२६ असार २०८३, शुक्रबार
चाडपर्वको चहलपहल

दशैंको एक साताअघि मात्रै अग्रिम टिकट खुल्ने, अनलाइन बुकिङ मुख्य प्राथमिकता

भदौ २८, २०८१
काठमाडौं
दशैंको एक साताअघि मात्रै अग्रिम टिकट खुल्ने, अनलाइन बुकिङ मुख्य प्राथमिकता
फाइल तस्वीर

विभिन्न उद्देश्यले संघीय राजधानी काठमाडौं उपत्यका आएका लाखौं नागरिक ठूला चाडबाडमा घर फर्किने तयारीमा छन् । दशैं, तिहार र छठजस्ता ठूला प्रमुख चाड नजिकिएसँगै काठमाडौंमा रहेका लाखौं नेपाली घर फर्किने तरखरमा लागेका हुन् । 

चाडबाडमा  दैनिक ४० देखि ५० हजार मानिस उपत्यकाबाट बाहिरिने गरेका छन् । चाडबाड मनाउन घर फर्किने खुसीसँगै उनीहरूलाई हवाई भाडा र सडकको अवस्थाले चिन्तित बनाएको छ ।

चाडबाडमा हवाई टिकटको मूल्य अहिलेको भन्दा करिब दोब्बर बढी हुन्छ । करिब ९० प्रतिशत नागरिक सडकमार्ग हुँदै काठमाडौंबाट बाहिरिने गर्छन् । 
तर, बाटोको अवस्था भने बिजोग छ । बर्खाका कारण यस वर्ष थुप्रै स्थानमा पहिरोले सडक भत्किएका छन् । हुनत यस्तो यसपालि मात्रै भएको भने होइन । बर्सेनि चाडबाडमा सडकको अवस्था लगभग उस्तै हुन्छ । 

गत असारमा नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट दुई बस त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । जहाँ तीन जना मात्रै जीवित भेटिएका थिए । २५ जनाको शव भेटिँदा ३७ जना अझैं हराइरहेका छन् । बस पनि फेला परेका छैनन् । 

null

यस्ता थुप्रै दुर्घटनाले सडकमार्फत् यात्रा गर्नेहरूमा मनोवैज्ञानिक डर पैदा गरेको सरोकारवालाले बताउँदै आएका छन् । भदौ २४ गते प्रतिनिधि सभा बैठकमा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सडक कारणले दशैं नेपालीहरूका लागि दशा बनिरहेको बताएकी थिइन् । ‘सडकहरूको स्थितिले गर्दा चाडपर्वमा गाउँघर जानेहरू बाँचेर आउने हो कि मर्ने हो भन्ने चिन्ताले त्रसित छन्,’ पूर्वमन्त्री शर्माले संसद्मा भनेकी थिइन् ।

दशैं दशा बन्ने मनोवैज्ञानिक दबाबले नेपालीहरूले थिचिएको अर्की सांसद बिजुला रायमाझीले बताइन् । ‘दशैं दशा बन्ने हो कि भन्ने पीरले सर्वसाधारणहरू मनोवैज्ञानिक दबाबले थिचिएका छन् । सुरक्षित यातायातका लागि मन्त्रालय र अनुगमनकारी निकायहरूलाई विशेष ध्यानाकर्षण गराउन चाहन्छु’, सांसद रायमाझीले संसद्मै भनेकी थिइन् । 

दशैंमा काठमाडौंबाट लाखौँ यात्रुहरू बाहिर जाने चाप अत्यधिक हुने भएकोले मालवाहक ट्रकहरूजस्ता ठूला सवारी साधनहरूलाई रोक लगाइने गरिएको छ । अति आवश्यक तथा दैनिक उपभोग्य सामान बोकेका मालवाहक ठूला सवारी साधनलाई मात्रै रुट प्रमिट दिएर काठमाडौं आउन दिने गरिन्छ । बसहरूलाई भने देशभरका लागि रुट प्रमिट प्रदान गरिने गरिन्छ । 

सबै बसहरूको देशभर चलाउन मिल्नेगरी रुट प्रमिट खुल्ला गर्ने विषयमा स्टेक होल्र्डसहरूसँग छलफल भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलपछि निर्णय हुने जनाइएको छ । 

टिकट व्यवस्थापनको काम कसरी हुँदै छ ? 
हरेक वर्ष दशैंको १५ दिनअघि अग्रिम टिकट खुलाइँदै आएको छ । यस वर्ष भने दशैंको एक हप्ताअघि मात्रै टिकट खुलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले बताए । दशैंको १५ दिन अघिदेखि नै टिकट खुलाउँदा पनि मानिसहरूको चाप कम नहुने र जोखिम बढी हुने भएकोले एक हप्ताअघि मात्रै अग्रिम टिकट खुलाइने उनले बताए । 

null

सडकको अवस्था खराब रहेकोले यस वर्ष यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन एकदमै जोखिमपूर्ण हुने महासङ्घले पनि जनाएको छ । दशैंमा काठमाडौंबाट बाहिर जानेहरूको चाप अत्यधिक हुने गरेको छ । गत वर्ष रुट बाहिर र लोकल बसहरू समेत प्रयोग गरेर यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने काम भएको थियो । 

डिजिटल प्रणालीमा टिकट व्यवस्थापन
गत वर्ष ‘बससेवा डटकम’लगायत अन्य निजी संस्थाहरूले दशैंका लागि अनलाइनमार्फत् टिकटको व्यवस्था गरेका थिए । यद्यपि त्यसअघि पनि केही अनलाइनमार्फत् टिकट काट्न मिल्ने प्लेटर्फमहरू थिए । तर, पूर्ण रूपमा सञ्चालनमा आउन सकेका थिएनन् । 

गत वर्ष अनलाइनमार्फत् टिकटको व्यवस्थाले केही हदसम्म सहज भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार यस वर्ष पूर्ण रूपमा डिजिटल टिकटको व्यवस्था गर्ने आधार तयारी भइरहेको छ । 

एकै पटक पूर्ण रूपमा यातायात टिकट डिजिटल गर्न नसकिने र त्यसका लागि गत वर्षभन्दा बढी प्रभावकारी बनाउँदै जानुपर्ने महासङ्घका अध्यक्ष विजय स्वाँर बताउँछन् । उनका अनुसार आगामी वर्षहरूमा मानिसहरूलाई अनलाइनमार्फत् टिकट काट्ने बानी बसाउन भए पनि अहिलेबाटै डिजिटलमा जोड दिनुपर्छ ।

अध्यक्ष स्वाँरले भने, ‘गत वर्ष अनलाइनमार्फत् टिकट शुरू गरिएको थियो । जुन पूर्ण रूपमा सफल त भएन तर, पनि त्यसरी नै हामीले बानी विकास गर्नुपर्नेछ । अनलाइनबाट टिकट अनिवार्य गर्न सक्यौं भने समय व्यवस्थापन र यातायातको लागि अहिलेसम्म भइरहेको घुइँचोलाई केही हदसम्म कम गर्न सकिन्छ,’ उनले भने, ‘यातायातको समस्या जहिल्यै यस्तै हो । यसलाई एकै पटकभन्दा पनि यसरी नै विस्तारै व्यवस्थापन गर्दै जाने हो ।’

salt training

कमेन्ट गर्नुहोस्