०६ साउन २०८३, बुधबार
नेपाली तरकारीको बजार बिस्तार

दक्षिणकालीका युवाले ल्याएको ‘कृषि क्रान्ति’: काठमाडौंको तरकारी कतारसम्म [तस्वीर र भिडियोसहित]

असोज ४, २०८१
काठमाडौं
दक्षिणकालीका युवाले ल्याएको ‘कृषि क्रान्ति’: काठमाडौंको तरकारी कतारसम्म [तस्वीर र भिडियोसहित]

काठमाडौंको दक्षिणकालीका प्रकाश बलामीले पछिल्लो समय सफल व्यावसायिक युवा कृषकको पहिचान बनाएका छन् । उनको कृषि फर्म दक्षिणकाली नगरपालिका– ९ बलामीटोलमा रहेको २० रोपनी जग्गामा फैलिएको छ । उनले ०७२ सालमा ‘प्रकाश बलामी कृषि फर्म’ दर्ता गरेका थिए ।

null 

प्रकाशको फर्ममा गोलभेँडा, सिमी, काँक्रो, तीते करेला र अकबरे खुर्सानी रहरलाग्दो गरी फलिरहेका छन् । लप्सी, नासपातीलगायत फलफूल पनि बारीमा प्रशस्तै छन् । उनले सयपत्री फूल पनि राेपेका छन् ।

null

केहीदिन अघिदेखि प्रकाशले बारीमा फलाएको तरकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जहाजमार्फत कतार पुगेको छ । पहिलोपटक नेपालमा फलेको तरकारी व्यावसायिक हिसाबले विदेश निर्यात गर्न थालिएपछि प्रकाशको जिन्दगी थप उज्यालो भएको छ ।

null 

उक्त ठाउँमा सिँचाइको निकै समस्या भएपनि व्यावसायिक कृषि प्रकाशको पुर्ख्यौली पेशा नै हो । प्रकाश १० वर्षको हुँदा उनको बुवाले संसार छाडेर गए । बुवा गुमाएको २ वर्ष नपुग्दै उनले आमा पनि गुमाए । प्रकाशसहित ३ दिदी र १ बहिनी टुहुरो बन्न पुगे ।

null 

अहिले दिदी बहिनीको बिहे भइसकेको छ । प्रकाशले अहिले कृषिमा लगानी बढाएर छोराछोरीको भरण–पोषण गरिरहेका छन् । यसमा उनलाई श्रीमतीले पनि साथ दिएकी छिन् । 

प्रकाशले २० मध्ये ८ रोपनी लिजमा लिएका हुन् । मौसमी तरकारी मात्रै उत्पादन गर्दै आएका प्रकाशले केही वर्षअघि मात्रै १३ लाख खर्चेर पानीट्याङ्की बनाए । अहिले उनको बारीमा बेमौसमी तरकारी पनि उत्पादन हुन्छ । 

null

कृषिमा पनि अन्य व्यवसायमा जस्तै कहिले–काहीँ नराम्रोसँग घाटा खेप्नुपरेको प्रकाश सुनाउँछन् । दुई वर्षअघि गोलभेँडाले भाउ पाएन । पोहोर काउली फाल्नुपरेको थियो । कहिलेकाहीँ हावाहुरी र असिनापानीजस्ता प्राकृतिक प्रकोपले दिने दुःख भनिसाध्ये छैन । यस्तो नोक्सानी प्रकाशले कैयौंपटक भोगेका छन् । 

तर, प्रकाश कहिल्यै आत्तिएनन् । पसिनाको मूल्य माटोमा मिल्दा केही दुःखी भए पनि उनले आफ्नो कर्म छाडेनन् । आफ्नो उत्पादन विदेश पुग्दा प्रकाशमा खुसीको सीमा नै छैन । कतार पठाउनका लागि उनले अन्य किसानको तरकारी पनि संकलन गर्दै आएका छन् ।

null

स्नातक तहमा अध्ययन गरिरहेकी सोही ठाउँकी सजिना बलामीले आफ्नो भविष्य कृषिमै बनाउने लक्ष्य लिएकी छिन् । आफ्नै उमेरका युवायुवती विदेश जाने तयारी गरिरहँदा सजिना भने बारीमा फलाएको तरकारी विदेशमा पठाउन पाउँदा निकै हर्षित छिन् ।  

null

कालिमाटी तरकारी बजारका व्यापारीलाई बेच्दाभन्दा कतार पठाउँदा १५ प्रतिशत राम्रो मूल्य पाएको उनीहरूको भनाइ छ । 

भदौ २७ गते एक कार्यक्रमको आयोजना गरी कातरी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेपछि कतारमा हरिया तरकारी निर्यात थालिएको हो । 

चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट सीएफआरडी नामक गैरसरकारी संस्थाले दक्षिणकालीका २० किसानलाई करिब ८ महिनाअघि विशेष तालिम दिएको थियो । साथै उक्त संस्थाले बिउबिजन, मललगायत कृषि सामग्रीहरू सहयोग गरेको थियो ।

null

सोही उत्पादनलाई एक संस्थाले गुणस्तर र ताजापनको सुनिश्चत गरी प्याकिङ र लेबलिङ गरेर कतार निर्यात गरेको छ । दिन बिराएर १५ किलोग्रामसम्म तरकारी माग भएको उनीहरूको भनाइ छ । कतारको मागअनुसार अन्य तरकारी पनि फलाउने र निर्यात बढाउने आशा कृषकहरूले लिएका छन् । यसरी आफ्नो उत्पादनलाई विदेश पठाउनका लागि स्थानीय सरकारले पनि भूमिका खेल्ने अपेक्षा उनीहरूको छ । 

null

यता दक्षिणकाली नगरपालिकाका प्रमुख (मेयर) मोहनबहादुर बस्नेतले पनि तरकारी विदेश निर्यात सम्भव भएकोमा खुशी व्यक्त गरेका छन् । आगामी दिनमा तरकारी निर्यातलाई बढाउन र अन्य किसानको तरकारीलाई पनि विदेश पठाउनका लागि गृहकार्य गरिने उनले बताए । 

बजेट भाषणमार्फत सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । तर, कृषिप्रधान देशमा सन्तुष्ट भएर कृषि व्यवसाय गर्ने कृषक निकै कम रहेको पाइन्छ । ‘विदेशिँदै गरेको युवा पुस्तालाई आकर्षित गर्न सक्ने कृषि योजना खड्किएको देखिन्छ । नेपाली उत्पादनलाई विदेश निर्यातमा केन्द्रीयस्तरबाटै पहल हुन सके कृषि दशक नाराले केही सार्थकता पाउँथ्यो कि !’, युवा किसानको तर्क छ । 

हेरौं भिडियो सामग्रीः 

salt training

कमेन्ट गर्नुहोस्