
विराटनगरका मनोज यादव सामान्य परिवारमा जन्मेका हुन् । बुवा सूर्यनारायण त्यति बेलाका अंग्रेजी शिक्षक थिए । आमा शिलादेखी भने गृहिणी । सूर्यनारायणको जागिर नै घर चल्ने माध्यम थियो । यसर्थ छोराछोरीलाई पढाउन र बढाउन उनले आफ्नो जागिरबाट भएको आम्दानीलाई पूरै समर्पित गरेका थिए । बिहान ६ बजे घरबाट निस्केका सूर्यनारायण राति १० बजे मात्रै घरमा पस्थे । उनले बिहान ट्युसन, दिउँसो स्कूल र राति नाइट स्कूल पढाउने गर्थे । पढेलेखेका बुवा भएकाले उनको उद्देश्य खाली आफ्ना छोराछोरीको भविश्यमा केन्द्रित थियो ।
मनोजले सरकारी विद्यालयमा पढेका थिए । आदर्श आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म पढेपछि एसएलसीसम्मको अध्ययन भने उनले सरस्वती माध्यमिक विद्यालयबाट गरेका थिए । बुवाको इच्छा भने मनोजलाई डाक्टर बनाउने थियो । यसका लागि मनोजले विराटनगरकै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आइएस्सी पढे । तर उनले बुवाको इच्छा भने पूरा गर्न सकेनन् । किनकि डाक्टर पढ्नका लागि उनले नाम नै निकाल्न सकेनन् । दुईपटकसम्म परीक्षा दिँदासमेत नाम निकाल्न नसकेपछि उनी बीएस्सी पढ्न थाले । बीएस्सी पढ्दापढ्दै उनलाई एकजना गुरुले ‘प्राविधिक शिक्षा पढेको राम्रो’ भने । यसपछि आफूले धरानको हात्तीसार क्याम्पसमा गएर सोही पढ्न थालेको उनले सुनाए ।
यसपछि मनोजले फूड टेक्नोलोजीमा ब्याचलर गरे । ब्याचलर गरेपछि उनी विराटनगर फर्किए । त्यसपछि उनले विसं २०५७ सालमा जीवन विकास डेरी उद्योगमा जागिर शुरू गरेका हुन् । उनको शुरूवाती जागिर ४ हजार रुपैयाँको थियो । जागिर गर्दागर्दै उनले म्यानेजमेन्टमा मास्टर्स पनि गरे । यसबीचमा मनोजले विवाह गरे । ‘ममीको स्वास्थ्य अवस्था अलिक बिग्रेकाले नचाहँदानचाहँदै पनि बिहे गर्नु परेको थियो’ उनले भने, ‘बिहे गरेपछि ममाथि थप आर्थिक बोझ पर्यो ।’ यसपछि उनले विराटनगरमै दैनिक १६ घण्टा काम गर्न थाले । बिहान कलेज पढाउँथे भने दिउँसो उनी डेरी उद्योगमा काम गर्थे । ‘मैले यतिसम्म दुःख गरेँ कि दिउँसो खाजा खाने समयमा पनि कलेजमा आएर पढाउँथे ।’ दिउँसो २ घण्टाको ‘ब्रेक टाइम’मा उनले पढाउने गरेका थिए । ५ बजे अफिस सकिएपछि उनी डेरी उद्योगकै छेउमा ट्युसन पढाउँथे । १० कक्षा पढ्ने विद्यार्थीलाई उनले ट्युसन पढाउने गरेका थिए । त्योबेला १६ घण्टा काम गरेर मासिक १३ हजार रुपैयाँ कमाउने गरेको उनले बताए ।
२०६२ सालमा जागिर छाडेर मनोजले सीताराम गोकुल्स डेरी उद्योगमा काम गर्न थाले । त्यो जागिर उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । किनकि उनको शुरूवाती तलब नै १९ हजार रुपैयाँ थियो । ‘सीताराममा काम छाड्दा मेरो बैंकमा एक–डेढ लाख मात्रै ब्यालेन्स देखेपछि अब जे गरे पनि आफैँ गर्छु भन्ने हुटहुटी बढ्यो,’ उनले भने, ‘त्यसपछि जागिर गर्दिनँ जे गरे पनि आफैँ गर्छु भन्ने लागेर उद्योगमा लाग्ने योजना बनाएँ ।’ शुरूमा उनले ट्रेनिङ कम्पनी खोलेका थिए । त्यसबाट आफूले २५ वटा जति इन्डस्ट्री नेपालमा स्थापना गराएको उनले बताए । उनको त्यो ट्रेनिङ सेन्टर फस्टाउँदै गएको थियो ।
यसका बीच मनोजलाई पहिला काम गरेको डेरीको नसाले छोडेको थिएन । अनि २०६७ सालमा हाम्रो डेरी इन्डस्ट्री प्रालि दर्ता गरे । विराटनगरमा खोल्न सम्भव भएन । अनि २०६८ देखि काठमाडौंमा सञ्चालनमा ल्याए । पहिला ६/७ महिना राम्रो चलिरहेको थियो । त्यसपछाडि चल्न छाडेको उनले बताए । ८० लाख रुपैयाँको लागतमा उनले त्यो उद्योग खोलेका थिए । ऋण पनि भएकाले त्यो ऋण फिर्ता गर्ने अवस्था पनि उनीसँग थिएन । यससँगै उनको संकटको घडी शुरू भएको थियो । यसपछि उनी संकटलाई पार लगाउनेतिर सोच्न थाले । उनका लागि जहाँ समस्या त्यहाँ उपाय भनेजस्तै भयो । किनकि केही उपाय निस्के ।
