण्डारण उचित तबरले नभएको मौका छोपेर शाहीले उत्तरपुस्तिकामा केरमेट गरी अंक सच्याएको आयोगले नै पुष्टि गरिसकेपछि थप परीक्षणका लागि अख्तियारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।
विमलाले दिएको लिखित परीक्षाको उत्तरपुस्तिकाको कोड नम्बर १६१२ रहेको तथा रोल नम्बर ३२९८ रहेको कुल ४ वटा उत्तरपुस्तिकामा ३ वटा विषयगत परीक्षाको र एउटा वस्तुगत परीक्षाको उत्तरपुस्तिका थियो ।
वस्तुगत परीक्षाको उत्तरपुस्तिका परीक्षार्थीले लेखेको साविक अक्षर 'सी'हरूमा केही रेखा थपी 'ए', 'बी' र 'डी' बनाइएको पाइएको थियो । उक्त उत्तरपुस्तिका परीक्षण गर्नका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउँदा केरमेट गरेको पुष्टि भएको थियो ।
'परीक्षार्थीले लेखेको साविक अक्षर 'सी'मा केही रेखाहरू थपी हाल देखिएका अक्षरहरू 'ए', 'बी' र 'डी' लेखिएको देखिन्छ । हाल बनाइएका यी अक्षरहरू नसच्याएका अन्य 'ए', 'बी' र 'डी' अक्षरहरूको बनावटको तुलनामा भिन्न देखिन्छ,' भन्ने प्रतिवेदन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दिएको थियो ।
त्यति मात्र होइन, उत्तरपुस्तिकामा परीक्षकले दिएको साविक अंकलाई भिन्न मसीको प्रयोग गरी सच्याएर बढाएको समेत प्रयोगशालाले पुष्टि गरेको थियो ।
त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागज (उत्तरपुस्तिका) सच्याई भ्रष्टाचार गरेको भन्दै शाहीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा विशेष अदालतले शाहीलाई दोषी ठहर गर्दै कैद र जरिवाना गरेको छ ।

विशेष अदालतले २०८० असार २६ गते शाहीलाई ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना गरेको थियो । सो फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ ।