
सोलुखुम्बुमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।
पछिल्लो एक महिनामा जिल्लामा ३० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका महामारी फोकल पर्सन अशोक शिवाकोटीका अनुसार हालसम्म जिल्लामा २० जना पुरुष र १० जना महिलामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।
उनीहरूको अवस्था सामान्य रहेको छ ।
जसमा सोताङ गाउँपालिकामा मात्रै २७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
एक सय ५० जनाको नमूना किट परीक्षण गर्दा २७ जनाको रिपोर्ट सकारात्मक आएको महामारी फोकल पर्सन शिवकोटीले बताए ।
यसमा पुरुष १९ र महिला ८ छन् ।
पछिल्लो समय ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा पनि डेङ्गुको संक्रमण देखिएको छ ।
पाँच दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि प्राथमिक अस्पताल सोताङ पुगेका ५३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सङ्क्रमण पुष्टि भएपछि उनी चिकित्सकको सल्लाहमा घरमै बसेर औषधि सेवन गरिरहेका छन् ।