०२ साउन २०८३, शनिबार

कुटपिटपछि आत्महत्या: १० हजारको निहुँमा गयो तुलसाको ज्यान

भदौ २२, २०८१
विराटनगर
कुटपिटपछि आत्महत्या: १० हजारको निहुँमा गयो तुलसाको ज्यान

गत मंगलबार सुनसरीको इटहरीबाट खिलाप्रसाद जमरकट्टेल कानेपोखरी–४ कि तुलसा पाण्डेको घरमा सापटी दिएको पैसा फिर्ता माग्दै पुगे । सापटी दिएको १० हजार फिर्ता गर्न भन्दै जमरकट्टेल पौडेलको घरमा गएका थिए ।  

पाण्डेले पैसा नलिएको जवाफ दिइन् । दुई जनाबीच भनाभन भएपछि जमरकट्टेल घर फर्केका थिए । बुधवार श्रीमती इन्द्र कुमारीलाई लिएर जमरकट्टेल फेरि तुलसाको घरमा गए । 

लेनदेनकै विषयलाई लिएर तुलसा र इन्द्र कुमारीबीच केहीबेर भनाभन भएको इलाका प्रहरी कार्यालय पतरीका प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठले बताए । भनाभनकै क्रममा दुई जनाले झगडा गरेको डीएसपी श्रेष्ठले बताए । ‘दुवै जनाले एकले अर्काको कपाल भुत्ल्याएछन्,’ डीएसपी श्रेष्ठले भने, ‘झगडा भएको १० मिनेटपछाडि २८ वर्षीया तुलसाले आत्महत्या गरिछिन् ।’

तुलसाका श्रीमान् भरत भने गत सोमबार मात्रै वैदेशिक रोजगारीबाट घरमा आएका थिए । तुलसाले आत्महत्या गरेपछि उनका माइती पक्षले खिलाप्रसाद र इन्द्र कुमारीलाई आत्महत्या दुरुत्साहन गरेको भन्दै जाहेरी दिएका छन् । 

जाहेरी परेपछि खिलाप्रसाद र इन्द्र कुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पतरीका प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताए । ‘१० हजार पैसाको विषयमा विवाद बढ्दै गएर हात हालाहालको अवस्था बनेको रहेछ,’ इलाका प्रहरी कार्यालय पतरीका प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘माइती पक्षले जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं । ’

प्रहरीले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । तुलसाको बिहीबार अन्त्येष्टि गरिएको छ  । तुलसा र भरतका दुई जना छोरा छन् । जेठा सुशील ११ वर्ष र कान्छा सुशान्त १ वर्ष भए । 

खिलाप्रसाद र तुलसा पहिलेका छिमेकी हुन् । खिलाप्रसाद र तुलसाको परिवार केही वर्ष अगाडिसम्म मोरङको सुन्दहरैचाको गोठ गाउँमा  बस्ने गरेका थिए । अहिले खिलाप्रसाद इटहरीमा बस्छन् भने भरत कानेपोखरीमा बस्दै आएका थिए । 

खिलाप्रसादले पैसा दिएको हो/होइन भन्ने खुली नसकेको डीएसपी श्रेष्ठले बताए । ‘उहाँहरू दिएको हो भन्नुहुन्छ,’ श्रेष्ठले भने, ‘घरायसी कागजात पनि छैन । दिएको प्रमाण खुल्ने कागजात पनि छैन । अब थप अनुसन्धानपछि खुल्दै जाला ।’ 

अहिले कुटपिटपछाडि हत्या भएकाले त्यसमा केन्द्रित भएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ‘श्रीमती इन्द्र कुमारीले घरमा गएर हातपात गरेपछि ज्यान गएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘पैसा लेनदेनको प्रमाण भेटिएको छैन । अहिले अनुसन्धान नै ती महिलाले कसरी आत्म हत्याको बाटो रोजिन् भन्ने कुरामा भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्