
बैंक तथा वित्तीय संस्थाहरूबाट ९१ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी मार्जिन प्रकृतिको शेयर धितो कर्जा प्रवाह भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ९१ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ शेयर धितो राखेर कर्जा प्रवाह गरेका हुन् ।
गत आर्थिक वर्षको पहिलो महिना (साउनसम्म) ७६ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा १६.४ प्रतिशतले यस्तो कर्जा प्रवाह बढेको देखिन्छ । कुल शेयर धितो कर्जामध्ये वाणिज्य बैंकहरूले मात्रै ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ बराबर लगानी गरेका छन् ।
नेपाल राष्ट्र बैंकले गत असोज (२०८०)मा शेयर धितो कर्जाको १२ करोडको सीमालाई बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडसम्म पुर्याएको थियो ।
चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले शेयर धितो कर्जाका लागि संस्थागत तर्फको २० करोडको सीमालाई हटाएको छ, जसले गर्दा शेयर धितो राखेर कर्जा लिने क्रम बढेको देखिन्छ ।
यसका साथै पछिल्लो समय शेयर बजारमा पनि देखिएको निरन्तरको उछालले गर्दा बैंक तथा वित्तीय संस्थाहरूबाट यस्तो शेयर धितो कर्जाको माग बढ्दै गइरहेको बैंकर्सहरूले बताउँदै आएका छन् ।
कुन बैंकले कति प्रवाह गरे शेयर धितो कर्जा ?
वाणिज्य बैंकहरूले कर्जा प्रवाह बढाउन नसके पनि शेयर धितो कर्जा प्रवाह बढाएका छन् । चालू आर्थिक वर्षको साउन महिनासम्म वाणिज्य बैंकहरूमा सबैभन्दा बढी नबिल बैंकले शेयर धितो कर्जामा लगानी गरेको छ ।
त्यस्तै, शेयर धितो कर्जामा लगानी बढी गर्नेमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ । ग्लोबल आईएमई बैंकले ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबर यस्तो कर्जा प्रवाह गरेको छ ।
त्यसैगरी सबैभन्दा कम एनएमबी बैंकले १ अर्ब २२ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर धितोकर्जा प्रवाह गरेको छ ।
