
सप्तरीको रूपनगरमा 'रूपनगर सर्वोदय पुस्तकालय' नामक सार्वजनिक पुस्तकालय सञ्चालनमा आएको छ ।
उच्च अदालत राजविराज इजलासका न्यायाधीश अर्जुन अधिकारीले एक कार्यक्रमका बीच रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा स्थापना गरिएको सो पुस्तकालयको उद्घाटन गरेका हुन् ।
करिब पाँच हजार भौतिक पुस्तकका साथै केही हजार 'अफ लाइन' ई-पुस्तक राखेर आरम्भ गरिएको पुस्तकालयमा आधा दर्जन विश्वस्तरीय 'अनलाइन' पुस्तकालयमा समेत पहुँच कायम गरिएको क्याम्पस प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले जानकारी दिए ।
पुस्तकालयको उद्घाटन गर्दै न्यायाधीश अधिकारीले पठन संस्कृति हराउँदै गएको समाजमा पढ्ने र अनुसन्धान गर्ने बानी बसाल्न पुस्तकालयले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
हाल अमेरिकाको टेक्सास बस्ने इञ्जिनियर विजयराज भट्टराईको आर्थिक संयोजन तथा सहयोगमा पुस्तकालय स्थापना गरिएको हो ।

नेपाली भाषा, साहित्य र संस्कृति नै प्रवासमा नेपालीको पहिचान नाराका साथ टेक्सासमा नेपालीहरूद्वारा सञ्चालित 'ग्लोबल नेपाली पाठशाला'मा करिब ६ वर्ष प्रिन्सिपलका रूपमा नेतृत्व गरेका भट्टराईले 'सर्वोदय फाउन्डेसन नेपाल' स्थापना गरी मानव सेवा गर्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीबीएस पढाइ हुने सप्तरीको नन्दराज संग्रौला क्याम्पसमा पुस्तकालय स्थापना तथा सञ्चालनका लागि इञ्जिनियर विजयले झण्डै १३ लाख रुपैयाँ सहयोग गरेका थिए ।
पुस्तकालय उद्घाटन समारोहलाई अमेरिकाबाट एक सन्देश पठाउँदै भट्टराईले भने- 'पुस्तकालयले हाम्रो अध्ययन संस्कृतिमा मद्दत पुग्ने र हाम्रो यो प्रयास अरूका निमित्त प्रेरणा पनि बन्न सकोस् ।'
सप्तरी जिल्लामा एउटै पनि सार्वजनिक पुस्तकालय सञ्चालनमा नरहेको अहिलेको अवस्थामा पुस्तकालय विविध विषयमा अध्ययन अनुसन्धान गर्नेहरूका लागि गहकिलो स्रोत केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
'पत्रपत्रिका, कम्प्युटर, र इन्टरनेट समेतको सुविधा उपलब्ध हुने पुस्तकालय रूपनगरमा मात्र होइन, सप्तरीकै लागि गौरव हुने' विश्वास क्याम्पस सञ्चालक समिति अध्यक्ष गिरिराज संग्रौलाको छ ।