
लक्ष्मी सन्राइज बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा स्थापित सन्राइज सेक्युरिटिज लिमिटेडले व्यावसायिक कारोबारको थालनी गरेको छ ।
बुधबार एक समारोहका बीच लिमिटेडका अध्यक्ष रमण नेपालले कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने बताए ।
व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा लिमिटेडले सफलता प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रमका विशेष अतिथि लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले नयाँ संस्था स्थापित भएकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरे ।
साथै सन्राइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले धितोपत्र खरिद बिक्रीसम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गरिने बताए ।
गैह्रिधारा– २, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।