०८ असार २०८३, सोमबार

के हो 'ब्याटर्ड वुमन सिन्ड्रोम' ? के छ नेपालमा यससम्बन्धी कानून र नजिर ?​

भदौ २, २०८१
काठमाडौं
के हो 'ब्याटर्ड वुमन सिन्ड्रोम' ? के छ नेपालमा यससम्बन्धी कानून र नजिर ?​

'जो प्यार करता है, वही मारता है'-आलिया भट्ट र विजय वर्मा स्टारर डार्लिंग्स मूभीको यो भनाइको मर्मलाई समेत विचार गर्दा पति, प्रेमी, पिता वा नजिकको साझेदारले नै दुर्व्यवहार, चोट तथा प्रहार बारम्बार दिने अधिकार राखेका हुन्छन् भन्ने भाव झल्किन्छ । यसरी दिनहुँको दुर्व्यवहार, चोट तथा प्रहारबाट सञ्चित हुँदै गएको पीडितहरूको नकारात्मक मनोभावको प्रतिक्रिया स्वरूप तनावग्रस्त जीवनबाट छुटकारा पाउन अन्तिम विकल्पको रूपमा पीडकको हत्या गर्न पुग्छन् ।

'ब्याटर्ड वुमन सिन्ड्रोम' एक मनोवैज्ञानिक अवस्था हो, जुन लामो समयदेखि घरेलु दुर्व्यवहारको सिकार भएका व्यक्तिमा हुने गर्दछ । यसले सामान्यतया घनिष्ठ साझेदार सम्बन्धहरूमा हिंसाको निरन्तर जोखिमबाट उत्पन्न हुने लक्षण र प्रतिक्रियाहरूको समग्र दायरालाई समेट्छ । यसका पीडितहरूमा अक्सर असहायता, भय, डर र आत्मासम्मानमा कमीको भावना समावेश भएको हुन्छ ।

यसमा महिलाहरूले पुरुष स्वजन पति, प्रेमी, पिता वा घरपरिवारका अन्य सदस्यहरूबाट मानसिक यातना, शारीरिक दुर्व्यवहार, चोट तथा प्रहार बारम्बार पाएका हुन्छन् । महिलाहरूमा यस्तो दुर्व्यवहार जति–जति भयो उति-उति मनोदशा वा भाव बढ्दै जान्छ र परिणाम स्वरूप एकै छानोमुनि बसोबास गर्ने महिलाबाट अपत्यारिलो घटना घट्न पुग्छ ।

बीएसडब्लूका प्रमुख प्रणेता अमेरिकी मनोवैज्ञानिक Walker लाई मानिन्छ । उनको बीएसडब्लू सम्बन्धी ढाँचा (framework) लाई स्वीकार गरी बीएसडब्लू परीक्षणसम्बन्धी विशेषज्ञको प्रतिवेदन (expert's testimony on the BSW) र सो सम्बन्धी अन्य प्रमाण सजाय निर्धारण गर्दा लिने गरेको पाइन्छ ।

बीएसडब्लूका देहायका मुख्य विशेषताहरू समावेश हुन्छन्:

१. दुर्व्यवहारको चक्र

पीडितहरूले अक्सर दुर्व्यवहार दोहोरिने चक्र अनुभव गर्छन्, जसमा तनाव निर्माणको अवधि, हिंसाको विस्फोटक घटना र हनिमुन चरण समावेश हुनसक्छ, जहाँ दुर्व्यवहारकर्ताले पश्चाताप र परिवर्तनको वाचा समेत देखाउन सक्छ ।

२. असहायताको अनुभव

यो एउटा यस्तो मनोवैज्ञानिक अवस्था हो, जहाँ पीडितले आफूले गरेको कार्यको नतिजामा कुनै नियन्त्रण छैन भन्ने विश्वास गर्दछन् । समयक्रमसँगै, पीडितहरूले आफ्नो अवस्था परिवर्तन गर्न शक्तिहीन छु भन्ने विश्वास गर्नुका साथै अपमानजनक वातावरणबाट बच्ने पहल वा प्रेरणामा समेत कमी महसुस गर्दछन् ।

३. भावनात्मक र मनोवैज्ञानिक प्रभाव:

बीएसडब्लूले चिन्ता, अवसाद र पोस्ट-ट्रमाटिक तनाव विकार (PTSD) सहित महत्त्वपूर्ण भावनात्मक संकट निम्त्याउन सक्छ । पीडितहरूले आफ्नो आत्मसम्मान र अपमानजनक सम्बन्धप्रति विकृत धारणा पनि विकास गर्न सक्छन् ।

४. व्यवहारात्मक ढाँचाहरू

यस्तो सिन्ड्रोमका पीडितहरू आफूलाई भएको लामो समयदेखिको दुर्व्यवहारप्रतिको प्रतिक्रियालाई असर गर्न सक्छन् साथै दुर्व्यवहारयुक्त सम्बन्धका कारण कुण्ठित वा धम्की महसुस गर्दा परिवार र समाजबाट एक्लिनु, बेवास्ता गर्नु तथा आफूलाई शाक्तिहीन महसुस गर्नुलगायत आफ्नो बचाउ तथा आत्मरक्षाका सम्पूर्ण उपायहरूको प्रतिक्रियात्मक व्यवहारको समग्रतासहित बीएसडब्लूलाई बुझ्नुपर्दछ र पीडितहरूलाई उपयुक्त सहयोग र सकारात्मक हस्तक्षेप प्रदान गर्न महत्त्वपूर्ण हुनुका साथै कानूनी सन्दर्भहरूका लागि यसलाई आत्मरक्षा वा घरेलु हिंसासँग सम्बन्धित अन्य कानूनी मुद्दामा संलग्न व्यक्तिहरूको मनोवैज्ञानिक अवस्थाको व्याख्या गर्न प्रयोग गर्न सकिन्छ ।