पहिला उनकै मालिक रहेका सीताराम डेरी उद्योगका जीएम उदयराज पण्डितले मनोजलाई हरेस नखान सुझाव दिए । पण्डित भने चितवनमा अर्कै डेरी उद्योगमा काम गर्थे । सल्लाह दिन उनले मनोजलाई चितवन बोलाए । चितवनबाट आएपछि उद्योग राम्ररी चल्न थालेको उनको भनाइ छ । त्यो उद्योग अहिले उनले लिजमा लिएर चलाइरहेका दिएका छन् । उद्योगसँग उनले ट्रेनिङ सेन्टरलाई पनि निरन्तरता दिए । त्यसपछि आफूलाई फेरि सफलता मिल्न थालेको उनी बताउँछन् । ‘त्यही उद्योग र ट्रेनिङ सेन्टरको कमाइबाट काठमाडौंमा घर र एउटा गाडी पनि किनेँ,’ सगर्व उनी भन्छन् ।
मनोज काठमाडौं धेरै समय टिक्न सकेनन् । डेरीको जिम्मेवारी साथीहरूलाई छोडेर विराटनगर फर्किए । जुन ठाउँमा आफू हुर्किएको हो त्यही ठाउँमा केही गर्नुपर्छ भन्ने हुटहुटी मनोजमा पहिलादेखि नै थियो । त्यसैले उनले विराटनगरमै अर्को उद्योग खोले । जसको नाम सूर्याेदय मिल्क एन्ड बेभरेज इन्डस्ट्री हो । यसमा उनीसहित ३ जनाको लगानी छ । उनको दूध पाउडर प्लान्ट पनि रहेको छ । ‘बुवाको इज्जत प्रतिष्ठाका लागि उहाँकै नामबाट उद्योग खोलेको हुँ,’ उनले भने ।
सानैदेखि बुवाको संघर्ष देखेका कारण त्यहीबाट उत्प्रेरणा मिलेको उनी बताउँछन् । उनले अहिले पनि काठमाडौंमा हाम्रो डेरी उद्योग चलाइरहेका छन् । । डेरीमा अहिले उनले ५४ जनालाई रोजगारी पनि दिएका छन् । दैनिक २० हजार लिटर क्षमताको दुग्ध प्रशोधन उद्योगसमेत सञ्चालनमा ल्याएको उनले बताए ।
जापानमा घ्यू निर्यात
मनोज आफूलाई जापानसम्म घ्यू निर्यात गर्ने नेपालकै पहिलो व्यक्ति भएको दाबी गर्छन् । उनले जापानमा १५ सय किलो घ्यू पठाइसकेका छन् । अब दशैँअगाडि नै फेरि पठाउने गरी सम्झौता भएको उनको भनाइ छ । जापानमा उनले प्रतिकिलो ७ डलरमा उनले घ्यू बेच्ने गरेका छन् ।
जापानमा घ्यूसँगै चिया, चिउरा र महको पनि माग भएको मनोजले बताए । वर्षको ५० टन अर्डर भएको उनको भनाइ छ । सोही मागबमोजिम सूर्याेदयले अन्य उद्योगसित खरिद गरेर ३ हजार ३३६ किलो हाइलाइफ ब्रान्डको चिया, ३ हजार ३३२ किलो हाइलाइफ ब्रान्डकै चिउरा र १२ सय किलो माउन्टेन ब्रान्डको मह पनि पठाएको उनले जानकारी दिए ।
‘जापानसँगै बङ्गलादेश, श्रीलङ्का, अस्ट्रेलिया लगायतका सात देशसँग निर्यातका लागि छलफल गरेका थियौ,’ उनले भने ‘जापान पठाउन चाहिँ सफल भयौँ । अन्य देशमा पनि प्रयास गरिरहेका छौ ।’
माग अनुसारको ब्रान्ड दिन आफूहरू सफल भएकाले जापान निर्यात बढ्ने मनोजको विश्वास रहेको छ । एकपटक जापानसम्म सामग्री पठाउँदा १ डलर खर्च हुने गरेको उनले बताए । निर्यातमा प्रदेश सरकारले दिने अनुदानले राहत मिलेको उनको भनाइ छ । खुला सीमानाका कारण विराटनगरका मिठाइ पसलहरूले भारततिरबाट दूध–घ्यू ल्याउने गर्नाले नेपालको सामग्री विदेश निर्यात गर्नुपर्ने अवस्था आएको उनको गुनासो छ । ‘मिठाइ पसलले मात्रै नेपाली दूघ–घ्यू किन्ने हो भने विदेशी बजार खोज्नै पर्दैन,’ उनले भने ‘भारतबाट ल्याउँदा डेढ सय सस्तो पर्छ । यसैले धेरैजसोले उतैबाट ल्याउने गरेका छन् ।’
सरकारले कृषिजन्य पदार्थमा (दूध, घ्यू)मा समेत भ्याट लगाएका कारण अलिक महँगो भएको उनको भनाइ छ । मनोजको उद्योगले मोरङ, सुनसरी र झापाबाट दूध सङ्कलन गर्ने गरेको छ । पहिलो सिजनमा २० हजार र अफसिजनमा १३ हजार लिटर दूध सङ्कलन गरेको उनले बताए । २१ वटा दुग्ध सहकारीबाट दूध सङ्कलन गर्दा ५ हजार किसान लाभान्वित भएको उनले बताए ।