०७ साउन २०८३, बिहीबार

नसोचेको एउटा दुर्घटना– कमाउँदै छोरा पढाउन शहर झरेकी एक आमाको दुखान्त !

साउन २७, २०८१
बुटवल
नसोचेको एउटा दुर्घटना– कमाउँदै छोरा पढाउन शहर झरेकी एक आमाको दुखान्त !

सीता पाण्डे बुटवलमा आफूले सञ्चालन गर्दै आएको ‘गुल्मेली जक्सन’ खाजा घरबाट आइतबार साँझ दूध लिन निस्किएकी थिइन् ।

उनी दूध डेरीतर्फ जाँदै गर्दा बाटोमा एक जोडी साँढे जुधिरहेका रहेछन् । तर, उनको नजर ती साँढेहरूतर्फ परेन । पछाडिबाट जुध्दै आएका साँढेले सीतालाई निशाना बनाए । एउटा साँढेले उनलाई सिङले उधिनेर ३ मिटर परको नालीमा पुर्‍याइदियो ।

सीताको टाउको नालीमा नराम्रोसँग बजारियो । टाउकोको चोटले बेहोश भएकी उनलाई स्थानीयले उद्धार गरेर बुटवलकै लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए ।

उपचारमा हरसम्भव प्रयास गर्दा पनि शुक्रबार बिहान उदाउँदो सूर्यसँगै उनले यो संसार छाडिन् । ‘साँढेको जुधाइ, बाच्छाको मिचाइ’ भन्ने नेपाली उखान उनको हकमा चरितार्थ भयो ।

सीताले खाजा घर सञ्चालन गरेर छोराहरूलाई पढाउँदै आएकी थिइन् । सन्तानको भविष्य बनाउन भनेर बुटवल झरेको २ वर्षमै उनी छोराछोरीलाई टुहुरो बनाएर अस्ताएकी छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर– ४ अर्खले घर भएकी ४५ वर्षीया सीताले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ गोलपार्क पुल्चोकनजिकै खाजा घर सञ्चालन गर्दै आएकी थिइन् ।

छोरी अंशुले तम्घासमा इन्जिनीयरिङ पढ्दै आएकाले रेखदेखका लागि सीताका श्रीमान कुलानन्द भने तम्घासमै बस्छन् ।

तम्घासमा पनि उनको परिवारको सामान्य होटल छ । सीताले बुटवल बसेर व्यवसायसँगै छोराहरू अंकुश र आविष्कारलाई पढाउँदै आएकी थिइन् ।  

सीताका आफन्त कृष्ण पाण्डेले कल्पना समेत नगरेको घटना घट्न पुगेको बताए ।

‘उहाँ (सीता) आफैं केही नगरी बस्न नसक्ने स्वभावको मान्छे हो’, कृष्णले लोकान्तरसँग भने, ‘अस्पतालमा उपचारपछि सुधार होला भन्ने सोचेको थिएँ, दुर्भाग्यवश सुधार भएन । अन्ततः उहाँले हामीलाई छाडेर जानुभयो । पालिकाले यस्ता साढे नियन्त्रण गरोस् । हाम्रो परिवारमा त यस्तो वज्रपात पर्‍यो, अब शत्रुलाई पनि पीडा नपरोस् ।’

घटनाबारे मेयर खेलराज पाण्डेय र वडा अध्यक्षलाई जानकारी गराउँदा समेत बेवास्ता गरेको उनको दुखेसो छ । होटल सञ्चालनको केही समयमै सबैसँग राम्रो सम्बन्ध बनाएकी सीताको निधनले त्यस आसपासमा सन्नाटा छाएको छ ।

सीताका आफन्त उत्तम मरासिनीले शहरमा यस्तो घटना घट्दा एक खालको डर र निराशा उत्पन्न भएको बताए । 

‘छोरी अंशु पनि सडक दुर्घटनामा परेर केही महिना उपचारपछि घर फर्किएकी थिइन्,’ मरासिनीले लोकान्तरसँग भने, ‘हामीले यस्तो क्षति व्यहोरे पनि अरू कसैले व्यर्होनु नपरोस् । यसले डर पैदा गरेको छ ।’

बुटवल उपमहानगरपालिकाले बुटवल– ७ शिवनगरमा गौशाला निर्माण गरेर छाडा चौपाया व्यवस्थापन गरेको बताउँदै आएको छ । तर, सडकका गाई गोरुको संख्या घटेको छैन । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले घटनाबारे बुझेर निचोडमा पुग्ने बताइन् ।

‘मैले पनि विभिन्न सञ्चारमाध्यममा समाचार देखें, मृतक कहाँकी हुन्, किन घटना घटेको दिनेदेखि अहिलेसम्म जानकारी दिइएन भन्ने बुझ्न बाँकी छ । यो बारेमा मेयरसँग पनि छलफल गरेर केही कुरा भनौंला,’ सावित्राले भनिन् ।

सीताको परिवारले बुटवल उपमहानगरपालिकाबाट राहतको अपेक्षा गरेको छ । पछिल्लो समय बुटवलमा छाडा चौपायाले सडक दुर्घटना समेत बढाएका छन् । अहिले अधिकांश शहरमा छाडा चौपाया चुनौती बनेको आएका छन् ।

कमेन्ट गर्नुहोस्