Walker को यस ढाँचालाई अमेरिका, बेलायत न्युजिल्यान्ड, क्यानडाजस्ता देशमा मापदण्ड एवं कानूनसमेत बनाएको अवस्था पनि छ । अदालतमा बीएसडब्लू परीक्षण सम्बन्धमा विशेषज्ञको प्रतिवेदनलाई स्वीकार गर्दै बीएसडब्लूको कारणले अपराध गरेको पुष्टि भएमा अभियुक्तलाई सजाय कम वा पूरै छुट दिने गरिन्छ ।

नेपालमा गुराँसदेवी लामाको जाहेरीले नेपाल सरकार वादी भएको कर्तव्य ज्यान, लक्षिमा वादीविरुद्ध लालबहादुरको जाहेरीले नेपाल सरकार वादी भएको कर्तव्य ज्यानलगायतका केही मुद्दामा बीएसडब्लूलाई सजाय छुटको आधारको रूपमा लिएता पनि बीएसडब्लू सम्बन्धमा कुनै कानूनी व्यवस्था छैन ।

घर परिवारभित्र वा घर परिवारसँग गाँसिएर हुने हिंसाजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्य नियन्त्रण गर्न तथा घरेलु हिंसाबाट पीडित व्यक्तिलाई संरक्षण गरी न्याय प्रदान गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ जारी गरिएको छ ।

यस ऐनको दफा २(क) ले 'घरेलु हिंसा' भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनुपर्छ र सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पुर्‍याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ भनी घरेलु हिंसाको परिभाषा गरेको छ । सो ऐनको दफा १३(१) मा कसैले घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई ३ हजार रूपैयाँदेखि पच्चीस हजार रूपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनेछ भनी सजायको व्यवस्था छ । तर, यस ऐनले बीएसडब्लूको आधारमा भएको अपराधको सम्बन्धमा कुनै व्यवस्था गरेको भने पाइँदैन ।

बीएसडब्लू सम्बद्ध केही मुद्दाहरूमा तत्कालीन मुलुकी ऐनको अ.वं. १८८ नं. को प्रयोग भई निर्धारित सजाय घटाएको पाइएता पनि उक्त अ.वं. १८८ नं. को प्रयोग हुँदा निम्नलिखित कुरा हेर्ने गरेको समेत पाइन्छ ।

विशेष महिलाले स्वजन पति, प्रेमी वा आफन्तको हत्या गरिएकोमा विशेषतः

  • हत्या गर्ने महिलाको अवस्था,
  • वारदात हुँदाको मनोदशा,
  • उमेर, हुर्केको परिवेश,
  • उसको पारिवारिक जीवन,
  • सामाजिक वातावरण,
  • आर्थिक अवस्था,
  • उसमाथि आश्रित हुने बालबालिका,
  • उसले भोगेको जीवन,
  • अपराध गर्नुपर्ने बाध्यता र कारण,
  • उसले अपराध गरेकोमा अदालत, प्रहरी अधिकारी वा सरकारी वकिललाई सत्य कुराको अभिव्यक्त गरी अनुसन्धानमा गरेको सहयोग आदि ।

यस्तो किसिमको वारदातमा हत्या हिंस्रक वा हत्या (Culpable Murder) भए तापनि उक्त हत्याको वारदात घटाउन मृतकले नै प्रेरक (trigger) को भूमिका निर्वाह गरेको हुनुपर्दछ ।

त्यसरी नै मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७९ मा गम्भीर उत्तेजना र रिसको आवेशबाट ज्यान लिन नहुने उल्लेख छ, जसमा कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गरेबाट कसूरदारले आत्मसंयमको शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिको ज्यान मारेकोमा, निजी रक्षाको अधिकार असल नियतले प्रयोग गर्दा त्यस्तो अधिकारको सीमा नाघ्न गई जसको विरुद्ध त्यस्तो अधिकार प्रयोग भएको हो सो व्यक्तिको ज्यान मारेकोमा, एकाएक भएको झगडामा उठेको रिसको आवेशमा तत्काल कसैको ज्यान मारेकोमा १० वर्षदेखि १५ वर्षसम्म कैद र १ लाखदेखि १ लाख ५० हजारसम्म जरिवाना हुने कुरा उल्लेख गरेता पनि 'ब्याटर्ड वुमन सिन्ड्रोम'" (बीएसडब्लू) लाई फौजदारी संहितामा स्पष्टरूपमा संहिताबद्ध भने गरिएको  छैन, तथापि यसको अन्य प्रावधानअन्तर्गत घरेलु हिंसासहित विभिन्न अपराधहरूलाई सम्बोधन  गरिएको छ ।

प्रताडित महिलाद्वारा भएको हिंसा र आवेशप्रेरित हत्याबीच केही अन्तर भएकाले यी दुई फरक अवस्थालाई एकै रूपमा बुझ्न हुँदैन किनभने आवेशप्रेरित हत्यामा तत्कालै उठेको रिसको कारण मौकामा प्रहार गरी हत्या गरेको हुँदा मनसाय तत्त्वको अभाव रहन्छ भने बीएसडब्लूको दाबी लिएको वारदात हत्या नै हो, तर वारदातको कारक तत्व भनेको मर्ने व्यक्ति स्वयं नै रहेको हुन्छ । तसर्थ, भविष्यमा प्रताडित महिलाद्वारा भएको हत्यामा हुन सक्ने सजायको छुटलाई स्पष्टरूपमा सम्बोधन हुने गरी मौजुदा फौजदारी कानूनमा व्यापक सुधार, परिमार्जन तथा संशोधन गर्नु आवश्यक छ ।

salt training

कमेन्ट गर्नुहोस्